बैंकिङ क्षेत्रको नाफा वृद्धि : अर्थतन्त्र सुधारको प्रभाव कि राष्ट्र बैंकको सहुलियत ?
सारांश
- आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूको नाफा ४३.६८ प्रतिशतले वृद्धि भयो।
- बैंकहरूको नाफा वृद्धिमा अर्थतन्त्रको सुधार, नीतिगत लचकता, ब्याजदरमा गिरावट र पुँजी बजारको गतिशीलताले योगदान पुर्यायो।
- वितरणयोग्य नाफाको अवस्था र बैंकहरूबीचको भिन्नता, निष्क्रिय कर्जा, र आगामी दिनमा बैंकिङ क्षेत्रको सम्भावनाबारे विश्लेषण गरियो।
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपालका वाणिज्य बैंकहरूले ७१ अर्ब १८ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरे । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.६८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक बैंकहरूले तिनै बैंकहरूले ४९ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
त्यस्तै, समीक्षा वर्षमा राष्ट्रियस्तरका विकास बैंकले ५ अर्ब ६० करोड ७७ लाख रुपैयाँ बराबरको नाफा कमाए । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ४ अर्ब ५९ करोड ६२ लाख रुपैयाँ रहेको थियो । यो झण्डै २२.०१ प्रतिशत बराबरको वृद्धि हो ।
विगतका वर्षमा मर्जर तथा एक्विजिसनको प्रभावले केही बैंकले पफर्मेन्सविना नै नाफा बढेको देखिने अवस्था थियो । ०८१/८२ मा दुई फाइनान्स कम्पनी एकापसमा मर्ज हुनुबाहेक अन्य कुनै परिवर्तन भएका छैनन् । त्यसैले अहिले देखिएको नाफाको आकार बैंकहरूको कार्यसम्पादनमा आधारित रहेको मान्न सकिन्छ ।
यद्यपि बैंकको रिपोर्टिङ सिस्टमका कारण अहिले देखिएको नाफाको ‘फिगर’ आम बुझाइको नाफाभन्दा फरक भने छ । अहिले बैंक तथा वित्तीय संस्थाले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीअनुसार विवरण प्रकाशन गर्दै आएका छन् । एक्युरल बेसिसमा रिपोर्टिङ हुने भएकोले यो प्रणालीअनुसार पाकेको ब्याजजति सबैलाई आम्दानी मानिन्छ । पाउनुपर्ने तर उठ्न नसकेको रकमसमेत आम्दानीमा जोड्दा नाफाको आकार बढेको देखिन्छ । नियामकीय समायोजनमा मात्रै त्यो रकम घटाइन्छ, यसले गर्दा बैंक तथा वित्तीय संस्थाले नाफा धेरै देखिन्छ, तर यसअनुसार लाभांश बाँड्न पाउँदैनन् । त्यसैले यो आकारलाई आम रूपमा अविश्वसनीयसमेत मान्ने गरिन्छ ।
त्यसो भए बैंकहरूको वितरणयोग्य नाफा कस्तो छ त, यो अवस्थाबारे चर्चा गरौँ ।
२०८१/०८२ मा समग्र बैंकहरूको वितरणयोग्य जम्मा नाफा २१ अर्ब ६७ करोड ३१ लाख बराबर देखिन्छ । यो नाफा गत आर्थिक वर्षमा १३ अर्ब ६४ करोड रुपैयाँ नकारात्मक थियो । लाभांश क्षमता सकारात्मक भएका बैंकले ४९ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ बराबरको नाफा वितरण गर्न सक्ने देखिन्छ । गत वर्ष बैंकको यस्तो वितरणयोग्य रकम १६ अर्ब २८ करोड थियो ।
यो वर्ष २० वाणिज्य बैंकमध्ये १६ वटाको वितरणयोग्य नाफा सकारात्मक छ । एनआईसी एसिया, कुमारी, नेपाल बैंक र हिमालयन बैंकको वितरणयोग्य नाफा नकारात्मक रहेको छ । बाँकीमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सिटिजन्स बैंक र माछापुच्छ«े बैंकले एकल अंकमा तथा बाँकी बैंकले दोहोरो अंकमा लाभांश दिने क्षमता राख्छन् । एभरेष्ट बैंकले सबैभन्दा धेरै ३८.२७ प्रतिशत लाभांश दिनसक्ने क्षमता देखिन्छ ।
त्यस्तै, राष्ट्रियस्तरका विकास बैंकतर्फ यो वर्ष आठमध्ये सात बैंकको वितरणयोग्य नाफा सकारात्मक छ । ज्योति विकास बैंकको लाभांश क्षमता मात्रै यो वर्ष नकारात्मक छ । बाँकीमध्ये लुम्बिनी विकास बैंकले एकल र बाँकीले दोहोरो अंकको लाभांश दिने क्षमता देखिन्छ । सबैभन्दा धेरै लाभांश क्षमता मुक्तिनाथ विकास बैंकको (२०.७५ प्रतिशत) रहेको देखिन्छ ।
बैंकहरूको वित्तीय विवरणमा देखिएका यी तथ्यले समग्र बैंकिङ क्षेत्र सकारात्मक दिशातर्फ गएको देखाउँछ । तर यस्तो सुधार शंकारहित भने छैन । नाफा वृद्धिका बाबजुद यो वर्ष बैंकहरूको निष्क्रिय कर्जा बढ्दै गएको छ, फलस्वरुप बैंकहरूले इम्पेरिमेन्ट चार्जमा छुट्याउनुपर्ने रकम थपिँदै गएको छ । बैंकिङ क्षेत्रमा अधिक तरलताको अवस्था छ, तर व्यवसाय बढ्न सकेको छैन । कतिपय बैंकको त खुद ब्याज आम्दानी नै घटेको अवस्था समेत देखिन्छ । यी समग्र अवस्थाले बैंकिङ क्षेत्रमा देखिएको यो नाफा दिगो होइन कि भन्ने आशंका गर्ने ठाउँसमेत देखिन्छ ।
यहाँ हामी तीनै बैंकिङ क्षेत्रको समग्र अवस्था र यसले देखाएका संकेतबारे विश्लेषण गर्ने प्रयास गर्नेछौँ । विशेषगरी हामी तीन विषयमा केन्द्रित हुनेछ ।
१. अहिले बैंकिङ क्षेत्रमा देखिएको सुधारको कारण के हो ? यो कति दिगो छ ?
२. बैंक तथा वित्तीय संस्थाको अवस्थामा किन एकरुपता छैन, कोही बलिया हुँदा केही किन कमजोर हुँदै गएका छन् ?
३. बैंकिङ क्षेत्रको अबको अवस्था कुन बाटोमा जाला, यसका आधार के के हुन् ?
- बैंकिङ क्षेत्रको सुधारको के के छन् कारण ?
बैंकिङ क्षेत्रसम्बन्धी विज्ञ तथा पूर्वबैंकर अनलराज भट्टराई अहिले बैंकिङ क्षेत्रको अवस्थामा सुधार आउनुको मुख्यतया चार वटा कारण औंल्याउँछन् । अर्थतन्त्रमा देखिँदै गएको सुधार, नेपाल राष्ट्र बैंकले लिएको नीतिगत लचकता, ब्याजदरमा आएको गिरावट तथा पुँजी बजारमा आएको गतिशीलताले अहिलेको वृद्धि सम्भव रहेको उनको भनाइ छ ।
कोभिड–१९ को महामारी र त्यसपछिको विदेशी विनिमय संकटका क्रममा सरकारले लिएको आयात कडाइ एवं सहकारी तथा घरजग्गा क्षेत्रमा देखिएको सुस्तताका कारण विगत केही समयदेखि नेपाली अर्थतन्त्र मन्दीको अवस्थाबाट गुज्रिँदै आएको थियो । तर, विनिमय सञ्चितिमा देखिएको सुधारसँगै सरकारले आयातमा गरिएको कडाइ खुला गर्यो, आर्थिक सूचकमा देखिएका सुधारले अर्थतन्त्रको अवस्था सुधार हुन थालेको थियो ।
समीक्षा वर्ष (आव २०८१/८२) मा आयात बढ्दै जाँदा राजस्वको आकारमा समेत सुधार भयो । आन्तरिक अर्थतन्त्रसमेत चलायमान बन्दा देशको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । समीक्षा वर्षमा सबै क्षेत्रको वृद्धिदर सकारात्मक हुने प्रक्षेपणले समेत बजारको सुधारलाई पुष्टि गर्छ । अर्थतन्त्रको सुधारको सकारात्मक असर अहिलेको बैंकिङ क्षेत्रमा परेको भट्टराई बताउँछन् ।
नेपाल राष्ट्र बैंकले पनि पछिल्लो समय बजारमैत्री नीतिहरू लिँदै आएको छ । बैंक तथा वित्तीय संस्थाले ऋण लगानीमा गर्नुपर्ने प्रोभिजनिङ घटाउने, निर्देशित क्षेत्रको कर्जा प्रवाहमा लचकता कायम गर्ने तथा घरजग्गा तथा सेयर बजारसम्बन्धी नीतिमा उदारता देखाउने तथा साना तथा मझौला उद्योगमा गएका तर उठ्न नसकेको कर्जाको लागि समेत पुनर्संरचना तथा पुनर्तालिकीकरणसम्बन्धी नीति योबिचमा राष्ट्र बैंकले लिएको देखिन्छ । यी नियामकीय सहुलियतका कारणसमेत अहिलेको अवस्थामा सुधार देखिएको भट्टराई बताउँछन्, यद्यपि नियामकीय सहुलियतको प्रभाव २० प्रतिशत हाराहारीमा मात्रै रहेको उनको विश्लेषण छ ।
योबिच सेयर बजारमा समेत उल्लेख्य सुधारको अवस्था देखियो । २४ सय अंकको हाराहारीमा गुज्रिरहेको बजार तीन हजारसम्मको विन्दुमा पुग्यो । बजारको कारोबार एकै समयमा २० अर्ब रुपैयाँभन्दा धेरै पुग्यो । बजारमा आएको सुधारले बजारको सम्पत्तिमा वृद्धि मात्रै गरेन, बजारमा भएको कारोबारले बजार व्यवस्थापनमा सहजतासमेत प्रदान गर्यो । खासगरी बैंक तथा वित्तीय संस्था वा अन्य उधारो व्यवस्थापन गर्न पुँजी बजारको सुधारले काम गरेको भट्टराईको भनाइ छ । बैंकको अवस्थामा सुधार आउनुको यो एउटा महत्त्वपूर्ण कारण रहेको उनको तर्क छ ।
त्यसो त बजारको ब्याजदरमा आएको कमीले पनि बैंकहरूको नाफा बढ्न सहयोग गरेको छ । कुनै समयमा औसत १३/१४ प्रतिशत रहेको बैंकको ऋणको ब्याजदर अहिले ७ प्रतिशत हाराहारीमा झरेको छ । यो अवस्थाले गर्दा एकातिर ऋणीको ऋण र ब्याज तिर्ने क्षमतामा सुधार आएको छ भने अर्कोतिर ऋणीको प्रेसर नहुँदा नाफाको मार्जिनमा समेत केही वृद्धि हुनसक्ने अवस्था देखिन्छ । अहिलेको सुधारलाई यी सबै कारण नतिजाको रूपमा लिन सकिने उनको तर्क छ ।
बैंकको नाफा वृद्धिका सम्बन्धमा राष्ट्र बैंकको धारणा भने अलि फरक छ । आर्थिक वर्ष ०८१/८२ मा बैंकको नाफा ४३ प्रतिशत वृद्धि भएको भनिए पनि वास्तविक वृद्धि १२ प्रतिशत मात्रै रहेको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल बताउँछन् । यो वृद्धिलाई राष्ट्र बैंकले स्वाभाविक रूपमा लिएको र यो वृद्धि बैंकिङ स्वास्थ्यको लागि अपरिहार्य रहेको समेत उनको भनाइ छ ।
- कति दिगो छ नाफाको यो सुधार ?
बैंकिङ क्षेत्रको यो सुधारबिच दिगोपनाबारे शंका गर्ने केही ठाउँ नभएका भने होइनन् । बैंकका रिपोर्टका अझै पनि यस्ता समस्या छन्, जसले बैंकिङ क्षेत्रको जोखिमको अवस्थालार्ई औंल्याइरहेको देखिन्छ ।
खासगरी, बढ्दो निष्क्रिय कर्जा तथा इम्पेरिमेन्ट चार्जमा रकम थपिँदै जानुले अहिलेको सुधारको दिगोपनामाथि शंका गर्ने ठाउँ देखिन्छ । इम्पेरिमेन्ट चार्ज भनेको यस्तो रकम हो, जुन बैंकले कर्जाको जोखिमबापत प्रोभिजनिङ गर्छन् । जब यो जोखिम कम हुन्छ वा निष्क्रिय वा खराब कर्जा घट्दै जान्छ, यो रकम फिर्ता (रिभर्सल) हुन्छ । यो वर्ष कुनै पनि बैंकको रकम रिभर्सल भएको देखिँदैन, प्रोभिजनिङ रकम घटेको भने छ ।
त्यति मात्रै नभएर यो वर्ष बैंकको व्यवसाय विस्तारसमेत कमजोर रह्यो । सोही कारण कतिपय बैंकहरूको खुद ब्याज आम्दानी घटेको देखिन्छ । बढेका बैंकहरूको पनि यो दर धेरै उत्साहपूर्ण छैन । यो अवस्थामा वास्तविक व्यवसाय नै वृद्धि नभई नाफामा देखिएको वृद्धि दीर्घकालीन नहुने हो कि भन्ने चिन्ता पनि छ ।
यद्यपि बैंकिङ क्षेत्रको अवस्था अबका दिनमा सुधारको बाटोमा जानेमा बैंकिङ क्षेत्रका विज्ञ तथा बैंकर्सहरू सहमत देखिन्छन् । बैंकिङविज्ञ भट्टराई भने अहिलेको अवस्थाले दीर्घकालीन सुधारकै संकेत गर्ने बताउँछन् । ठुलो तरलताको निष्क्रिय रहेका कारण गत वर्ष बैंकहरूले उल्लेख्य रूपमा ब्याज आम्दानी बढाउन सकेनन् । वर्षको अन्तिममा मात्रै धेरै कर्जा प्रवाह हुनुले यो अवस्था देखिएको उनको भनाइ छ । यसले नयाँ चालु आर्थिक वर्षमा आम्दानी बढाउने उनको भनाइ छ ।
अबका दिनमा नयाँ व्यवसाय विस्तारको सम्भावना समेत बढ्दै गएको छ । यो वर्षको चाडबाडको सिजन अब सुरु हुँदैछ । वर्षालगत्तै निर्माण कार्यले पनि विस्तारै गति लिनेछ अर्थतन्त्रमा देखिएको सुधारसँगै यस्ता निर्माण तथा उपभोग समेत बढ्दै जाने भएकोले बैंकिङ कर्जाको माग बढ्नसक्ने भट्टराई बताउँछन् । भन्छन्, ‘अहिलेको बैंकिङ क्षेत्रमा जुन हिसाबले सुधार देखिँदै आएको छ । यो अवस्थालाई हेर्दा आगामी फागुन महिनासम्म अझै धेरै सुधार भइसकेको देख्न सकिन्छ । त्यसैले अबको बैंकिङ क्षेत्रको भविष्य राम्रो छ ।’
त्यसो त, बैंकिङ क्षेत्रमा व्यवसाय विस्तार भन्दा बढी सम्पत्तिको गुणस्तर महत्त्वपूर्ण मानिन्छ । नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय रूपमै यदि राम्रो क्षेत्रमा गएको छ भने यसलाई जोखिमरहित मानिन्छ । यही जोखिमलाई कम गर्न र यस्तो जोखिमका कारण निक्षेपकर्तालाई असर गर्न नदिन अन्तर्राष्ट्रिय रूपमै न्यूनतम पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ । अहिले बैंकको अवस्थाले निष्क्रिय कर्जाको थप जोखिम घट्दै गएकोले सम्पत्तिको गुणस्तर सुधार भएको संकेत देखिन्छ । रिकभरी बढ्दै जाँदा यसले आगामी दिनमा जोखिम घट्दै जाने र यसले बैंकिङ क्षेत्रलाई दीर्घकालीन सुधारको दिशामा लैजाने विज्ञहरूको टिप्पणी छ ।
डभेलपमेन्ट बैंकर्स एशोसिएसन अफ नेपाल (डिबान) का अध्यक्ष सुयोग श्रेष्ठ पनि बैंकिङ क्षेत्र आगामी दिनमा थप सुधारको अवस्थामा रहेको बताउँछन् । तर, यसमा उनको तर्क भने फरक छ । लामो समयसम्म ‘पर्ख र हेर’को अवस्थामा रहेका ऋणीले पछिल्लो समय ऋण तिर्न थालेका उनी बताउँछन् ।
‘घरजग्गाको भाउ सधैं बढिरहन्छ र त्यसैबाट कर्जा चुक्ता गरौँला भन्ने मानसिकताबाट उनीहरू बाहिर निस्केर यथार्थमा आउन थालेका छन्,’ उनी भन्छन्, ‘कर्जा तिर्नैपर्छ, ढिला गर्दा झन् ठुलो कानुनी र आर्थिक समस्यामा परिन्छ भन्ने महसुस ऋणीहरूले गर्न थालेका छन्, यसले निष्क्रिय कर्जाबाट हुने असुलीमा सकारात्मक प्रभाव परेको हो, जसले सोझै बैंकहरूको वितरणयोग्य नाफामा टेवा पुर्याउँछ ।’
- बैंकहरूबिच भिन्नताको कारण
त्यसो त अहिले बैंक तथा वित्तीय संस्थाको अवस्थाबिच नै एकरुपता छैन । बैंक तथा वित्तीय संस्थाको अवस्था बलियो र कमजोर त विगतदेखि नै हुँदै आएको हो । तर, यसको सुधारको दिशा सामान्यतया एउटै रहँदै आएको थियो ।
तर, यो वर्ष अवस्था फरक छ । केही बैंकको निष्क्रिय कर्जा घटेको छ, केहीको भने बढ्दै गएको छ । यही प्रभावले बैंकहरूको नाफा, प्रतिशेयर आम्दानीदेखि वितरणयोग्य नाफामा समेत फरकपन देखिएको छ । बैंकिङ क्षेत्रको मुख्य आम्दानी मानिने ब्याज आम्दानीमा समेत अहिले भिन्नता देखिन्छ ।
बैंकहरूबिचको यो फरकपन आउनुको कारणबारे भने विज्ञ र बैंकर्सका धारणा फरक–फरक छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलका अनुसार यो फरकका कारण बैंकहरूको कर्जा नीति र व्यवस्थापन प्रमुख हो । ‘जुन बैंकले कर्जा प्रवाह गर्दा ऋणीको गहन विश्लेषण गरेको छ, धितोलाई मात्र नभई नगद प्रवाहलाई आधार बनाएको छ, सही क्षेत्रमा लगानी गरेको छ र कर्जाको निरन्तर अनुगमन गरेको छ, त्यस्ता बैंकहरूले बाह्य झट्कालाई पनि सहन सकेका छन्,’ पौडेल भन्छन्, ‘अर्कोतिर, विगतमा आक्रामक रूपमा कर्जा विस्तार गर्ने, उच्च जोखिम मोल्ने र उचित विश्लेषणविना लगानी गर्ने बैंकहरू अहिले समस्यामा परेका छन् ।’
बैंकको क्षेत्रगत लगानीले यसमा पनि ठुलो भूमिका खेलेको पौडेलको भनाइ छ । निर्माण, थोक तथा खुद्रा व्यापारजस्ता समस्यामा परेका क्षेत्रमा लगानी धेरै भएका बैंकमा अहिले निष्क्रिय कर्जाको चाप बढेको उनी बताउँछन् ।
बैंकिङविज्ञ भट्टराईको भने बैंकको निष्क्रिय कर्जाको अवस्थालाई कोभिड–१९ महामारीको समयमा बैंकहरूले गरेको कर्जा प्रवाहको अवस्थासँग तुलना गर्छन् । त्यो समयमा आक्रामक रूपमा कर्जा विस्तार गरेका वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा अहिले उच्च रहेको र त्यतिवेला कर्जा विस्तारमा कसिलो देखिएका बैंकहरूको अवस्था अहिले राम्रो देखिएको उनको विश्लेषण छ ।
समीक्षा वर्षमा व्यवसाय विस्तारमा कुनै पनि बैंक आक्रामक देखिएका छैनन् । केही बैंकको भने कर्जा विस्तार उल्टै घटेको छ । खासगरी विदेशी स्वामित्वका बैंकहरूले वर्ष कर्जा विस्तार घटाएका देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण