दैनिक १० हजारभन्दा बढीको इस्कुस बिक्री गर्दै किसान
सारांश
- उदयपुरको गाईघाटमा इस्कुसको कारोबार दैनिक १० हजारको हाराहारीमा हुन थालेको छ।
- पहाडी क्षेत्रका किसानले उत्पादन गरेको इस्कुस गाईघाट बजार र आसपासका क्षेत्रमा बिक्री भइरहेको छ।
- उपभोक्ताहरूले स्थानीय रूपमा उत्पादित अर्गानिक इस्कुस मन पराएका छन्, जसले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ।
उदयपुर । सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी क्षेत्र रौता, साउने, खाँबु, रौतामलबासे, सल्लेलगायत क्षेत्रमा उत्पादित इस्कुस दैनिक रु १० हजारको हाराहारीमा कारोबार हुन थालेको छ ।
खाँबुका इस्कुस उत्पादक किसान टङ्कबहादुर मगरका अनुसार साउनको अन्तिम सातादेखि यहाँ उत्पादित इस्कुस गाईघाट बजार क्षेत्रमा बिक्री गर्न सुरु भएको हो ।
खाँबुका अर्का किसान देवराज खत्रीले पनि अहिले गाईघाट, देउरी, बगाहासहित सिरहा क्षेत्रबाट इस्कुस खरिद गर्न व्यापारी आउने गरेकाले दैनिक रु १० हजारभन्दा बढीको बिक्री सुरु गरेको बताए । साउन अन्तिम सातासम्ममा दैनिक रु १० देखि २० हजारसम्ममा इस्कुस गाउँघरबाट बिक्री हुन थालेको उनले जानकारी दिए ।
गाईघाट सब्जी बजारका व्यापारी कुमारी कटुवालका अनुसार अहिले पहाडी क्षेत्रमा इस्कुस प्रतिकिलो रु ३० देखि रु ४० पर्ने गरेको जनाउँदै व्यापारीले रु ६० प्रतिकिलोका दरले बिक्री गर्दै आएका बताए ।
अहिले गाईघाटमा जिल्ला बाहिरबाट आयातित सब्जी दोब्बर महँगोमा व्यापारीले बिक्री गर्ने गरेकामा यहाँकै ताजा र हरियो इस्कुस उपभोग गर्न पाएपछि उपभोक्ता खुसी भएका छन् ।
गाईघाट बोक्सेकी उपभोक्ता सम्झना बस्नेतले भनिन्, “व्यापारीले जिल्ला बाहिरबाट सडे गलेका तथा विषादीयुक्त सब्जी सस्तोमा खरिद गरेर महँगोमा बिक्री गरिरहेका बेला जिल्लाकै पहाडी क्षेत्रको अर्ग्यानिक इस्कुस किनेर खान पाइएका छौँ । यसले स्वास्थ्यमा प्रतिकूल असर गर्दैन भने खर्च पनि कम भएको छ ।”
उपभोक्ताले पनि जिल्लाका साउने, खाँबु र रौता पहाडी क्षेत्रमा उत्पादन भएको इस्कुस बढी मन पराउने भएकाले बजारमा यसको माग बढी हुने किसान बताउँछन् ।
यस क्षेत्रमा उत्पादित इस्कुस साउन तेस्रो सातादेखि बिक्री सुरु भएर भदौमा सबैभन्दा बढी खपत हुने व्यापारी प्रेम मगरले जानकारी दिए । गत वर्ष भदौभरि आफूले लाखौँको इस्कुस बिक्री गरेको बताउँदै उनले यस पटक पनि सोही तुलनामा बिक्री हुने विश्वास व्यक्त गरे ।
त्रियुगा नगरपालिकाको पहाडी क्षेत्रको साउने, खाँबु, डहर र रौता क्षेत्रको रौता, मलबासे, आपटार क्षेत्रमा उत्पादन गरिएका इस्कुस बर्सेनि साउन, भदौ र असोजमा सदरमुकाम गाईघाट बजारसहित जिल्ला बाहिर सप्तरीको राजविराज, सिरहाको लहानसम्म बिक्री हुने गरेको इस्कुस उत्पादक किसानहरू बताउँछन् । एक सिजनमा कसैकसैले रु ५० हजारदेखि रु तीन लाखसम्मको इस्कुस बिक्री गर्ने गरेको किसानहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण