वैकल्पिक विकास वित्तसम्बन्धी विधेयक : सरकारले कस्तो बेला लगानी रोक्का गर्न सक्छ ?
सारांश
- अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमा लगानी रकम रोक्का सम्बन्धी व्यवस्था पास गरेको छ।
- समितिले ऋण लगानी गर्दा धितो लिने र रकम फिर्ता नभएमा आयोजना आफ्नो नियन्त्रणमा लिने व्यवस्था गरेको छ।
- विधेयकमा लगानीकर्तालाई छुट, सुविधा वा सहुलियत दिने व्यवस्था तथा सरकारको भूमिकाबारे छलफल भएको छ।
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमा दफावार छलफल गर्दै लगानी रकम रोक्का सम्बन्धी व्यवस्थालाई पास गरेको छ ।
यसमा आयोजनाले लगानीको सर्त पालना नगरेमा, लगानी रकम आयोजनामा उपयोग नगरी अन्यत्र प्रयोग गरेमा वा दिशान्तर गरेमा, झुट्टा विवरण वा तथ्य दिई लगानी प्राप्त गरेको प्रमाणित भएमा कोषले कुनै सङ्गठित संस्था वा आयोजनालाई प्रवाह गरेको लगानी रकम फिर्ता माग गर्न वा भुक्तानी गर्नुपर्ने लगानी रकम रोक्का गर्न सक्ने गरी दफावार छलफलबाट व्यवस्था गरेको छ ।
यस्तै, मनासिब कारण बिना लगानी रकमको अनुपात वा आयोजना कार्यान्वयन तालिका बमोजिम आयोजना कार्यान्वयन नगरेमा, अर्को कुनै आयोजनामा कोषको ऋण लगानी भई कार्यान्वयन भइसकेकोमा त्यस्तो आयोजनाको भुक्तानीयोग्य ऋणको किस्ता रकम बमोजिम फिर्ता नगरेमा, कोषले ऋण लगानीको रकम फिर्ता माग गरेमा त्यसरी माग गरेको समयसम्म कोषले आयोजनालाई प्रदान गरेको ऋणको सावाँ, ब्याज र सेवा शुल्क बाँकी भए त्यस्तो रकम समेत सम्बन्धित सङ्गठित संस्था वा आयोजनाले कोषलाई अविलम्ब फिर्ता गर्नुपर्ने व्यवस्था समेत समितिले पास गरेको छ ।
त्यस्तै नियमअनुसार रकम फिर्ता नगरेमा वैकल्पिक वित्त कोषले तोकिए बमोजिमको कार्यविधि पूरा गरी सम्बन्धित आयोजना आफ्नो नियन्त्रणमा लिने र आफ्नो बाँकी रकम असुल गरी तोकिए बमोजिम अर्को कुनै सङ्गठित संस्थालाई त्यस्तो आयोजना कार्यान्वयन गर्न हस्तान्तरण गर्न सक्ने समेत व्यवस्था गरिएको छ ।
समितिले दफा २७ मा रहेको धितो र त्यसको परिणाम सम्बन्धी व्यवस्थालाई समेत पास गरेको छ । अर्थ समितिले पास गरेको व्यवस्थाअनुसार कोषले कुनै आयोजनामा ऋण लगानी गर्दा वा जमानत दिँदा ऋण वा जमानत दिएको रकम असुल हुनसक्ने कुनै चल वा अचल सम्पत्ति वा कार्यान्वयन गर्न प्रस्तावित आयोजना धितोमा लिनु पर्नेछ ।
प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि कानुन बमोजिम कुनै आयोजनाले धितो दिई कोषबाट ऋण लिए पश्चात् आयोजना वा आयोजनाको सम्पत्तिले खामेसम्म सोही सम्पत्ति धितो दिई अर्को कुनै व्यक्तिबाट ऋण लिएमा त्यस्तो धितोमा दाबी गर्ने कोषको पहिलो अधिकार हुने व्यवस्था गरिएको छ । कोषको ऋण वा जमानतको रकम असुल नभएसम्म अर्को व्यक्तिले त्यस्तो धितोमा दाबी गर्न सक्नेछैन ।
यस्तै, दफा २८ लाई समेत पास गरेको छ । सो दफामा सरकारी ऋणपत्र सरह व्यवहार गरिने उल्लेख छ ।
दफा २८ मा भनिएको छ– यस ऐन बमोजिम नेपाल सरकारको जमानत प्राप्त गरी कोषले जारी गरेको ऋणपत्रलाई नेपाल सरकारले जारी गरेको विकास ऋणपत्र वा नागरिक बचतपत्र वा नेपाल राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र सरह व्यवहार गरिनेछ । त्यस्तो ऋणपत्र धितोपत्र बजारमा सूचीकृत हुन वा दोस्रो बजारमा खरिद विक्री हुन सक्नेछ । कोषले जारी गरेको अन्य वित्तीय उपकरण समेत धितोपत्र बजारमा सूचीकृत हुन र दोस्रो बजारमा खरिद विक्री गर्ने प्रयोजनको लागि नेपाल सरकारले जारी गरेको ऋणपत्र सरह व्यवहार र शुल्क लाग्नेछ । कुनै बैङ्क वा वित्तीय संस्थाले कोषले जारी गरेको कुनै क्षेत्रगत वित्तीय उपकरणमा लगानी गरेमा त्यस्तो बैङ्क वा वित्तीय संस्थाले बैङ्क वा वित्तीय संस्था सम्बन्धी प्रचलित कानुन बमोजिम निर्दिष्ट क्षेत्रगत कर्जामा लगानी गरेको मानिनेछ । कोषले जारी गर्ने ऋणपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
यस्तै दफा २९ मा रहेको लगानीकर्तालाई छुट, सुविधा वा सहुलियत दिन सकिने व्यवस्था समेत समितिबाट पास भएको छ । सो दफामा नेपाल सरकारले कोषले जारी गरेका विभिन्न वित्तीय उपकरणमा लगानी गर्ने व्यक्तिगत तथा संस्थागत लगानीकर्ता वा सङ्गठित संस्थालाई प्रचलित कानुन बमोजिम कर छुट तथा अन्य सहुलियत प्रदान गर्न सक्ने उल्लेख छ ।
वैकल्पिक विकास वित्त सङ्कलन गर्न विदेशी पुँजी बजारमा जारी गर्ने वित्तीय उपकरण वा हरित क्षेत्रको आयोजनाको लागि कोषले जारी गर्ने वित्तीय उपकरणमा नेपाल सरकारले विशेष छुट र सुविधा दिन सक्ने समेत व्यवस्था गरिएको छ ।
प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि ऐन बमोजिम कोषले कुनै आयोजनामा लगानी गर्दा लगानी सुरक्षण बापत लिएको धितोको रजिस्ट्रेसन पारित गर्नुपर्ने सम्झौता, करार वा धितोपत्र बापत लाग्ने दस्तुरमा छुट दिन सकिने व्यवस्था सो दफामा गरिएको छ ।
समितिको दफावार छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै राजश्व सचिव दिनेश घिमिरेले सेयर होल्डर भनेकै सञ्चालक हुन् भन्ने हिसाबले वैकल्पिक वित्त कोष बनेको बताए। उनका अनुसार कोषमा नेपाल सरकारको प्रतिनिधित्व अधिकतम छ । त्यो मानसिकताबाट कोषको कानुनहरू बनाइएका हुन् ।
सचिव घिमिरेले भने, ‘वैकल्पिक वित्त कोष सेयर होल्डर नै सर्वपरी हो । शेयर होल्डर नै भनेकै सञ्चालक हुन् भन्ने हिसाबले बनेको छ । कोषमा नेपाल सरकारको प्रतिनिधित्व अधिकतम छ । त्यो मानसिकताबाट कोषको कानुन र कोष सुरुदेखि डिजाइन भएको छ । यसमा अन्तर्राष्ट्रिय अभ्यासहरू यो कम्पनी मोडलमै सञ्चालित छ । भारतमा यस्तो कोष कम्पनी मोडलमै छ ।’
अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक वित्त कोषलाई नीतिगत मार्गदर्शन, सहजीकरण गर्न अर्थमन्त्रीको नेतृत्वमा ५ सदस्यीय समितिको परिकल्पना गरिएको बताए । उनकाअनुसार यसले नीतिगत मार्गदर्शनका साथै सहजीकरण गर्नेछ ।
मन्त्री पौडेलले भने, ‘वैकल्पिक वित्त कोषलाई नीतिगत मार्गदर्शन, सहजीकरण र निर्देशन दिन सक्ने गरी अर्थमन्त्रीको नेतृत्वमा ५ सदस्यीय मेकानिजमको व्यवस्था गरेका छौँ । नीतिगत मार्गदर्शन, सहजीकरण र निर्देशन पनि दिनेछ ।’
दफावार छलफलका पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कम्पनी मोडलमा सरकारले हस्तक्षेप गर्न नखोजेको भए पनि सचिव नै निर्देशक समितिमा रहँदा सरकारको हस्तक्षेप हुनसक्ने बताउनु भयो । यद्यपि लगानीकर्तालाई सरकारले ग्यारेन्टी दिनुपर्ने भएकाले सरकारको रोल महत्त्वपूर्ण हुने उहाँले बताउनु भयो ।
पूर्व अर्थमन्त्री महतले भने, ‘कोषलाई कम्पनी मोडलमा सरकारले धेरै सरकारले हस्तक्षेप गर्न नखोज्ने भने पनि सचिव नै अध्यक्ष छ । सचिव त सरकार कै अंग हो । सरकारको भूमिका रहने भयो । जमानत सोभरेन ग्यारेन्टी सबैभन्दा महत्त्वपूर्ण छ, यसमा । किनभने हामीले निजी, लगानीकर्ताको प्रस्तावलाई अब अन्तर्राष्ट्रिय संस्थाले पनि अरू प्राइभेट लगानीकर्ताले सरकारले ग्यारेन्टी दिन्छ की दिँदैन भनेर ग्यारेन्टी दियो भने हामी लगानी गर्छौँ भन्ने भए । सरकारले ग्यारेन्टी दिनुपर्ने भएकाले सरकारको रोल महत्त्वपूर्ण हुन्छ ।’
दफावार छलफलमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो वैकल्पिक वित्त कोषलाई कार्यान्वयन योग्न बनाउन जरुरी रहेको बताए । उनकाअनुसार अन्य कोषहरू अहिले रकम जम्मा गरेर बसिरहेका छन् । अब बन्ने कोषहरू त्यस्तो हुनु हुँदैन ।
पूर्व अर्थमन्त्री कार्कीले भने, ‘यो वैकल्पिक वित्त कोषलाई कार्यान्वयन योग्न बनाउनुपर्छ । हामीले बनाएका अन्य कोषहरू अहिले रकम जम्मा गरेर बसिरहेका छन्, त्यो कार्यान्वयन नहुने र केही व्यक्तिका लागि रोजगारीको स्थल मात्रै बन्ने गरेका छन्, यो संस्थालाई प्रभावकारी बनाउन अर्थमन्त्रीले जुन महत्त्व दिनुभएको छ, यो महत्वलाई पनि हामीले ध्यानमा राख्नुपर्छ ।’
समितिको बैठकले वैकल्पिक वित्त सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकेको छ । समिति सभापति सन्तोष चालिसेले आगामी बैठकमा संशोधित विधेयकको मस्यौदा पेस गर्न समिति सचिवलाई निर्देशन दिए । मस्यौदामाथि छलफल गर्न आगामी अर्थ समिति बैठक अब ४ गते बुधवार बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण