बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

नेपाल सद्‍भावना पार्टी घुमिफिरी अनिल झाको हातमा

रामकुमार महतो भन्छन्- जालझेल भयो, अदालत जान्छु
बुधबार, २८ साउन २०८२, १४ : ५०
बुधबार, २८ साउन २०८२

काठमाडौँ । नेपाल सद्भावना पार्टी तराई-मधेसको पुरानो पार्टी हो । यही पार्टीबाट राजनीति सुरु गरेकाहरु अहिले मधेसकेन्द्रित दलहरुका स्थापित नेता भएका छन् । गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी पटक-पटक फुट्दै विभिन्न टुक्रामा विभाजन भइसकेको छ । 

विभिन्न समयमा सद्भावना नाममै धेरैवटा पार्टी गठन भए- सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी आदि । अहिले नेपाल सद्भावना पार्टीबाहेक अरुको अस्तित्व छैन । तीमध्ये कुनैले अरु पार्टीसँग मिलेर नयाँ नाममा पार्टी खोले भने कुनै अरु पार्टीसँग समाहित भए । 

अहिले नेपाल सद्भावना पार्टी फेरि एकपटक चर्चामा आएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल छाडेर आएका अनिल झा यो पार्टीको अध्यक्ष बनेर फेरि भित्रिएका छन् । झाले मंगलबार निर्वाचन आयोगबाट आधिकारिता समेत पाइसकेका छन् । रामकुमार महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीको निर्णयबाट उनी अध्यक्ष भएको बताइएको छ । तर महतोले भने जालझेल गरेर पार्टी हत्याएको आरोप लगाइरहेका छन् । 

२०७४ वैशाखमा विभिन्न दल मिलेर राष्ट्रिय जनता पार्टी नेपाल गठन हुँदा ती दलहरुमध्ये झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टी पनि एक थियो । राजपा नेपाल बनेपछि निर्वाचन आयोगमा खाली रहेको नेपाल सद्भावना पार्टी रामकुमार महतोले आफ्नो नाममा दर्ता गराएर सञ्चालनमा ल्याएका थिए । 

अनिल झाको ‘सद्भावना’ यात्रा

२०४६ चैतमा जनआन्दोलनका क्रममा अनिल झा पक्राउ परेका थिए । पक्राउ परेका झालाई प्रहरीले सोधेको थियो- ‘तपाईं कुन पार्टीको’ । अनिल झाको जवाफ थियो- ‘नेपाल सद्भावना परिषद्’ । अनिल झा नेपाल सद्भावना परिषद्मा थिएनन्, तर आन्दोलन गरिरहेको थाहा पाएर उनले सद्भावना परिषद्को नाम लिएका थिए । 

थुनाबाट निस्केपछि उनी नेपाल सद्भावना परिषद्को सदस्य भएका थिए । त्यसपछि उनी निरन्तर गजेन्द्रनारायण सिंहको साथमा रहेर परिषद्का लागि सक्रिय भएर काम गरे । २०४७ वैशाखमा नेपाल सद्भावना पार्टी गठन भएपछि त्यसबाट उनले विद्यार्थी राजनीति सुरु गरेका थिए । 

नेपाल सद्भावना पार्टीको उनी महासचिव समेत भए । २०६४ मा राजेन्द्र महतो नेपाल सद्भावना पार्टीबाट अलग भएर सद्भावना पार्टी गठन गरेपछि अनिल झा पनि महतोको साथमा लागे । नेपाल सद्भावना पार्टी छाडेर सद्भावना पार्टीमा गएका अनिल झाले चार वर्षपछि त्यो पार्टी छाडे । उनले २०६८ मा आफ्नै नेतृत्वमा संघीय सद्भावना पार्टी गठन गरेका थिए । त्यही पार्टी लिएर उनी २०७० को दोस्रो संविधानसभा चुनावमा भाग पनि लिए । 

नेपाल सद्भावना पार्टीको अध्यक्ष 

चुनावपछि उनले नेपाल सद्भावना पार्टीसँग २०७१ मा पार्टी एकीकरण गरे । त्यतिबेला नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरी थिइन् । पार्टी एकतापछि झा नेपाल सद्भावना पार्टीको अध्यक्ष भए । २०७४ वैशाखमा राजपा नेपाल बनाउने ६ दलमध्ये नेपाल सद्भावना पार्टी पनि एक थियो । 

नेपाल सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र तराई मधेस सद्भावना पार्टी मिलेर राष्ट्रिय जनता पार्टी  (राजपा) नेपाल बनेको थियो । तर उता नेपाल सद्भावना पार्टीको अध्यक्ष आफू रहेको भन्दै सरिता गिरीले २०७४ जेठ २६ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकता गरिन् । 

सरिता गिरीले फोरमसँग एकता गरेपछि नेपाल सद्भावना पार्टी निर्वाचन आयोगमा खाली थियो । त्यो पार्टी राजेन्द्रकुमार सिंहले आफ्नो नाममा दर्ता गराएका थिए । राजेन्द्रकुमार सिंहले केही समय उक्त पार्टी चलाएपछि रामकुमार महतोलाई अध्यक्ष बनाएका थिए । 

अध्यक्ष बनेका रामकुमार महतो 

रामकुमार महतो अध्यक्ष भएर नेपाल सद्भावना पार्टी चलाउन थाले पनि सक्रिय भइरहेको थिएन । मधेसमा त्यो पार्टीप्रति कसैको आकर्षण देखिएको थिएन । त्यसपछि रामकुमार महतोले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीसँग २०८० साउनमा एकता गरे । पार्टीको झण्डा, नाम, विधान नागरिक उन्मुक्ति पार्टीको रहने गरी रामकुमार महतो नाउपामा समाहित भए । 

तर चलाखीपूर्ण ढंगले श्रीमती कविताकुमारी महतोलाई नेपाल सद्भावना पार्टीको अध्यक्ष बनाइदिए । कविता मालपोतकी करार कर्मचारी भएकाले उनलाई अध्यक्षबाट हटाएर सहजाद मियाँलाई बनाइएको थियो । 

त्यसपछि सहजाद मियाँको अध्यक्षतामा बैठक बसेर नेपाल सद्भावना पार्टीको महाधिवेशन गराउने भन्दै रामचन्द्र कुशवाहलाई संयोजक बनाएर तयारी सुरु भएको थियो । त्यसपछि रामकुमार महतो नागरिक उन्मुक्ति पार्टी छाडेर नेपाल सद्भावना पार्टीको अध्यक्ष आफू भन्दै फर्किएर महाधिवेशन गराउने तयारीमा लागे । 

त्यतिबेला दुई ठाउँमा महाधिवेशन भएको थियो । जनकपुरमा रामकुमार महतोले गराएका थिए भने रामचन्द्र कुशवाहले वीरगञ्जमा । निर्वाचन आयोगमा दुवैको कागजपत्र पुग्यो, आयोगले रामकुमार महतोलाई मान्यता दियो । यसको मुद्दा अहिले सर्वोच्च अदालतमा चलिरहेको छ ।

त्यहीबिच नेपाल सद्भावना पार्टीको एउटा बैठकले अनिलकुमार झालाई अध्यक्ष बनाएको निर्णयसहितको निवेदन निर्वाचन आयोगमा पुग्यो । त्यसमा बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर थियो । हस्ताक्षर जालसाजी गरेको भन्दै रामकुमार महतोले धनुषा जिल्ला अदालतमा अनिलकुमार झामाथि मुद्दा दायर गरे । 

त्यो मुद्दा विचाराधीन रहेको बेला निर्वाचन आयोगले मंगलबार (साउन २७ गते) अनिलकुमार झालाई नेपाल सद्भावना पार्टीको अध्यक्ष कायम गरेको छ । त्यसको औपचारिक जानकारी झाले बिहीबार पत्रकार सम्मेलनमार्फत गराउने भएका छन् । 

अनिल झा यसअघि लोसपा नेपालको वरिष्ठ नेता थिए । वरिष्ठ नेता भएपनि लोसपामा उनको सक्रियता थिएन । उनी लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको कार्यशैलीबाट असन्तुष्ट रहेको बताउने गर्थे । २०७९ को चुनावपछि लोसपामा निष्क्रिय भएर उनी अर्को पार्टी बनाउने गृहकार्यमा लागेका थिए ।

त्यसका लागि झाले मधेस दौडाहा गरेका थिए । पाए नेपाल सद्भावना पार्टी नै चलाउने नपाए अर्को कुनै पार्टी बनाउने सोच उनको थियो । नेपाल सद्भावना पार्टीका लागि उनले रामकुमार महतोसँग पटक-पटक कुराकानी गरेको बताइन्छ । 

उनीहरुबिच रकम लेनदेन भएर कुरा मिलेको समेत कतिपयले आरोप लगाउने गरेका छन् । तर स्वीकार गरेको रकम दुई वर्षपछि मात्र दिन सकिने भनेपछि रामकुमार महतो पार्टी दिनबाट पछि हटेको आरोप छ । 
जबकि त्यसअघि नै पार्टीको बैठकबाट अनिल झालाई अध्यक्ष बनाउने निर्णय भइसकेको छ । 

महतो भन्छन्, ‘अनिल झाले जालसाजी तरिकाले पार्टी आफ्नो नाममा लिनुभएको हो । त्यसको कानुनी उपचारमा म जान्छु ।’ पार्टीमा हुँदै नभएका नेताहरुको हस्ताक्षर गराएर निर्वाचन आयोगमा पेस गरेको उनको दाबी छ । महतोले आफूले राजीनामा नदिएको तर निर्वाचन आयोगमा दिएको जिकिर गरिएको बताए । 

उनले अनिल झासँग रकम लेनदेन गरेको कुराको पनि खण्डन गरे । शक्ति र पैसाको बलमा झाले आफ्नो पार्टी कब्जा गरेको र त्यस विरुद्ध आफू अदालत महतोको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप