बुधबार, १३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल टेलिकमको राजस्व स्थिर तर खुद मुनाफामा गिरावट

शनिबार, ३१ साउन २०८२, १० : ५५
शनिबार, ३१ साउन २०८२

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को अडिट नगरिएको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार कम्पनीको सञ्चालन आय गत वर्षको सोही अवधिको तुलनामा सामान्यतः स्थिर रहे पनि कुल आय र खुद मुनाफामा भने गिरावट देखिएको छ।

यस आर्थिक वर्षको चौथो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय रु. ३४ अर्ब ५३ करोड २४ लाख ४२ हजार पुगेको छ, जुन गत वर्षको सोही अवधिको रु. ३४ अर्ब ५६ करोड २ लाख ६५ हजारको तुलनामा जम्मा ०.०८ प्रतिशतले मात्र घटेको हो। तर कुल आय भने रु. ३८ अर्ब ७३ करोड ३३ लाख ४१ हजारमा सीमित रह्यो, जुन गत आर्थिक वर्ष को सोही अवधिको रु. ४२ अर्ब ११ करोड ६९ लाख १० हजारको तुलनामा ८.०३ प्रतिशतले घटेको छ।

मुनाफाका सूचकाङ्कहरूमा मिश्रित अवस्था देखिएको छ। अर्निङ बिफोर इन्ट्रेस्ट, ट्याक्सेस, डेप्रिसिएसन एन्ड एमोर्टिजेसन रु. १९ अर्ब २५ करोड ९१ हजार पुगेको छ, जुन गत वर्षको तुलनामा ६.८२ प्रतिशतले वृद्धि भएको हो। तर कर अघिको मुनाफा रु. ११ अर्ब २१ करोड ६३ लाख ४८ हजारमा सीमित रह्यो, जुन गत वर्षको सोही अवधिको तुलनामा ०.३० प्रतिशतले घटेको छ। 

सबैभन्दा ठुलो गिरावट भने खुद मुनाफामा देखियो, जुन रु. २ अर्ब ६६ करोड ८१ लाख ९२ हजारमा झरेको छ। गत वर्षको सोही अवधिमा यो रकम रु. ६ अर्ब २३ करोड ५५ लाख २ हजार रहेकोमा यसपटक ५७.२१ प्रतिशतको गिरावट भएको हो। कम्पनीको प्रति शेयर आम्दानी रु. १४.८२ मा सीमित भएको छ।

राजस्व तथा मुनाफामा देखिएको गिरावटका प्रमुख कारणहरूमा अन्तर्राष्ट्रिय कल आयमा आएको कमी, ओटीटी सेवाको बढ्दो प्रयोग, प्रतिस्पर्धी आईएसपीहरूको वाईफाई सेवाबाट मोबाइल डाटामा आएको गिरावट, उच्च लागतमा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने बाध्यता, दररेटसम्बन्धी नीतिगत परिवर्तन, ब्याज आयमा आएको कमी, कर्मचारी निवृत्तिभरण व्यवस्थाका कारण बढेको खर्च, स्थगन करको प्रभाव, करसम्बन्धी मुद्दाबाट परेको थप आर्थिक भार, साथै ऋण लगानी र सम्पत्तिमा गरिएको नोक्सानी व्यवस्थापन रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप