पुलहाश्रममा धार्मिक पर्यटन पूर्वाधार थपिँदै: रावण पार्क निर्माण अन्तिम चरणमा
सारांश
- म्याग्दीको पुलस्त्य पुलहाश्रम क्षेत्रमा धार्मिक पर्यटन पूर्वाधार थपिएको छ, जसमा प्रतीक्षालय, प्रवेशद्वार, पदमार्ग निर्माण भएका छन्।
- रावण पार्क निर्माण अन्तिम चरणमा पुगेको छ, जसले धार्मिक पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ, र राम र सीताको मूर्ति पनि राखिनेछ।
- सडक स्तरोन्नति र प्रचारप्रसारमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको छ, जहाँ धौलागिरि लगायतका हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ।
म्याग्दी । ऋषिहरूले तपस्या गरेको पवित्र तीर्थस्थलको रूपमा परिचित म्याग्दीको पुलस्त्य पुलहाश्रम क्षेत्रमा धार्मिक पर्यटन पूर्वाधार थपिँदै गएको छ । बेनी नगरपालिका–५ पछैमा अवस्थित पुलहाश्रममा रहेको मन्दिर परिसरमा प्रतीक्षालय, प्रवेशद्वार, पदमार्ग, घेरावार लगायतका पूर्वाधार निर्माण भएका छन् ।
पौराणिक ऋषि पुलत्स्य र पुलह ऋषिले तपस्या गरेको पवित्र तपो भूमि भएकाले यस क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि पर्यटन पूर्वाधार निर्माणलाई जोड दिइएको छ । श्रीमद्भागवत महापुराणको पञ्चमस्कन्ध आठौँ अध्यायमा यस क्षेत्रमा पुलस्त्य र पुलह ऋषिले तपस्या गरेको उल्लेख छ ।
पछैमा रहेको हवनकुण्डमा हवन गरेर शेष रहेको चरु अझै पाइने भएकाले पुलस्त्य र पुलह ऋषिले पहिलो पटक होम गरेको ऐतिहासिक तपो भूमिको रूपमा यस क्षेत्रको महत्त्व रहेको पण्डित भीमनाथ पराजुलीले बताए । पुलहाश्रमसँगै यस क्षेत्रमा अन्य ओझेलमा परेका र पत्ता लगाउन नसकिएका थुप्रै तीर्थस्थल रहेकाले यसको अन्वेषण गरी महत्त्व र महिमालाई बाहिर ल्याउनुपर्ने उनको भनाइ रहेको छ ।
पछैमा रहेको हवन कुण्डमा रहेको चरुलाई हावाले नष्ट नगरोस् भन्ने उद्देश्यले ऋषिहरूले विशाल शिलाले त्यसलाई सुरक्षित गरेको किम्बदन्ती रहेको पुलस्त्य पुलहाश्रम क्षेत्र विकास समितिका उपाध्यक्ष तेजप्रकाश बानियाँले बताए । उनका अनुसार धार्मिक, ऐतिहासिक महत्त्व बोकेको र प्राकृतिक रूपमा मनोरम ठाउँ भएकाले यस क्षेत्रमा पूर्वाधार निर्माण र प्रचार प्रसारमार्फत पर्यटन विकासमा जोड दिइएको छ । ऐतिहासिक महत्त्व बोकेको पुलहाश्रम क्षेत्रको धार्मिक पर्यटन विकासका लागि पूर्वाधार निर्माणले तीव्रता पाएको छ । पछिल्लो पटक पछैमा मन्दिर पुननिर्माण पश्चात प्रवेशद्वार, मौलिक पदमार्ग, घेरावार, प्रतिक्षालयलगायत भौतिक संरचना निर्माण गरिएको छ ।
समुन्द्री सतहबाट एक हजार सात सय मिटरको उचाइमा अवस्थित यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न नेपालमै पहिलो ‘रावण पार्क’ निर्माण गरिएको छ । पुलहाश्रममा तपस्या गरेका पुलस्त्य ऋषिका नाती रावणको जन्म यसै ठाउँमा भएको किम्बदन्तीको आधारमा बेनी नगरपालिकाले रावणको मूर्ति राखेर पार्क निर्माण गरेको हो । चार रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माण र दुवो रोपेर संरचना तयार गरिएको छ भने ढलोट धातुको २१ फिट अग्लो रावणको मूर्तिमा १० वटा टाउको जोड्ने र मूर्तिमा जनै राख्ने लगायतका काम बाँकी रहेको छ ।
रावणको नाभी गाढेको ढुङ्गा, रावण खेलेको मैदान लगायतका किम्बदन्तीको आधारमा विसं २०७८ असोज १७ गते ठेक्का सम्झौता गरी सुरु भएको रावण पार्क निर्माण योजना ठेकेदारको ढिलासुस्ती र अदालतमा मुद्दा परेर अलपत्र बनेको अवस्थामा नगरपालिकाको पहलमा योजनालाई अघि बढाएर अन्तिम चरणमा पुगेको नगरप्रमुख सुरत केसीले बताए ।
‘अघिल्लो कार्यकालको कार्यपालिकाले अघि बढाएको रावण पार्क बनाउने योजना अलपत्र परेको थियो, हामीले निर्माण कम्पनीलाई ताकेता गरेर योजनालाई अघि बढाएका थियौँ, अहिले पार्कमा रावणको मूर्ति राख्ने र पूर्वाधार बनाउने काम अन्तिम चरणमा पुगेको छ”, केसीले भने ।
प्राकृतिक दृश्यावलोकन स्थलको रूपमा रहेको पुलहाश्रममा निर्माण भएको रावण पार्कले नेपालका साथै दक्षिण भारतीय र श्रीलङ्काका धार्मिक पर्यटकलाई यस क्षेत्रमा भित्र्याउन भूमिका खेल्ने प्रमुख केसीको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारी रहने गरी रु एक करोड ७६ लाख ७७ हजार पाँच सय ६३ मा ठेक्का सम्झौता भएको रावण पार्क निर्माण योजनामा नगरपालिकाको तर्फबाट हुनुपर्ने भुक्तानी भए पनि मन्त्रालयको तर्फबाट हुनुपर्ने लागत साझेदारीको रकम भुक्तानी हुन नसकेको नगरपालिकाले जनाएको छ ।
पार्क निर्माणसम्बन्धी अदालतमा परेको मुद्दामा पार्कमा रावणसँगै राम र सीताको मूर्ति राख्न निर्देशनात्मक आदेश भएकाले नगरपालिकाले रावण पार्कको योजना सम्पन्न भएपछि राम र सिताको मुर्तीसमेत पार्कमा राख्ने जनाएको छ ।
सदरमुकाम बेनीदेखि पुलाचौरसम्मको सडक कालोपत्रे भइरहेको र पुलाचौरको चनौटेदेखि पुलहाश्रम सम्मको सडकलाई स्तरोन्नति गरी पर्यटकको आगमनलाई सहज बनाउने पहल थालिएको बेनी–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताए । प्राकृतिक रूपमा मनोरम रहेको, धार्मिक र पौराणिक महत्त्व बोकेको यस क्षेत्रको महत्त्व, महिमा र सुन्दरताको प्रचार प्रसार गर्न सकेमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
पुलहाश्रम क्षेत्रबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरीलगायत मनोरम हिमश्रृखलाका साथै चर्चित धार्मिकस्थल पञ्चकोट, ज्यामरुकोट, बेनी बजारसँगै कालीगण्डकी नदी र आसपासका दर्जनौँ गाउँ बस्तीहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । सदरमुकाम बेनीदेखि करिब दुई घण्टाको पैदल यात्रा तथा ३० मिनेटको सवारीसाधनको यात्रामा पुहलाश्रम सजिलै पुग्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण