शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

आइतबार, ०१ भदौ २०८२, ०५ : ०१
आइतबार, ०१ भदौ २०८२

सारांश

  • आज भदौ १ गते सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै छ, जहाँ उपहार आदानप्रदान गरिन्छ।
  • ओल्के पर्वमा मान्यजनलाई सम्मानस्वरूप कर्कलाको पात र फलफूल दिने, मीठा परिकार खाने र मेहेन्दी लगाउने गरिन्छ।
  • सुदूरपश्चिम प्रदेश सरकारले ओल्के पर्वको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

बैतडी। आज भदौ १ गते । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका ओल्के पर्व मनाइँदै छ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।

यसका साथै बिहानै धुहाइधुवाई गरी विभिन्न परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ । वर्षापछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्के मनाउने प्रचलन रहेको संस्कृतिका जानकार जयानन्द भट्टले बताए । यो दिन ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पकवान आदि मान्यजन र आफन्तकहाँ लिएर भेटघाट गर्न जाने चलन छ ।

धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक तथा जेठो पर्वका रूपमा पनि रहिआएको छ भने सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ । ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही वस्तु वा उपहारलाई जनाउने पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । उनले भने, “ठुलालाई सम्मान र सानालाई माया गर्नु हाम्रा पर्वहरूका मुख्य विशेषता हो, ओल्कोलाई शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्र नभई संस्कृति, परम्परा र आस्थाका रूपमा पनि चिनिन्छ ।”

यसैबिच, ओल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप