बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रदेश

सुक्खा मधेसकै हराभरा पालिका, कसरी भयो सम्भव ?

आइतबार, ०१ भदौ २०८२, १५ : ००
आइतबार, ०१ भदौ २०८२

सारांश

  • मधेस प्रदेश सरकारले सुक्खा क्षेत्र घोषणा गरेपछि बाराको कोल्हवी नगरपालिकामा भने सिँचाइको राम्रो व्यवस्थापन गरिएको छ।
  • कोल्हवी नगरपालिकाले प्राकृतिक पानीका मुहान संरक्षण गरेर किसानको खेतसम्म सिँचाइ पुर्‍याएको छ, जसले गर्दा यहाँका किसानलाई पानीको अभाव छैन।
  • विमानस्थल निर्माणको योजनाले गर्दा स्थानीयहरू प्राकृतिक स्रोतको संरक्षणको चिन्ता व्यक्त गर्छन्, तर नगरपालिकाले सिँचाइको व्यवस्थापनलाई निरन्तरता दिने बताएको छ।

बारा । मधेस प्रदेश सरकारले प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरेको छ भने प्रदेश सरकारकै सिफारिसमा संघ सरकारले मधेसमा विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।  

मधेसलाई अन्नको भण्डार भनिन्छ । खेतीयोग्य जमिन प्रशस्त रहेको र उब्जनीसमेत मनग्य हुने भएकाले मधेसका ८ जिल्ला अन्नका भण्डार मानिन्छन् । यी जिल्लामा सिँचाइको पर्याप्त सुविधा नहुँदा कतिपयले आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

कतिपय क्षेत्रमा भूमिगत जललाई बोरिङ तथा इनारका माध्यमबाट निकालेर सिँचाइका लागिसमेत प्रयोग गरिन्छ । यस वर्ष समयमै पानी नपर्दा भूमिगत जलको सतह घटेर कतिपयले इनार तथा बोरिङको पानी प्रयोग गर्न सकेनन् । आकाशे पानीका भरमा खेती गर्ने किसानले धान रोपाइँ नै गर्न पाएनन् ।

w2

यही सुक्खा क्षेत्रभित्र पर्ने बाराको कोल्हवी नगरपालिका भने हराभरा छ । यहाँका किसानलाई धान रोपाइँका लागि पानीको अभाव भएन । उनीहरूले नहर वा डिप बोरिङको पानीले धान रोपाइँ गरेका होइनन् ।

कोल्हवी नगरपालिकाको पहलमा प्राकृतिक पानीका मुहानहरूलाई संरक्षण गरेर खेत–खेतमा कुलो, पैनी पुर्‍याएर सिँचाइको व्यवस्था गरिएको छ ।

कोल्हवी नगरपालिकाभित्र पानीका दर्जनौँ प्राकृतिक स्रोत भेटिन्छन् । यस्ता स्रोतबाट कुलो तथा पैनीको माध्यमबाट किसानको खेतसम्म पानी पुर्‍याइएको छ ।

ती कुलोमा सफा र निर्मल पानी बग्ने गर्दछ । कोल्हवीमा अरुवा, जमुनी, सल्खो नदीमा बाहै्र महिना पानी बगिरहन्छ । प्राकृतिक पानीको स्रोत बाराका अन्य पालिकामा त्यति भेटिँदैन तर कोल्हवीमा सिँचाइका लागि पानीको अभाव छैन ।

w4

कोल्हवी उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष ढुण्डीराज उप्रेतीले राष्ट्रिय रुपमै ७५३ वटा पालिकामध्ये कोल्हवी एकदमै राम्रो उर्वर भूमि र बाह्रै महिना प्राकृतिक रूपमा पानीको उपलब्ध हुने उत्कृष्ट कृषि भूमि भएको बताए ।

‘कोल्हवी नगरपालिकाले चर्चेको भूभागलाई धेरै वर्ष पहिला चेरवन्त मौजा भनेर चिनिन्थ्यो,’ उनले भने, ‘चेरवन्त भनेको खेतीयोग्य जमिन, धेरै सिँचाइ हुने जमिन हो ।’

उप्रेतीका अनुसार यहाँका कुलोमा हिउँद होस् वा बर्खा सिजन, बाह्रै महिना सफा पानी बग्छ । यो पानीको मुख्य स्रोत भनेको चुरे भूभाग नै रहेको उनले बताए ।

मकवानपुरसँग सीमा जोडिएको बाराको चुरे भूभागको दक्षिणतर्फ चारकोसे झाडी छ । कोल्हवी नगरपालिका यसै चारकोसे जंगलसँग जोडिएको पालिका हो । यहाँ खुला खेतीयोग्य जमिन छन् ।

w10

‘कोल्हवीमा भूमिगत जल सतह अत्यन्तै माथि छ । यहाँ १० देखि १२ फिटको गहिराइमै पानी आउँछ,’ उप्रेतीले भने ‘यसपटक मधेसमा पानीको हाहाकार हुँदा पनि हामीकहाँ खासै समस्या भएन ।’

जिल्लाका १६ वटा पालिकामध्ये कोल्हवीमा सबैभन्दा छिटो रोपाइँ सम्पन्न भएको उप्रतीले बताए । प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल यसै पालिकाभित्र पर्ने भएकाले पछिल्लो समय यहाँ जग्गाको किनबेच तथा मानवीय गतिविधि बढ्दै गएको छ । यो अवस्थाले प्राकृतिक स्रोतहरू प्रभावित हुने चिन्ता स्थानीयवासीलाई छ ।

कोल्हवीमा विशेषगरी किसानले २ बाली धान, मकै र सुगन्धित जडीबुटी लगाउँछन् ।

कोल्हवीस्थित सपही कलेजका प्रमुख दिनेश अधिकारीले स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा प्राकृतिक पानीका स्रोत संरक्षण गर्नुपर्ने बताए । ‘अहिले भइरहेको सिँचाइलाई सुव्यवस्थित कसरी गर्ने, यसलाई दीर्घकालीन ढंगले कसरी व्यवस्थापन गर्ने भन्ने हाम्रो आजको मुख्य चुनौती हो,’ अधिकारी भने, ‘स्थानीय सरकारले यसमा गम्भीर ढंगले अध्ययन÷अनुसन्धान गरेर विज्ञहरूको राय सुझाव लिएर काम गर्नुपर्छ ।’

w13

अगामी दिनमा विमानस्थल निर्माणको काम अगाडि बढाउँदा यहाँको कृषि भूमि र सिँचाइलाई कस्तो प्रभाव पार्छ ? कतै प्राकृतिक पानीका स्रोत मासिन्छन् कि भन्ने स्थानीयको चिन्ता छ ।

कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीले जलवायु परिवर्तनले गत वर्षदेखि पानीको समस्या देखिएकाले यस वर्ष सबै कुलो सरसफाइ गरिएको बताए ।

w12

‘यस वर्ष पानीका सबै मुहान, कुलो, पैनी सफा गरेर किसानको खेतसम्म हामीले पानी पुर्‍यायौँ,’ नगरप्रमुख चौधरीले भने, ‘हाम्रा किसान आफ्नो कुलो आफैँ सफा गर्छन्, पालिकाको बजेट चाहिँदैन ।’

किसानहरूलाई अप्ठ्यारो भएको ठाउँमा जेसीभी प्रयोग गरेर पालकिाले पानीका मुहान सफा गर्न सहयोग गर्दै आएको नगरप्रमुख चौधरीको भनाइ छ ।

उनका अनुसार कुलो सफा गर्न एक बिघा जमिन बराबर एक जनाले श्रमदान गर्नुपर्ने नियम राखेर किसान आफैँले यसको व्यवस्थापन गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप