भिजिट भिसामा जानेहरूको कागजात शङ्कास्पद भेटिए प्रहरीको जिम्मा लगाइने
सारांश
- त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा विदेश जान खोज्ने शंकास्पद कागजात भए अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाइनेछ।
- अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति रोक्न यस्तो निर्णय लिएको जनाएको छ, जसमा एयरलाइन्स र बिचौलियाको संलग्नता रहेको छ।
- भिजिट भिसामा 'सेटिङ' मिलाउने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिवसहित अन्य व्यक्तिहरूमाथि अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जान खोज्नेहरूको कागजात शङ्कास्पद भेटिएमा त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिने निर्णय गरिएको छ । विदेश जान खोज्ने व्यक्ति र कागजातबारे अनुसन्धान गर्न प्रहरीलाई जिम्मा लगाइने अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले रातोपाटीलाई बताए ।
शङ्कास्पद लाग्नासाथ कागजात, राहदानीसहित प्रहरीकहाँ जिम्मा लगाइने उनले जानकारी दिए ।
अध्यागमन विभागका अधिकारीहरूले त्यसबारे नेपाल प्रहरी, नागरिक उड्डन प्राधिकरण, पर्यटन मन्त्रालय र एयरलाइन्स कम्पनीहरूसँग छलफल गरेका छन् । शुक्रबार त्यसबारे औपचारिक निर्णय गरिने महानिर्देशक तिवारीले जानकारी दिए । उनका अनुसार भिजिट भिसाको नाममा भएको विकृति सुधार्न यस्तो निर्णय लिइएको हो ।
भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा ६ प्रकारका कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा बुझाउनुपर्छ । पर्यटक भिसामा आफन्त भेट्न अथवा घुम्नकै लागि जानेहरूका लागि त्यस्ता कागजातहरू जुटाउन धौधौ पर्छ । तर, बिचौलियाहरूले त्यस्ता कागजात सहज रूपमा तयार गर्न सक्छन् ।
२०८० माघ १० देखि लागु भएको मापदण्ड अनुसार भिजिट भिसामा जानेले दुईतर्फी हवाई टिकट देखाउनुपर्छ । त्यसमा एयरलाइन्स कम्पनीका कर्मचारीहरूले पनि बद्मासी गर्ने गरेको विभागको निष्कर्ष छ । बोर्डिङ पास दिँदा बार्गेनिङ हुने गरेको र काठमाडौँबाट यात्रु नउड्दै गन्तव्य मुलुकबाट फर्किन भनेर पेस गरिएको टिकट ‘क्यान्सिल’ गर्ने काम एयरलाइन्सका कर्मचारीहरूले बिचौलियाहरूसँगको मिलेमतोमा गर्ने गरेका छन् ।
एयरलाइन्स कम्पनीहरूले पनि भिजिट भिसाका यात्रुहरूलाई फिर्ता गर्ने गरेका छन् । अब, उनीहरूले फिर्ता गर्दा कारण खुलाएर फिर्ता गर्नुपर्ने महानिर्देशक तिवारीले बताए । उनले भने, ‘विमान सेवा प्रदायक कम्पनीहरूले यात्रु फर्काउँदा लिखित कारण खुलाएर फिर्ता गर्नुपर्छ, त्यसबारे नागरिक उड्डयन प्राधिकरणसँग हामी छलफल गरिरहेका छौं ।’
भिजिट भिसामा जानेहरूले ५ सय अमेरिकी डलर बराबरको नगद साटेको प्रमाण र भ्रमण अवधिभरका लागि होटल बुकिङ्ग गरेको प्रमाण देखाउनुपर्छ । त्यस्ता कागजात सर्वसाधारणले सहज रूपमा बनाउन सक्दैनन् । तर, बिचौलियाहरू र अध्यागमनका कर्मचारीले पर्यटक भिसाको नाममा त्यही मापदण्डमा टेकेर ‘सेटिङ’मा विदेश पठाउने र असुल्ने धन्दा चलाएका छन् । त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
ट्राभल एजेन्सीहरूले ओभर बुकिङ गर्ने गरेको भेटिएपछि विभागले त्यसबारे पनि नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग छलफल गरेको छ । ट्राभल एजेन्सीहरूले ओभर बुकिङ गरिरहेको उल्लेख गर्दै तिवारीले भने, ‘ओभरबुकिङ हटाउँछु, त्यसबारे क्यानसँग समन्वय गरेको छु ।’
२०८० मंसिरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन अधिकृत नरवीर खड्कासहित ९ जना अध्यागमन अधिकृतलाई मुद्दा चलाएको थियो । उनीहरूले सफाइ पाएपछि विमानस्थलमा फेरि ‘सेटिङ’ सुरु भएको बताइएको छ ।
सेटिङ मिलाएर भिजिट भिसाउमा पठाएको अभियोगबाट अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागोले सफाइ पाएका थिए । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लाभ लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
अधिकृतहरूले सफाइ पाएपछि अहिले पुनः सेटिङ मौलाएको आशंकामा अख्तियारले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । भट्टराई यसअघि विमानस्थल अध्यागमन कार्यालयको प्रमुख थिए । विमानस्थल अध्यागमन कार्यालयको प्रमुख हुँदा बिचौलियाहरूसँग मिलेर उनले भिजिट भिसामा ‘सेटिङ’ गरे विदेश पठाएको आरोप छ । जेठ ७ देखि आयोगले भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । भट्टराईसँगै ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र कविता पौडेल पनि छानबिनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण