बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण कोरियामा अपराध रोक्न ‘होलोग्राफिक प्रहरी’ तैनाथ

आइतबार, ०१ भदौ २०८२, १२ : १७
आइतबार, ०१ भदौ २०८२

सारांश

  • सोल प्रहरीले राजधानीमा मान्छेको आकारको होलोग्राफिक प्रहरी तैनाथ गरेको छ, जसले सुरक्षाको अनुभूति बढाउने लक्ष्य राखेको छ।
  • होलोग्राम प्रहरी साँझ ७ देखि १० बजेसम्म व्यस्त क्षेत्रमा देखा पर्छन् र यसले अपराध कम गर्न सहयोग पुर्याएको बताइएको छ।
  • प्रहरीका अनुसार, होलोग्राम जडान भएपछि पार्क वरपरको अपराध दर २२ प्रतिशतले घटेको छ, तर यसको आलोचना पनि भएको छ।

सोल । सोल प्रहरीले मान्छेकै आकारको होलोग्राफिक प्रहरी तैनाथ गरेको छ । राजधानी सोलमा सुरक्षाको अनुभूति बढाउन र अपराधलाई निरुत्साहित गर्न हरेक साँझ ७ बजेदेखि १० बजेसम्म प्रहरीको पोसाक लगाएका १७० सीएम अग्लो मान्छे सोलको व्यस्त क्षेत्र जुङ–गुको जुदोङ नं. २ पार्कमा देखापर्छन् । 

यसले मानिसहरूलाई ‘आपतको समयमा प्रहरीले तत्कालै प्रतिक्रिया जनाइहाल्छ’ र ‘जताततै सर्भिलियन्स क्यामरा छन्’ भन्ने कुरा बोध गराउने बताइएको छ । तर ती प्रहरी अधिकारी साधारण भने होइनन्, थ्रीडी होलोग्राम हो । 

यसलाई होलोग्रामिका नाम गरेको कम्पनीले बनाएको हो । कम्पनीले गएको वर्ष अक्टोबरमा होलोग्राफिक प्रहरी राख्न सुरु गरेको थियो । पार्कमा होलोग्राफिक प्रहरी राख्न थालेयता अपराधमा उल्लेख्य कमी आएको हालैको तथ्याङ्कले देखाएको छ ।

होलाग्रामको साइन स्मार्ट सेक्युरिटी डिभाइसको रूपमा जडान गरिएको यसले सर्वसाधारणमा सुरक्षाको प्रत्याभूति बढाएको जुङ्बु प्रहरी थानाका प्रमुख आह्न दोङ–ह्यूनले भनेका छन् । नागरिकलाई सुरक्षित महसुस गराउन एआई प्रविधिलाई समेटेर अपराध नियन्त्रण गतिविधिलाई विस्तार गरिने उनले बताए ।  

सोल महानगरीय प्रहरी एजेन्सीका अनुसार होलोग्राम जडान गर्नु अघिको सोही अवधि र जडान गरिसके पछिको अवधिमा पार्क आसपास अपराध दर २२ प्रतिशतले घटेको छ । होलोग्राम प्रहरीले अपराधीलाई सिधै समात्न नसके पनि यसले अपराध रोकथाम गर्न र सुरक्षाको अनुभूति दिने कुरामा निकै ठुलो प्रभाव पारेको प्रहरी विभागले जनाएको छ ।

यस खबरप्रति अनलाइनमा धेरैले राम्रो प्रतिक्रिया दिएका छैनन् । अधिकांशले होलोग्राम प्रहरीलाई बुख्याचा भनेका छन् । भूत जस्तै देखिने प्रहरी देखेर मानिसहरू पार्कमा जान डराएकोले अपराध घटेको भन्दै केहीले मजाक पनि गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप