‘सेटिङ गर्न’ अध्यागमन अधिकृत दुर्गाले चलाउँथिन् दुई वटा नम्बर
सारांश
- अध्यागमन विभागले भिजिट भिसामा विदेश पठाउने सेटिङमा संलग्न अधिकृत दुर्गा थापालाई सरुवा गरेको छ।
- थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागमा फिर्ता बोलाइएको छ, र उनीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ।
- भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिवको समितिले छानबिन गरिरहेको छ भने अख्तियारले अन्य कर्मचारी र बिचौलियामाथि अनुसन्धान गर्दैछ।
काठमाडौँ । भिजिट भिसामा नेपालीहरूलाई ‘सेटिङ’ गरेर विदेश पठाएको भेटिएपछि अध्यागमन विभागले थप एक जना अधिकृतलाई सरुवा गरेको छ । ती अधिकृत हुन् दुर्गा थापा । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट अध्यागमन विभागमा फिर्ता गरिएको छ ।
कांग्रेस निकट कर्मचारी संगठनमा आबद्ध थापालाई गृहसचिव गोकर्णमणि दुवाडीले नै विमानस्थल अध्यागमनमा पठाएको गृह मन्त्रालयका कर्मचारीहरू बताउँछन् । अधिकृत थापा छैटौँ पटकसम्म विमानस्थल अध्यागमन कार्यालयमा बसेको भेटिएको छ ।
तिनै थापाले बिचौलियासँग मिलेर ‘सेटिङ’ गर्ने गरेको आरोप छ । उनीमाथि अख्तियारका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । थापाले सेटिङका लागि दुई वटा नम्बर प्रयोग गर्थिन् । युएईको नम्बरबाट उनले ह्वाट्स एप चलाउने गरेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।
अख्तियारका एक जना अधिकृतले भने, ‘युएईको नम्बरबाट ह्वाट्सएप मार्फत कुराकानी गर्ने गरेको भेटिएको छ ।’ थापाले चलाउने अर्को नम्बर सिराहाका एक जनाको नाममा मोबाइल सेवा प्रदायक कम्पनीमा दर्ता भएको भेटिएको छ ।
थापालाई करिब १० दिनअघि विमानस्थलबाट फिर्ता बोलाइएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताए । ढकालले भने, ‘उहाँलाई विभागमा कामकाज गर्ने गरी सरुवा गरिएको छ ।’
गोकर्णमणि दुवाडीले गृह सचिवको जिम्मेवारी सम्हालेपछि दुर्गा थापालाई अध्यागमनमा पठाएका थिए । गृहका एक जना अधिकृत भन्छन्, ‘दुर्गा थापा यसअघि विमानस्थल अध्यागमनमा लामो समय बस्ने अधिकृत हुन् । यसपटक चाहिँ धेरै समय बस्नुभएको छैन ।’
भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिव शंकरदास वैरागी नेतृत्वको समितिले छानबिन गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराई र ३ जना बिचौलियामाथि विस्तृत अनुसन्धान गर्दैछ । भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र अर्की एक महिला अनुसन्धानको दायरामा छन् । अधिकृत दुर्गा थापा पनि पछिल्लो समय अनुसन्धानको दायरामा छिन् ।
२०८२ जेठ ६ मा गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित ९ जनालाई विमानस्थल अध्यागमनबाट हटाएको थियो । त्यसपछि फेरि ९ जना नायब सुब्बा विमानस्थलबाट हटाइए । साउन ५ देखि गृह मन्त्रालयले विमानस्थल अध्यागमनमा ४५ जना नयाँ शाखा अधिकृतलाई खटाएको छ ।
उनीहरू भर्खरै लोकसेवा पास गरेर पदस्थापन भएका हुन् । कार्यालय प्रमुखमा पनि अख्तियारमा काम गरेका सहसचिव नरहरि घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण