बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
वास्तु

शनिको शुभफलका लागि वास्तु र ज्योतिषीय मार्ग

शनिबार, ३१ साउन २०८२, १० : ३१
शनिबार, ३१ साउन २०८२

‘शनि’को नाम सुन्नेबित्तिकै मानिसहरूमा भय र चिन्ताको भाव उत्पन्न हुन्छ । यस ग्रहलाई दुःख, कष्ट, ढिलाइ र अवरोधको कारक मानिन्छ । वास्तवमा यो पूर्ण सत्य होइन । शनि ग्रह कर्मफलदाता र  न्यायका देवता हुन् । शनिले हामीलाई अनुशासन, धैर्य, लगनशीलता र कठोर परिश्रमको पाठ सिकाएको हुन्छ । हामीले शनिले दिने सङ्केतहरूलाई बुझेर आफ्नो कर्म तथा घरको ऊर्जालाई सही बनाउँछौँ भने अतुलनीय सफलता, स्थिरता र आध्यात्मिक उन्नति प्राप्त हुन्छ । 

एक वास्तुशास्त्रीका रूपमा आज ज्योतिषीय महत्त्व राख्ने एउटा शक्तिशाली ग्रह शनि र यसको घरको वास्तुसँगको सम्बन्धबारे जानकारी लिएर उपस्थित भएको छु । यस आलेखमा शनि ग्रहको महादशा, साढेसाती वा अन्य प्रतिकूल प्रभावका बेला पनि घरमा कसरी सकारात्मक ऊर्जा प्रवाह गराउने र शनि ग्रहलाई आफ्नो अनुकूल बनाउने भन्ने विषयमा ज्योतिष तथा वास्तुका शास्त्रीय सन्दर्भ समेट्ने प्रयास गरिएको छ ।

वैदिक ज्योतिष अनुसार शनि ग्रह मकर र कुम्भ राशिका स्वामी हुन् । यो तुला राशिमा उच्च र मेष राशिमा नीच हुन्छ । शनि ढिलो चल्ने ग्रह भएकाले एउटा राशिमा करिब अढाइ वर्ष बस्छ । यसै कारणले गर्दा यसको प्रभाव दीर्घकालीन र गहन हुन्छ । शनिले हाम्रो कर्म, अनुशासन, कर्तव्यनिष्ठा, धैर्य र न्यायलाई प्रतिनिधित्व गर्छ । 

‘शनिवत् सर्वकर्माणि करोति फलप्रदानम् ।’ अर्थात् शनिले हाम्रा सबै कर्महरूको फल प्रदान गर्दछन् भनी शास्त्रमा उल्लेख गरेको पाइन्छ । शनि एक महान् योगी र न्यायका देवता हुन्, जसले गलत गर्नेलाई दण्ड र सही गर्नेलाई पुरस्कार दिन्छन् भन्ने मान्यता छ । जब शनिको महादशा, साढेसाती वा अढैयाको समय चल्छ तब व्यक्तिले जीवनमा अनेकौँ चुनौतीको सामना गर्नुपर्छ । यही समयले आत्मनिरीक्षण, आत्मसुधार र नयाँ पाठ सिक्ने अवसर प्रदान गर्छ । कर्मको फल त भोग्नैपर्छ तर यस अवधिमा घरको वास्तु सुधार र ज्योतिषीय उपायहरू अवलम्बन गर्दा नकारात्मकता कम गरी सकारात्मकता बढाउन सकिन्छ ।

घरको पश्चिम वा नैऋत्य दिशा फोहोर, अस्तव्यस्त छ भने शनि ग्रहको कुदृष्टिलाई बढाउँछ । जसले जोर्नी दुख्ने, खुट्टा वा ढाडको समस्या र काममा ढिलाइका लक्षण देखिन थाल्छन् ।

वास्तुशास्त्रका अनुसार प्रत्येक ग्रहले कुनै न कुनै दिशा, तत्त्व र ऊर्जा क्षेत्रलाई प्रतिनिधित्व गर्छ । शनिको मुख्य दिशा पश्चिम हो । यसका साथै दक्षिण–पश्चिम (नैऋत्य) दिशामा पनि शनिको प्रभाव मानिन्छ । पश्चिम दिशा स्थिरता, दीर्घायु तथा प्रयासको परिणामसँग सम्बन्धित छ । यो दिशाबाट हाम्रो जीवनमा स्थिरता र प्रगति आउँछ । पश्चिम दिशामा वास्तु दोष छ भने घरका सदस्यहरू अल्छी, निराश, रोगी वा अनिर्णयको बन्दी हुन थाल्छन् । त्यसरी नै नैऋत्य दिशा पितृ, सम्बन्ध र स्थिरताको कारक हो । यसलाई राहुको दिशा पनि मानिन्छ, तर शनिको प्रभाव पनि यसमा रहन्छ । यो दिशामा गडबडी भएमा सम्बन्धमा उतारचढाव, अस्थिरता, अनावश्यक चिन्ता र सम्बन्धमा मनमुटाव देखिन थाल्छ । 

घरको पश्चिम वा नैऋत्य दिशा फोहोर, अस्तव्यस्त छ भने शनि ग्रहको कुदृष्टिलाई बढाउँछ । जसले जोर्नी दुख्ने, खुट्टा वा ढाडको समस्या र काममा ढिलाइका लक्षण देखिन थाल्छन् । यी दिशामा पुराना र बिग्रिएका फलामका सामान छन् भने शनि नकारात्मक हुन्छ । यहाँ भूमिगत पानीको ट्याङ्की वा सेप्टिक ट्याङ्की, शौचालय वा भान्सा हुनु पनि वास्तुदोष मानिन्छ । 

शनिको दशा–अन्तरदशा या अन्य कुनै प्रभाव छ भने यस्तो अवस्थामा हुने प्रतिकूल प्रभावलाई कम गर्न र सकारात्मक ऊर्जालाई आकर्षित गर्न वास्तु उपाय अपनाउन सकिन्छ । पश्चिम दिशालाई सधैँ सफासुग्घर र व्यवस्थित राख्नुपर्छ । यहाँ अनावश्यक वस्तुहरू, फोहोर वा बिग्रिएका सामान राख्नु हुँदैन । घरको पश्चिम दिशामा भारी फर्निचर, दराज वा अलमारी राख्नु शुभ मानिन्छ । यस दिशामा पर्याप्त प्राकृतिक प्रकाशको व्यवस्था गर्ने, प्राकृतिक प्रकाश सम्भव छैन भने कृत्रिम प्रकाशको व्यवस्था गरेर यस क्षेत्रलाई उज्यालो बनाइराख्नुपर्छ । 

शनि ग्रहलाई डर या भयको प्रतीकको रूपमा हेर्नु उचित हुँदैन, यो एक गुरु हो, एक न्यायकारक शासक हो, जसले हामीलाई जीवनको वास्तविक पाठ सिकाउँछ ।

वास्तुसँगै ज्योतिषीय उपायहरू अपनाउनुपर्छ । आफ्नो घरको पश्चिम र दक्षिण–पश्चिम दिशाको विशेष गरी निरीक्षण गरी वास्तुदोष भएमा तत्काल समाधान गर्नुपर्छ । शनि ग्रहलाई प्रसन्न पार्न दान र सेवा सबैभन्दा उत्तम उपाय हो । हरेक शनिबार गरिब, वृद्ध वा अशक्त व्यक्तिलाई कालो दाल, तेल, फलामका वस्तु, कम्बल तथा कालो तिल दान गर्नु शुभ मानिन्छ । ॐ शं शनैश्चराय नमः वा ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः मन्त्रको नियमित जप गर्ने तथा हनुमानजीको पूजा र हनुमान चालिसाको पाठले पनि शनिको नकारात्मक प्रभाव कम गर्न मद्दत गर्दछ । 

शनि ग्रहलाई डर या भयको प्रतीकको रूपमा हेर्नु उचित हुँदैन, यो एक गुरु हो, एक न्यायकारक शासक हो, जसले हामीलाई जीवनको वास्तविक पाठ सिकाउँछ । जब शनिले आफ्नो परीक्षा लिन्छ, तब हामीले आफूलाई अझ सुदृढ र परिपक्व बनाउनुपर्छ । वास्तुका सरल र शास्त्रीय उपाय अपनाएर शनि महादशा वा अन्य प्रतिकूल समयमा पनि शुभ बनाउन सकिन्छ । यद्यपि प्रत्येक घरको स्थिति र व्यक्तिको कुण्डली फरक हुने हुनाले कुनै पनि ठुलो वास्तु वा ज्योतिषीय निर्णय लिनुअघि योग्य वास्तुशास्त्री र ज्योतिषीसँग परामर्श लिनु अनिवार्य हुन्छ । सामाजिक सञ्जालमा आएका सूचनाका आधारमा ‘फलानो राशिलाई यसो भनेको छ’ भन्दै आफ्नो घरको सामानहरू चलाउने या अन्य कुनै उपाय गर्ने गर्नु हुँदैन । अन्त्यमा सुख, शान्ति र समृद्धिको कामनासहित जय वास्तु !

(लेखक वास्तु विज्ञानका सञ्चालक एवं दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप