बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अदालत

सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदा उठेन क्यासिनोले तिर्नुपर्ने राजस्व

आइतबार, ०१ भदौ २०८२, १९ : ००
आइतबार, ०१ भदौ २०८२

काठमाडौँ । २०७० असोज २३ मा सर्वोच्च अदालतमा क्यासिनोको राजस्व विवादसम्बन्धी मुद्दा दर्ता भएको थियो । त्यसको ११ वर्षपछि २०८१ माघ २३ गते प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदीसहितको संवैधानिक इजलास मुद्दा फैसला गर्‍यो । तर मुद्दा फैसलाको ६ महिना बितिसक्दा पनि सर्वोच्च अदालतले पूर्णपाठ सार्वजनिक गर्न सकेको छैन । 

पूर्ण फैसला तयारीका विषयमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, मुलुकी देवानी कार्यविधि (संहिता), २०७४ र सर्वोच्च अदालत नियमावली, २०७४ ले फैसला भएको २१ दिनभित्र मुद्दाको फैसलाको पूर्णपाठ तयार गर्नुपर्ने व्यवस्था गरिएको छ । अझ तोकिएको समयमा फैसला तयार गर्न नसके मातहतको उच्च निकायमा जानकारी गराउनुपर्ने व्यवस्था समेत ऐन र नियमावलीहरूमा गरिएको छ ।

फैसला तयार गर्ने अवधि समाप्त भएको तीन दिनभित्र उच्च अदालत र मातहत अदालतको फैसलाको हकमा सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीश र सर्वोच्च अदालतको हकमा प्रधान न्यायाधीशलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

क्यासिनोबाट असुल्नुपर्ने विभिन्न शीर्षकका रकम नअसुलिएकोदेखि नवीकरण नै नभई सञ्चालन भएको, एक ठाउँमा दर्ता भएर चार स्थानसम्ममा क्यासिनो सञ्चालन भएको जस्ता विषयको विवाद सर्वोच्चमा लामो समय अल्झिएर बसेको थियो । क्यासिनोहरुले अदालतबाट ‘अन्तरिम आदेश’ लाई देखाउँदै कर नतिर्दै आएको र नियमअनुरुप सञ्चालन पनि भएका छैनन् । फैसलाको पूर्णपाठ नआउँदा राज्यले क्यासिनो क्षेत्रबाट उठाउनुपर्ने अर्बौं राजस्व उठाउन सकेको छैन ।

क्यासिनो र सरकारबीचको विवाद पुरानो हो । २०७० सालमा सरकारले क्यासिनो नियमावली, २०७० बनाएर जारी गर्नुअघिबाटै यो विवाद थियो । सरकारले क्यासिनोलाई कानुनभित्र ल्याउन र राज्यले पाउनुपर्ने राजस्व असुल्ने बाटो निर्माण गर्न उक्त नियमावली ल्याएको थियो । 

पुरानो क्यासिनोले नयाँ इजाजत लिनुपर्ने, इजाजत लिन पुनः नयाँ निवेदन दिनुपर्ने, इजाजत दस्तुर २ करोड रुपैयाँ तिर्नुपर्ने र नवीकरणबापत इजाजत दस्तुरको ५० प्रतिशत (१ करोड) रुपैयाँ वार्षिक रूपमा तिर्नुपर्ने, विदेशीलाई मात्रै क्यासिनोमा प्रवेश गराउनुपर्ने लगायत प्रावधान क्यासिनो नियमावली २०७० मा समावेश छ । क्यासिनो सञ्चालनमा आधुनिक मेसिन प्रयोग गरेर खेलाउनुपर्ने तथा उक्त मेसिन प्रयोग गरेबापत ३ करोड रुपैयाँ सरकारलाई बुझाउनुपर्ने प्रावधान नियमावलीमा छ । तर क्यासिनोहरुले उक्त नियमावली अनुसार राजस्व तिर्न इन्कार गरे ।

नियमावली आएपछि निरन्तर क्यासिनो र सरकारबिच विवाद जारी थियो । सरकारमा आउने हरेक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले क्यासिनो सञ्चालन गरेवापतको राजस्व तत्काल असुल्न निर्देशन दिए पनि सञ्चालकहरु अदालत पुग्ने र उक्त निर्देशन तत्काल कार्यान्वय नगर्न अदालतले आदेश दिँदा लामो समयदेखि राजस्व संकलन हुन सकेको थियो । 

सर्वोच्चको संवैधानिक इजलासले गत माघ २३ मा क्यासिनोहरुले दायर गरेको रिट खारेज गरेसँगै राजस्व संकलन गर्ने बाटो खुला गरिदिएपनि पूर्णपाठ नआउँदा राजस्व संकलन ढिलाइ भइरहेको छ ।

सर्वोच्चको पूर्णपाठ नआएकाले हामीले क्यासिनोबाट उठाउनुपर्ने राजस्व उठाउन नसकेको पर्यटन विभागका एक निर्देशकले बताए । 

‘अब कति राजस्व असुल गर्नुपर्ने हो, फैसलाको पूर्णपाठ आएपछि मात्रै भन्न सकिन्छ,’ ती निर्देशकले भने । 

अहिलेसम्म ५ क्यासिनोले एक अर्ब ५५ करोडभन्दा बढी राजस्व तिर्न बाँकी छ ।  महालेखाको ६० औं वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘यो वर्ष २४ क्यासिनो सञ्चालकबाट निवेदन दस्तुर, इजाजत दस्तुर, रोयल्टी रकम, नवीकरण दस्तुर र वार्षिक थप दस्तुरसमेत १ अर्ब १५ करोड ४३ लाख राजस्व प्राप्त गर्नुपर्नेमा क्यासिनोबाट ९३ करोड ११ लाख मात्र दाखिला भएको छ ।’ 

आर्थिक वर्ष २०७८/७९ मा ४ क्यासिनो सञ्चालकहरुले विभिन्न शीर्षकमा सरकारलाई बुझाउनुपर्ने राजस्व तिरेका छैनन् । महालेखाले विगतका वर्षदेखि ४ क्यासिनो सञ्चालकले बुझाउनुपर्ने रोयल्टी २२ करोड ३५ लाख दाखिला नगरेको जनाएको छ ।

सरकारले क्यासिनो सञ्चालनका लागि बनाउने ऐन/नियममा प्रत्येक वर्ष राजस्व तिर्नुपर्ने उल्लेख गरिए पनि उनीहरु अदालत पुग्ने गरेका थिए । अन्तरिम आदेशले क्यासिनो सञ्चालकहरुले व्यापार गरिरहेका थिए । क्यासिनो नियमावली, २०७० मा क्यासिनो सञ्चालकले प्रत्येक वर्ष रोयल्टी बुझाउनुपर्ने व्यवस्था गरिएको छ भने आर्थिक ऐन २०७८ को दफा १६ मा ६ महिनाभित्र रोयल्टी बुझाउनुपर्ने, समयमा नबुझाएमा थप शुल्क र वार्षिक थप शुल्क बुझाउनुपर्ने प्रावधान छ ।

पर्यटन विभागको होटल शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार देशभरमा विभिन्न स्थानमा क्यासिनो सञ्चालन गरिरहेका सञ्चालकहरुमध्ये ५ क्यासिनो सञ्चालकहरुले लामो समयदेखि सरकारलाई बुझाउनुपर्ने राजस्व बुझाएका छैनन् ।

२०७३ यता ह्याप्पL आवर प्रालि, रक इन्टरनेसनल प्रालि र रोयल क्यासिनो प्रालिले विभिन्न शीर्षकका राजस्व तथा दस्तुरहरु बुझाएका छैनन् । त्यस्तै, एसएचएल म्यानेजमेन्ट सर्भिसेर्स प्रालिले सञ्चालन गरिरहेका क्यासिनोहरुबाट बुझाउनुपर्ने रोयल्टी, नवीकरण दस्तुरलगायतका विभिन्न शीर्षकका राजस्वहरु पनि नबुझाएको पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार क्यासिनो सञ्चालन गरिरहेका विभिन्न सञ्चालकहरुले आर्थिक वर्ष २०७८/७९ सम्म बुझाउनुपर्ने १ अर्ब ५५ करोड २१ लाख ४९ हजार रुपैयाँ सरकारलाई तिर्न बाँकी छ ।

क्यासिनोमध्ये याक एण्ड यति होटलस्थित क्यासिनो रोयलका सञ्चालकले सबैभन्दा धेरै राजस्व तिर्न बाँकी छ । विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ सम्ममा उक्त क्यासिनोले ४१ करोड १६ लाख ४९ हजार रुपैयाँ राजस्व तिर्न बाँकी छ । त्यस्तै, ह्याप्पी हावर प्रालिले आर्थिक वर्ष २०७८/७९ सम्म ३९ करोड १५ लाख रुपैयाँ तिर्न बाँकी छ । 

ओरियन्टल होटलस्थित क्यासिनो राड सञ्चालन गर्ने कम्पनीले पनि ३६ करोड ४५ लाख रुपैयाँ तिर्न बाँकी छ । ह्याप्पी आवरले देशभरका विभिन्न स्थानमा मिनी क्यासिनो सञ्चालन गर्ने गरेको छ । विगतमा काँकडभिट्टा, भैरहवा, महेन्द्रनगर र नेपालगञ्जमा उक्त कम्पनीमार्फत क्यासिनो सञ्चालन भएका थिए ।

काँकडभिट्टा र धनगढीमा मिनी क्यासिनो सञ्चालन गरेको रक इन्टरनेसनल प्रालिले २३ करोड ५ लाख रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, एसएचएल म्यानेजमेन्ट प्रालिले १५ लाख ४० हजार रुपैयाँ तिर्न बाँकी रहेको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निराजन पौडेल
निराजन पौडेल
लेखकबाट थप