कैलाली कारागारको अवस्था सामान्य बन्दै
सारांश
- कैलाली कारागारमा कैदीबन्दीबीचको झडपपछि अवस्था सामान्य बन्दै गएको छ र छानबिन समिति गठन गरिएको छ।
- झडपमा एक कैदीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्, जसमध्ये केहीको उपचार भइरहेको छ।
- राष्ट्रिय मानवअधिकार आयोगले कैदीबन्दीको अवस्थाबारे जानकारी लिई स्थानान्तरण र क्षमताभन्दा बढी कैदीबन्दी राखेको गुनासो गरेको छ।
कैलाली । कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति एक कैदीको मृत्यु र ४७ जना घाइते हुने गरी भएको झडपपछि उत्पन्न परिस्थिति सामान्य बन्दै गएको जनाएको हो ।
उक्त घटनाको छानबिन गर्न गठित समितिका सदस्य सचिव एवं प्रशासकीय अधिकृत शिवराज जोशीले अवस्था सामान्य बन्दै गएको र घटनाको पुनरावृत्ति हुन नपाओस् भनेर स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको बताए ।
राष्ट्रिय मानवअधिकार आयोगको टोलीको सहजीकरणमा आज कारागारका कर्मचारी र प्रहरीसहितको टोलीले कारागारभित्रका कैदीबन्दीको अवस्था र सङ्ख्या यकिन गरेर फर्किएको उनले बताए ।
आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख प्रकाशदत्त भट्टले कारागारभित्र ‘ए’ ब्लक र ‘बि’ ब्लकमा बसेका कैदीबन्दीको अवस्थाबारे जानकारी लिई सङ्ख्या यकिन गर्नुका साथै अन्य जानकारी लिइएको बताए ।
उनले भने- ‘कैदीबन्दीको स्थानान्तरण गर्दा सम्बन्धित परिवारलाई जानकारी नदिएर आफूखुसी गर्ने गरिएको गुनासो छ । यसबाहेक क्षमताभन्दा बढी कैदीबन्दी राख्दा देखिएको समस्या समाधान गरिनुपर्ने, भित्र राखिने प्राविधिक सामानको चेकजाँच गर्ने मेसिनको व्यवस्था र तोकिएको दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।’
प्रदेश कार्यालय प्रमुख भट्टले कैदीबन्दीले दिएको निवेदनबमोजिम आयोगले यही साउन १९ गते कैदीबन्दीको मानवअधिकारका लागि सरकारको ध्यानाकर्षण गराएको समेत जानकारी दिए । त्यसअनुसार आवश्यक कदम नचाल्दा समस्या उत्पन्न भएको जनाइएको छ ।
शुक्रबार भएको झडपबाट घाइते भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा गम्भीर घाइते भएका दुई जनाको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
गम्भीर घाइते अर्का एक जनालाई शनिबार नै थप उपचारका लागि काठमाडौँ लगिएको थियो । अन्य घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव परिवारले बुझ्न मानेका छैनन् । मृतकका परिवारले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरिरहेका छन् ।
कारागारमा गएको बिहीबार पनि कैदीबीच हानाहान भएको थियो । त्यसअघि गत असार २८ गते पनि कारागारमा कैदीबीच कुटाकुट भएको थियो । घटनालगत्तैै कारागारभित्र प्रवेश गर्ने बन्दीगृहमा ताला लगाएर कसैलाई पनि प्रवेश गर्न नदिएका कैदीबन्दीले आज भने आयोगको टोलीसहित सुरक्षाकर्मीलाई प्रवेश गर्न दिएका छन् ।
यहाँ घटनापछि बिहीबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण