पञ्चतत्त्व र घान्द्रुकबिचको अन्तर्द्वन्द्व
सारांश
- नेपाल आर्ट काउन्सिलमा दुई कला प्रदर्शनी सम्पन्न भए, जसमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थी र स्थापित कलाकारहरूको सहभागिता थियो।
- विद्यार्थीहरूले घान्द्रुक भ्रमणका अनुभवहरू कलामा उतारे, भने स्थापित कलाकारहरूले पञ्चतत्त्वमा आधारित कला प्रस्तुत गरे।
- प्रदर्शनीहरूमा समसामयिक कलाका अत्याधुनिक प्रवृत्तिहरू देखाइएको थियो, जसमा प्रविधि र नयाँ विषयवस्तुको प्रयोग गरिएको थियो।
भर्खरै नेपाल आर्ट काउन्सिलमा दुईवटा कला प्रदर्शनी सम्पन्न भए । एउटा थियो, काठमाडौँ विश्वविद्यालय (केयू) को कला सङ्कायमा अध्ययनरत स्नातक तहको अन्तिम वर्षका छात्रछात्राको कला प्रदर्शनी, यो प्रदर्शनी २९ जुनदेखि १ जुलाईसम्म चल्यो ।
अर्को ‘इन्टरडिपेन्डेन्स’ शीर्षकमा गरिएको कला प्रदर्शनी थियो, जुन प्रदर्शनी जुन १७ देखि जुलाई १२ सम्म चल्यो । स्थापित कलाकार सहभागी यस प्रदर्शनी पञ्चतत्त्व (पृथ्वी, जल, आगो, हावा र आकाश) मा आधारित थियो ।
- केयूका छात्रछात्राका काम
केयूका छात्रछात्रा पश्चिमको घान्द्रुक घुमेर आएपछि आफूमा परेको प्रभावलाई कलामा उतार्न पुगेका रहेछन् । सहभागी कलाकारमा अग्रिमा राज्यलक्ष्मी राणा, धृतिका तिवारी, गगनकुमार ज्यापु, आर्या महर्जन, दिवस वज्राचार्य, समीप लिम्बु, इभा केसी, श्रीनिधि खड्का, अनु महर्जन, सुधा पौडेल, मानस्वी दाहाल, सुस्मिता शाक्य, श्रेया वज्राचार्य, दोर्जे छिरिङ शेर्पा थिए ।
कलामा भर्खरै पाइला टेक्दै गरेका कलाकारहरू जब घान्द्रुकजस्तो रमणीय स्थलमा पुगे; शीतल, स्वच्छ हावा, मनोरम दृश्य अनि शान्त वातावरणमा विचरण गरे । यी सबैजसो कलाकारले मनमा प्रभाव परेका कुरालाई कलामा उतारे ।

अग्रिमाले साधारण दृश्यचित्र बनाइन्, तर धुमिल अनि मानसपटलमा जम्मा भएको मधुरो गाउँ, हरिया पहाडहरूलाई चित्रपटमा बिछ्याउँदा मनोरम दृश्य देखिन गयो । उनको अर्को चित्रमा खच्चरहरूको बथानको हुल आएको छ । अर्ध–अमूर्त स्वभावमा खच्चरहरू तह–तह मिलेर बसेजस्तो संरचना देखिन्छ । समग्रमा हेर्दा अमूर्तताको भाव दिने यो उनको चित्र गहिरिएर हेर्दा मात्र खच्चरहरूको भिड देखिन्थ्यो; नाम पनि राखिन्, ‘कति धेरै खच्चरहरू’ ।
धृतिकाले घान्द्रुकमा ‘ब्रिदिङ लाइफ’लाई अनुभव गरिन् । उनको काममा सेतोमाथि सेता आकारहरू पारदर्शी रूपमा देखापरेका छन् । यसैमाथि टेक्चरहरूलाई केलाएर, धमिलो मधुर दृश्यलाई आफ्नो मोनिटरमा उतारेकी छन् । यो उनको भिडियो इन्स्टलेसन थियो ।
गगनको ‘घान्द्रुकको घर’ नामक चित्रमा चोयाको पृष्ठभूमिमा यथार्थ घरहरूलाई प्रस्तुत गरिएको छ । संयोजन अनि प्रस्तुतिमा थोरै नयाँ–नौलो देखिँदा पनि यसको आकर्षण फरक ढंगबाट देखिन गएको थियो ।
‘घान्द्रुकको गुन्द्रुक’ नामक आर्याको चित्रमा स–साना अब्जेक्टलाई मुख्य विषय बनाएको देखिन्छ । थुप्रै चित्र बनाइराख्दा गुन्द्रुकमै उनको मन बसेपछि घान्द्रुकको विशेषतालाई यसैमा उनले टिप्ने कोसिस गरिन् ।
‘अल आई सी आर स्टेयर्स’ आकर्षक नाम र अनुभूतिलाई भित्तामा सिँढीका चोक्टाहरू टाँसेर मानस्वीले आफ्नो कलालाई प्रस्तुत गरिन् । घान्द्रुक पुग्नेबित्तिकै जताततै ढुङ्गाका सिँढीहरू मात्रै देखेपछि तराई (मोरङ)की मानस्वीलाई अनौठो अनुभव भएको रहेछ ।
धृतिकाले घान्द्रुकमा ‘ब्रिदिङ लाइफ’लाई अनुभव गरिन् । उनको काममा सेतोमाथि सेता आकारहरू पारदर्शी रूपमा देखापरेका छन् । यसैमाथि टेक्चरहरूलाई केलाएर, धमिलो मधुर दृश्यलाई आफ्नो मोनिटरमा उतारेकी छन् । यो उनको भिडियो इन्स्टलेसन थियो ।
‘द माउन्टेन्स ह्याभ बिन वाचिङ’ शीर्षकको दिवसको चित्रमा सेता रेखाङ्कनका अनेकानेक आकृतिलाई तारमा तुर्लुङ्ग झुन्ड्याएको देखिन्छ । उनको अनुभव रह्यो, त्यहाँ घरका झ्यालले परम्परालाई समेत गजबले बोल्दो रहेछ । उनको अनुभवलाई प्रस्तुत गर्दा यो उनको काम गजबको इन्स्टलेसन काम बन्न गयो । सबैभन्दा राम्रोसँग कन्सेप्टलाई पस्केका दिवसले उहिले र अहिलेको अवस्थालाई गजबको संयोजन गरी प्रस्तुत गरेका छन् । जस्ताको तस्तै आफ्नै मौलिक पहिचानमा बस्दै आएका हिमालका चुचुराले आज पुराना घरका पुरानै बनावटका झ्यालबारे भन्दै छन्, अनि नयाँ झ्यालको विम्बहरूको कथालाई पनि भन्दै गरेको देखिँदो रहेछ । यही उनको मिठास नै भावकका लागि रमाइलो परिदृश्य देखिँदो रहेछ । उनको अनुभवमा परिवर्तित हुँदै गरेको समाजको मान्छेको कथालाई साक्षी बनी बसेको प्रसङ्गलाई गजबले उठाएका छन् ।

‘अल आई सी आर स्टेयर्स’ आकर्षक नाम र अनुभूतिलाई भित्तामा सिँढीका चोक्टाहरू टाँसेर मानस्वीले आफ्नो कलालाई प्रस्तुत गरिन् । घान्द्रुक पुग्नेबित्तिकै जताततै ढुङ्गाका सिँढीहरू मात्रै देखेपछि तराई (मोरङ)की मानस्वीलाई अनौठो अनुभव भएको रहेछ । यो अनुभव कलाका रूपमा देखापर्दा यसले यस्तो रूप लियो । सुस्मिताले ‘मिलिजुली घान्द्रुक’ बनाइन् । टेक्सटाइललाई माध्यम बनाएकी उनले चहकिलो रङमा खेल्दै घर, पहाड बाल–सुलभ भावमा चित्रण गरिन् । बाल–सुलभ मन अनि स्वतन्त्रतापूर्वक आफ्ना भावनालाई पोखेझैँ उनी पनि बालिका भई त्यही पाराले कुनै पनि बन्धनमा नबाँधी चित्रपटमा पोखिन खोज्दा यो कलाको रूप देखापर्यो । श्रेयाको ‘लुम्स अफ अफेक्सन’ खाली चित्रपटमा केही मात्र वाक्यहरू लेखी घान्द्रुकको सम्झनालाई उनले कलाको रूपमा प्रस्तुत गरिन् । जस्तो कि उनले लेखिन्, ‘आज बारीबाट फूल टिप्न हुन्न भन्थ्यो, बिर्सेंछु । अब तपाईंहरू फेरि कहिले आउनुहुन्छ ?’ कुनै–कुनै चित्रपट त नितान्त खाली पनि थिए । नवीन, नौलो ढङ्गबाट भएको यो उनको प्रस्तुति भावकले अचम्मले अवलोकन गरे । श्रीनिधिको ‘हेयर, देयर, एभ्रिह्वेयर’ नामक काममा ढुङ्गाको कडा चट्टानलाई अनुभूत गरेपछि उनले रङहरूले अनुभवलाई अमूर्ततामा चित्रपटमा उतारेका छन् । मूलतः यो एउटा कडा खाले शिलाको दृश्यचित्र पनि हो ।
कोठाभित्र मात्र कला कोरी बस्दा प्राप्त अनुभवलाई बाह्य आम मान्छे र दृश्यसँग जोड्न खोज्दा यस्ता कला जन्मिएका हुन् । कला अध्ययन गर्दै गरेका कलाकारलाई बाह्य संसारसँग घुलमिल गरेर कला गर्न मन हुन्छ । यही प्रक्रियामा गाँसिन जाँदा यस्ता कला जन्मन्छन् । देखिँदामा यो एउटा अनौठो खालको कलाको प्रक्रिया जस्तो लाग्छ । भएको यति नै हो । अर्थात् आफैँमा नौलो अवधारणा, सोच र ज्ञानगुणका कुराहरू कला सिर्जनाका बेला जोडिन पुग्दा कलाकार कसरी खारिन्छ, यसको पनि प्रतिविम्बका रूपमा यो कला प्रदर्शनी देखापरेको छ । हठात् प्रदर्शन गर्नु र विशेष उद्देश्य राखेर प्रदर्शन गर्नुमा निकै फरक हुन्छ । अहिले आएर विकसित भएको शैली कलाको एउटा अलग्गै मोडल पनि हो । कलाका स्कुल–कलेजले हिजोआज यस्तै मोडलमा काम गरेको देखिन्छ । शिल्पलाई गुरुले भनेजस्तो पाराले अनुकरण गरिरहनु मात्र कला सिकाइ होइन भन्छन् हिजोआज । आफैँ लागिपरेर बाह्य समाजमा घटित घटनाहरू, अवस्थाहरू, दिनचर्याहरूलाई आफैँले हेरी–भोगी अलग्गै प्रकारका अनुभवलाई बटुल्न आजका कलाकार लागिपरेका देखिन्छन् । आजको सिर्जनाको प्रक्रिया पनि यही नै हो ।
घान्द्रुक पोखराबाट अझमाथि डाँडामा चढेपछि उत्तरपट्टिको माछापुच्छ्रे सँग लुकामारी खेल्दै बसेको रमणीय ठाउँ हो । गुरुङ संस्कृति र संस्कारले ढपक्कै ढाकेको यो ठाउँ शान्त, स्निग्ध, मनोरम र लोभलाग्दो छ । संसारभरिका मान्छेहरू यहाँ आउँछन्, आनन्द लिन्छन् ।
‘इन्टरडिपेन्डेन्स’ शीर्षक दिइएको प्रदर्शनी ‘पञ्चतत्त्व’जस्तो गहन विषयमा थियो । नितान्त अत्याधुनिक फर्ममा इन्स्टलेसन कलालाई यस प्रदर्शनीमा प्रस्तुत गरिएको थियो ।
भर्खर कलामा पाइला हाल्दै गरेका यी कलाकारले घान्द्रुकलाई देखे–भोगेपछि आफ्ना अनुभवलाई पोखेका हुन् । घान्द्रुक घुम्न गए वा पठाइयो । मात्र रमाइलो गर्न होइन, अनुभवलाई कलामा समाहित गर्न । घान्द्रुकलाई वा यसको अन्तर्वस्तुलाई कलामा समावेश गर्न पनि यो घुमघामको घटना यहाँ जोडिन पुगेको थियो । बाह्य वस्तुहरू, प्राकृतिक अवयवहरू, मान्छेले बनाएको सांस्कृतिक परिपाटी— सबै मिलेर सिङ्गो ठाउँ देखिँदा कस्तो देखिँदो रहेछ भनी देखाउन कलाकारले मेहनत गरेको देखिन्छ ।

- इन्टरडिपेन्डेन्स
‘इन्टरडिपेन्डेन्स’ शीर्षक दिइएको प्रदर्शनी ‘पञ्चतत्त्व’जस्तो गहन विषयमा थियो । नितान्त अत्याधुनिक फर्ममा इन्स्टलेसन कलालाई यस प्रदर्शनीमा प्रस्तुत गरिएको थियो । जसमा सबै महिला कलाकार थिए— विधाता केसी, तेन्जिङ स्याङ्मो, मीना कायस्थ, शुषमा शाक्य, सुशीला सिंह, अञ्जिला मानन्धर, रश्मी कर्ण, वैशाली क्षेत्री र वर्षा मुखिया ।
‘इन्टरडिपेन्डेन्स’लाई अलि गहिरिएर हेर्दा प्रयोगात्मक रूपमा बनेका चित्र देखिन्छन् । सीमाहीन यस्ता इन्स्टलेसन कामहरू पहिलाभन्दा नितान्त पृथक् पनि देखिन्छन् । कलाकारहरूले बढी मात्रामा आज आम मान्छेले प्रयोग गर्ने वस्तुहरूलाई सङ्गठन र समायोजन गरिरहेका छन् । पञ्च तत्त्वको पारस्परिक अन्तरसम्बन्ध र पारस्परिक निर्भरतालाई आफ्नो कलामा गाँस्नु यसको थप विशेषता देखिन्छ । चिन्तन र मनन गर्दै कलाकारले आ–आफ्ना कलामार्फत विचार र भावना सम्प्रेषण गरेको देखिन्छ ।
दुई अलग–अलग स्तर, अवस्था र प्रस्तुतिमा देखापरेका यी दुई कला प्रदर्शनीले आम भावकलाई अलग्गै प्रकारको स्वाद दिए ।
प्रकृति, संस्कृति र मानवबिचको समन्वय; पञ्चतत्त्वका हरेक तत्त्वहरूबिच रहेका नाता; यसले हाम्रो जीवन अनि अनुकूल वातावरणलाई कसरी प्रभाव पार्छ ? आदि बारेका कलाहरू यस प्रदर्शनीमा राखिएका थिए । सिर्जनशीलतालाई उत्सवका रूपमा मनाउन पनि यहाँ पञ्चतत्त्वलाई आधारविन्दुका रूपमा खडा गरिएको छ । यही तत्त्वहरू कलामा भित्रिँदा कस्तो दृश्यमा मुखरित हुन्छ ! यसैको प्रतिविम्ब पनि हो यो ।
झट्ट हेर्दा यी कला अजङ्गका देखिन्छन् । हेर्दैखेरि अजङ्गको देखिनु नै यसको मूल विशेषता पनि हो । पुरानो तौरतरिकाजस्तो कसैको काम पनि एउटा विषयवस्तुमा मात्र सीमित भएको छैन । अनेकानेक वस्तुहरू कलाको अभिन्न अङ्ग भई सङ्गठित भएका छन् । यसो गर्दा प्रकारान्तरमा स्पेसहरू स्वयं पनि कलाको रूपमा देखापर्छ । कहिलेकाहीँ मान्छे स्वयं पनि कलाको भागजस्तो भई देखापर्दा यस्ता कलाहरूको आयतन बढेर छोइनसक्नु बनेको हो । प्रदर्शन कक्षको सबैजसो स्पेसलाई सम्पूर्णमा ढाकिने गरी कलागत पात्रले रजाइँ गर्न खोजेको देखिन्थ्यो । एउटै कलाले ओगटेको स्पेस लम्बिएर बढ्दै जाँदा एकै ठाउँमा बसेर उनको सिङ्गो कामलाई एकैपल्टमा हेर्न पनि सकिँदैन ।

हिजोआज यस्ता कला प्रदर्शनीमा क्युरेटरहरू हुने गर्दछन् । कलालाई कसरी प्रस्तुत गर्ने, स्पेस र प्रकाशलाई कसरी समायोजन गर्ने, भावक र कलाबिच कसरी सम्बन्ध कायम गर्ने भन्नेदेखि कलाका शैक्षिक प्रक्रियामा समेत क्युरेटरले पहल गर्ने गर्छन् । यसपल्टका क्युरेटरले विशेष ध्यान दिएर प्रकाश र भित्ताका रङलाई अनुकूलतामा समावेश गरेर अलौकिक वातावरणको सिर्जना गरेका छन् । दर्शकलाई एउटा दीर्घाको कक्षमा छु जस्तो पनि लाग्दैन । काल्पनिक, स्वैरकाल्पनिक वातावरणमा विचरण भएजस्तो अनुभव भावकले गर्छन् । नवीन धारा समात्न खोज्दै गरेका परिपक्व, माझिएका हातहरूले गर्दा कलाहरू अलग्गै देखिनु पनि यसको विशेष लक्षण हो ।
- अत्याधुनिक प्रवृत्तिमा बनेका कलाहरू
दुई अलग–अलग स्तर, अवस्था र प्रस्तुतिमा देखापरेका यी दुई कला प्रदर्शनीले आम भावकलाई अलग्गै प्रकारको स्वाद दिए । यी कलामा नितान्त यथार्थ विषयवस्तु देखिन्छन् । मान्छेले दैनिक प्रयोग गर्ने वस्तुहरूलाई समायोजन गरेको पनि देख्न सकिन्थ्यो । अनि टुटेफुटेका, रद्दीको टोकरीमा फालिएका सरसामानलाई जोडजाड गरेर पनि कला बनाइएको थियो । गहिरिएर हेर्दा नितान्त अलग्ग रूपमा देखापर्ने यी कला समग्रमा हेर्नुपर्दा भने सबैजसो एकै देखिन्छन् । यी दुवै कला प्रदर्शनी एकैजसो देखिनु नयाँ कुरा भएन, किनकि शैली, प्रवृत्ति वा सिर्जना गर्ने तरिका एउटै हो । यसैले पनि यस्तै देखिन्छ ।
दुवै प्रदर्शनीमा राखिएका कला समसामयिक कलाका अत्याधुनिक प्रवृत्तिमा बनेका छन् । एउटै तरिका, एउटै अप्रोच अनि एकैजसो विधिविधानले गर्दा पनि समान देखिनु स्वाभाविक हो । अहिलेका यस्ता कला भावनामा मात्र अल्झने गर्दैनन्; जसमा प्रविधिको विशेष प्रयोग गरिन्छ । यस्ता कला बनाउँदा कलाकारले नयाँ–नयाँ प्रविधिको सहायताले र आफ्नो शिल्प तथा दक्षताले नयाँ–नयाँ विषयवस्तु ल्याउने गर्छन् ।
(लेखक मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण