प्रणालीगत त्रुटिकै कारणले जनशक्ति टिकेनन्
सारांश
- सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ, र युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन्।
- कोशी प्रदेशमा स्थानीय सरकार, निजी क्षेत्र र प्राविधिक शिक्षालयबीचको सहकार्य सुरु भएको छ, जसले प्राविधिक शिक्षा र रोजगारीको खाडल पुर्न खोज्दैछ।
- त्रिपक्षीय सहकार्यले प्राविधिक शिक्षाको महत्त्व, पाठ्यक्रम सुधार, र रोजगारी सुनिश्चित गर्न विभिन्न योजनाहरू अघि सारेको छ।
नेपालको औद्योगिक विकासको मुटु मानिने सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा अहिले पनि दक्ष जनशक्तिको अभाव छ । यहाँका उद्योगहरू दक्ष र व्यावहारिक सिप भएका कामदारको अभावमा छटपटाइरहेका छन् । अर्कोतिर हजारौँ युवा या त बेरोजगार छन् या आकर्षक भविष्यको खोजीमा विदेश पलायन भइरहेका छन् । यो विरोधाभासपूर्ण अवस्थाले एउटा आधारभूत प्रश्न खडा गर्छ– के हामीकहाँ सिप भएर पनि अवसर नभएको हो ? वा अवसर भएर पनि सोहीअनुसारको सिप नभएको हो ?
यो जटिल समस्याको समाधान खोज्न कोशी प्रदेशमा स्थानीय सरकार, निजी क्षेत्र र प्राविधिक शिक्षालय बिच ‘ट्रिपल हेलिक्स’ मोडलमा आधारित एउटा सहकार्यको सुरुवात भएको छ । दुहबी र बुढीगंगाजस्ता स्थानीय सरकार, उद्योग सङ्गठन मोरङजस्ता निजी क्षेत्रका प्रतिनिधि र मनमोहन प्राविधिक विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयजस्ता शैक्षिक संस्थाहरू मिलेर यस गाँठोलाई फुकाउने प्रयास गरिरहेका छन्, तर हाम्रो अनुभव र विश्लेषणले नेपालको प्राविधिक शिक्षा र रोजगारीबिचको खाडल गहिरो छ ।
समस्याको जड बुझ्न तीन वटै पक्षको भोगाइलाई हेर्नुपर्छ । उद्योगहरूलाई केवल प्रमाणपत्र बोकेका होइन, मेसिनमा हात चलाउन सक्ने, व्यावहारिक ज्ञान भएका जनशक्ति चाहिएको छ । जब कुनै उद्योगले भारतबाट या अन्य मुलुकबाट करोडौँको नयाँ मेसिन ल्याउँछ, त्यसलाई चलाउन सिकाउने स्थानीय प्राविधिक भेटिँदैनन् । फलस्वरूप कि त भारतबाटै प्राविधिक ल्याउनुपर्छ, कि त आफ्नै कामदारलाई तालिमका लागि बाहिर पठाउनुपर्छ । यसले उत्पादन लागत र समय दुवै बढाउँछ ।
उद्योगहरू तालिम दिन र प्रशिक्षार्थी राख्न तयार छन्, तर शैक्षिक प्रणालीले उत्पादन गरेका जनशक्ति उद्योगको आवश्यकताअनुसार तयार छैनन् । अर्कोतर्फ, युवाहरूका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा पहिलो रोजाइ बन्न सकेको छैन । दुहबी नगरपालिकाले दुई वर्ष अगाडि आयोजना गरेको रोजगार मेलाको तथ्यांकले यो तितो सत्य बोल्छ, जहाँ ५ हजार अवलोकनकर्ता माझ ५ सय कामदारको माग हुँदा केवल २८३ जनाले आवेदन दिए र अन्ततः १४ जनाले मात्र रोजगारी पाए । यसले देखाउँछ कि युवाहरूमा न स्थानीय रोजगारीको अवसरबारे पर्याप्त सूचना छ, न त त्यसका लागि आवश्यक सिपप्रति आकर्षण ।
सीटीईभीटीको स्वीकृत कार्यक्रम प्रिडिप्लोमा तहको २४ महिनाको ‘अप्रेन्टिससिप’ कार्यक्रममा विद्यार्थीले साढे ३ महिना कक्षाकोठामा सैद्धान्तिक ज्ञान लिने र बाँकी साढे १९ महिना सिधै फ्याक्ट्रीमा गएर काम गर्ने व्यवस्था छ ।
विदेश गएका साथीभाइको जीवनशैली र बढी कमाइको लोभले उनीहरूलाई देशबाहिर धकेलिरहेको छ । शैक्षिक संस्थाहरू भने आफ्नो उपलब्ध पाठ्यक्रम र पद्धतिअनुसार तालिम दिइरहेको बताउँछन्, तर त्यो पाठ्यक्रम उद्योगको द्रुत गतिमा परिवर्तन भइरहेको प्रविधिसँग मेल खाने खालको छैन ।
सीटीईभीटीको स्वीकृत कार्यक्रम प्रिडिप्लोमा तहको २४ महिनाको ‘अप्रेन्टिससिप’ कार्यक्रममा विद्यार्थीले साढे ३ महिना कक्षाकोठामा सैद्धान्तिक ज्ञान लिने र बाँकी साढे १९ महिना सिधै फ्याक्ट्रीमा गएर काम गर्ने व्यवस्था छ । साढे १९ महिनासम्म फ्याक्ट्रीको मेसिनमा पोख्त भइसकेका ती विद्यार्थी जब अन्तिम परीक्षा दिन फर्के, उनीहरूलाई फेरि सैद्धान्तिक लिखित परीक्षा दिनु पर्ने हुन्छ । परिणाम: अधिकांश विद्यार्थी फेल भए । जसले लगभग दुई वर्ष मेसिन चलाएर व्यावहारिक सिपमा उत्कृष्टता हासिल गरेको थियो, उसलाई साढे ३ महिनाअघि पढेको किताबी ज्ञानको आधारमा अयोग्य ठहर गरियो । यस्तो फेल हुने पढाइ कसको रोजाइ हुन सक्छ र ? यो घटना नेपालको प्राविधिक शिक्षा प्रणालीको सबैभन्दा ठुलो कमजोरीलाई उजागर गर्छ, जहाँ व्यावहारिक सिपभन्दा कागजको प्रमाणपत्र र घोकेको सिद्धान्तलाई बढी महत्त्व दिइन्छ । यसले विद्यार्थीको मनोबल मात्र गिराउँदैन । उद्योगको विश्वास पनि तोड्छ र समग्र प्रणालीप्रति नै अविश्वास पैदा गर्छ ।
यो दुष्चक्रका पछाडि एकभन्दा बढी कारण छन् । पहिलो, सङ्घीय, प्रदेश र स्थानीय सरकारबिच प्राविधिक शिक्षा सञ्चालनको अधिकार र भूमिकाबारे स्पष्टता छैन । सीटीईभीटी जस्ता निकाय राजनीतिक भद्रगोलको सिकार छन् । जसले गर्दा परीक्षा र भर्ना समयमा हुँदैनन् । दोस्रो, उद्योगहरू अटोमेसन, एआई, ग्राफिक डिजाइनजस्ता नयाँ प्रविधिमा आधारित सिप खोजिरहेका छन्, तर हाम्रा शैक्षिक संस्थाहरू अझै पनि पुरानै परम्परागत विषयमा केन्द्रित छन् । तेस्रो, समाजमा प्राविधिक कामलाई कम सम्मानका साथ हेरिन्छ । युवाहरूमा वृत्ति विकासका लागि यो क्षेत्र अन्तिम रोजाइमा पर्दछ । अर्कोतर्फ, नेपालमा ५० हजार कमाउने व्यक्तिले सामाजिक र पारिवारिक दायित्वका कारण बचत गर्न सक्दैन, तर त्यही पैसा विदेशमा कमाउँदा उसले घर पठाउन सक्छ । यो आर्थिक यथार्थ र सामाजिक प्रतिष्ठाको खोजीले युवाहरूलाई प्राविधिक शिक्षा र स्वदेशी रोजगारीबाट विमुख बनाएको छ ।
सुनसरी–मोरङ औद्योगिक क्षेत्रको जनशक्ति सङ्कट कुनै एक पक्षको असफलताको परिणाममात्रै होइन । यो समग्र प्रणालीगत समन्वयको अभावको उपज हो ।
यस्तो निराशाजनक अवस्थाका बिच कोशी प्रदेशमा त्रि–पक्षीय सहकार्यले आशाको दियो बालेको छ । ‘टिम कोशी’ नाम दिइएको यो पहलमा आबद्ध सबै पक्षले समस्याको समाधान आ–आफ्नो तहबाट मात्र सम्भव नहुने निष्कर्ष निकालेका छन् र केही ठोस कार्ययोजना अघि सारेका छन् । जसमध्ये उद्योग, स्थानीय सरकार र शैक्षिक संस्थाको प्रतिनिधित्व हुने गरी एउटा साझा संयन्त्र (स्थानीय टिभेट बोर्ड) को स्थापना गरिएको छ ।
स्थानीय सरकार दुहबी नगपालिकाले नेतृत्व गरेको बोर्डले यो क्षेत्रमा भएका काम कारबाहीलाई समन्वय गर्ने, स्थानीय मागअनुसार पाठ्यक्रम बनाउन सुझाव दिने, तालिमको अनुगमन गर्ने र रोजगारी सुनिश्चित गर्न पुलको काम गर्नेछ । साथै, प्रशिक्षार्थी राख्ने उद्योगहरूलाई कर छुटजस्ता सहुलियत प्रदान गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको छ । विद्यार्थीलाई आकर्षित गर्न छात्रवृत्ति प्रदान गर्ने र हरेक प्रशिक्षार्थीको संयुक्त अनुगमन गरी निरन्तर पाठ्यक्रम सुधार गर्ने योजना छ । यसका अतिरिक्त, विद्यालय र समुदायस्तरमा गएर प्राविधिक शिक्षाको महत्त्व र स्थानीयस्तरमा उपलब्ध अवसरहरूबारे जानकारी दिई युवा र अभिभावकको सोचमा परिवर्तन ल्याउनु पनि उत्तिकै जरुरी छ । यसमा निजी क्षेत्रले नेतृत्व लिने गरी सहकार्य गरिएको छ ।
अन्त्यमा, सुनसरी–मोरङ औद्योगिक क्षेत्रको जनशक्ति सङ्कट कुनै एक पक्षको असफलताको परिणाममात्रै होइन । यो समग्र प्रणालीगत समन्वयको अभावको उपज हो । यहाँ राम्रा काम भइरहेका छन्, तर सबै ‘आ–आफ्नै पाराले’ चलिरहेका छन् । जसले गर्दा अपेक्षित परिणाम आएको छैन । कोशी प्रदेशमा सुरु भएको यो ‘ट्रिपल हेलिक्स’ सहकार्यको मोडेल एउटा प्रदेशको मात्र नभएर समग्र राष्ट्रकै लागि एउटा सफल मोडल बन्न सक्छ । नेपालको औद्योगिक भविष्य नयाँ कारखाना खोल्नुमा मात्र होइन, ती कारखानालाई चाहिने दक्ष, आत्मविश्वासी र सम्मानित जनशक्ति उत्पादन गर्ने एउटा जीवन्त र गतिशील शैक्षिक इकोसिस्टम निर्माण गर्नुमा निर्भर छ । यो यात्रा लामो र चुनौतीपूर्ण भए पनि, सही दिशामा उठाइएको पहिलो कदमले नै गन्तव्यको दूरी छोट्ट्याउँछ ।
(उद्योग सङ्गठन मोरङका प्रबन्धक निर्देशक भट्टराईसँगको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण