बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बैंक

वाणिज्य बैंकहरूको नाफा ४३.६८ प्रतिशत वृद्धि

२० मध्ये १६ वटा बैंकको नाफा बढ्यो, चारको घट्यो
शुक्रबार, ३० साउन २०८२, १० : ४८
शुक्रबार, ३० साउन २०८२

सारांश

  • आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको खुद नाफा ४३.६८ प्रतिशतले बढेको छ।
  • नबिल बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ भने नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक र सिटिजन्स बैंकको नाफा घटेको छ।
  • प्रभु बैंकले नाफामा उल्लेख्य सुधार गर्दै धेरै नाफा गर्ने बैंकको चौथो स्थानमा उक्लिएको छ।

काठमाडौँ। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्ममा नेपालका वाणिज्य बैंकहरूले आफ्नो खुद नाफामा उल्लेख्य वृद्धि गरेका छन्। प्रकाशित तथ्याङ्क अनुसार, बैंकहरूको समग्र खुद नाफा गत वर्षको तुलनामा ४३.६८ प्रतिशतले बढेर ७१ अर्ब १८ करोड ४४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले ४९ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।

यो वर्ष २० मध्ये १६ वटा बैंकको नाफा बढेको छ । बाँकी चार वटा बैंकको नाफा भने घटेको देखिन्छ । यसरी नाफा घट्ने बैंकहरुमा नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक र सिटिजन्स बैंक रहेका छन् । 

विगत केही वर्षमा नेपालको अर्थतन्त्रमा मन्दीमा रहेको चर्चा हुँदै आएको थियो । खासगरी आयात एवं राजश्वमा आएको गिरावटले व्यापार, रोजगारीदेखि सार्वजनिक वित्तमा समेत असर गर्दै आएको थियो । तर, सरकारले भने अर्थतन्त्रमा क्रमिक रूपमा सुधार आएको दाबी गर्दै आएको थियो । सुधारको यो सङ्केत यस पटक बैंकको वित्तीय विवरण देखिएको छ ।

  • यस्तो छ बैंकहरूको नाफाको अवस्था र पोजिसन

खुद नाफाको अंकको आधारमा नबिल बैंकले शीर्ष स्थान कायमै राखेको छ। बैंकले यस वर्ष ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको ६ अर्ब १९ करोडको तुलनामा १५.०१ प्रतिशतले बढी हो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ नाफाका साथ दोस्रो स्थानमा छ । बैंकले आफ्नो नाफामा यो वर्ष ६४.४४ प्रतिशत वृद्धि गरेको छ। गत वर्ष ४ अर्ब १० करोड ८८ लाख रुपैयाँ बराबरको नाफा कमाउँदै बैंक तेस्रो स्थानमा रहेको थियो । 

त्यस्तै, ग्लोबल आईएमई बैंक ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफाका साथ तेस्रो स्थानमा रहेको छ । यो वर्षको नाफा गत वर्षको तुलनामा १.१० प्रतिशत बढी हो । गत वर्ष बैंकको नाफा ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ सहित दोस्रो स्थानमा थियो। 

प्रभु बैंकले यस पटक नाफामा चमत्कारिक सुधार गर्दै धेरै नाफा गर्ने बैंकको चौथो स्थानमा उक्लिएको छ । गत वर्ष ५१ करोड ८ लाख रुपैयाँ मात्र नाफा कमाएको बैंकले यस वर्ष ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ। यो ९६५.४१ प्रतिशत बराबरको हो । गत वर्ष प्रभु बैंक नाफाको आधारमा १८ स्थानमा थियो । 

एभरेस्ट बैंकको नाफा ३२.८१ प्रतिशत वृद्धि गर्दै ४ अर्ब ९१ करोड ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष बैंकको नाफा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ थियो। बैंकले यो वर्ष आफ्नो नाफामा खुद ३२.८१ प्रतिशत वृद्धि गर्न सफल भएको हो । नाफाको आधारमा बैंक एक स्थान तल झर्दै पाँचौं स्थानमा कायम भएको छ ।  

लक्ष्मी सनराइज बैंकले ४०.९७ प्रतिशतको आकर्षक वृद्धि सहित ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९२ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो। गत वर्ष आठौँ स्थानमा रहेको लक्ष्मी सनराइज यो वर्ष छैटौँ स्थानमा उक्लिएको छ । 

प्राइम कमर्सियल बैंक ४ अर्ब २ करोड ४४ लाख रुपैयाँ नाफासहित सातौँ नम्बरमा उक्लिएको छ । गत वर्ष बैंकको नाफा ३ अर्ब ५० करोड ७८ लाख रुपैयाँ रहेको थियो। यो वर्ष बैंकको नाफा १४.७२ प्रतिशतको वृद्धि भएको हो । नाफा वृद्धि भए पनि नाफाको आधारमा बैंक २ स्थान तल झर्दै सातौँ नम्बरमा पुगेको छ । 

अधिकांश सरकारी स्वामित्वको कृषि विकास बैंकले पनि आफ्नो नाफामा ४८‍.८८ प्रतिशतको वृद्धि गरेको छ । बैंकले यस वर्ष ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । नाफाको यो आकार गत वर्ष २ अर्ब ५७ करोड १५ लाख रुपैयाँ थियो। गत वर्षभन्दा बैंकले आफ्नो एक स्थान सुधार गर्दै आठौँ स्थानमा छ । 

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नाफामा ४९.५३ प्रतिशतको बलियो वृद्धि हासिल गरेको छ। बैंकले यस वर्ष ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष बैंकको नाफा २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ थियो। बैंकले पनि आफ्नो स्थानलाई एक तह सुधार गर्दै दशौंबाट नवौं स्थानमा उक्लिएको देखिन्छ । 

नेपाल बैंकले नाफामा सुधार गरेको छ। गत वर्ष जम्मा २ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ। योसहित बैंक धेरै नाफा कमाउने दशौं बैंक बनेको छ । गत वर्ष बैंक यो सूचीको १९ औँ नम्बरमा थियो । 

सिद्धार्थ बैंकले १०.२४ प्रतिशतको सामान्य वृद्धि सहित ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष बैंकको नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो । गत वर्ष सातौँ स्थानमा रहेको बैंक नाफामा आधारमा यो वर्ष भने ११ औँ स्थानमा झरेको छ । 

एनएमबि बैंकले ४६.२२ प्रतिशतको आकर्षक वृद्धि सहित ३ अर्ब २८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो। १२ स्थानमा रहेको बैंकले यो वर्ष पनि आफ्नो सोही पोजिसन कायम गरेको छ । 

coverphoto-1739690411_ec115b14c67d52a225b1 (1)

बहुराष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्डको नाफामा ७.५१ प्रतिशतको गिरावट आएको छ। बैंकले यस वर्ष ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्ष ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ थियो। नाफा घटेसँगै बैंक सात स्थान तल झरेर १३ स्थानमा पुगेको छ । 

सानिमा बैंकले ७.२५ प्रतिशतको सामान्य वृद्धि सहित २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष बैंकको नाफा २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ थियो। गत वर्ष बैंक नाफाको आधारमा ११ औँ स्थानमा थियो, अहिले १४ औँ स्थानमा पुगेको छ । 

कुमारी बैंकले यस वर्ष २ अर्ब ११ करोड ६० लाख रुपैयाँ कमाएको छ । गत वर्ष केवल ४६ लाख ८ हजार रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष नाफामा राम्रो सुधार गरेको देखिन्छ । गत वर्ष सबैभन्दा कम नाफा कमाउँदै २० औँ नम्बरमा रहेको बैंक यस पटक १५ औँ स्थानमा उक्लिएको छ । 

माछापुच्छ्रे बैंकले आफ्नो नाफा झण्डै दोब्बर पुर्‍याएको छ। बैंकले ९२.४५ प्रतिशतको उच्च वृद्धि सहित २ अर्ब १ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष बैंकको नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ थियो। दोब्बर नाफा वृद्धिका बाबजुद बैंकको स्थान भने सुधार भएको छैन, बैंक यो वर्ष पनि धेरै नाफा कमाउने बैंकको सूचीको १६ औँ नम्बरमा रहेको छ । 

नेपाल एसबीआई बैंकको नाफामा ९.८६ प्रतिशतले कमी आएको छ। बैंकले यस वर्ष १ अर्ब ८० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्ष १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ थियो। नाफा घट्दा बैंक १७ स्थानमा झरेको छ, गत वर्ष यस बैंक १३ औँ स्थानमा रहेको थियो । 

हिमालयन बैंकले आफ्नो नाफामा २२.१५ प्रतिशतको वृद्धि गर्दै १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष बैंकले १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो। गत वर्ष नाफाको आधारमा १५ औँ स्थानमा रहेको बैंक यो वर्ष १८ औँ स्थानमा झरेको छ । 

सिटिजन्स बैंक इन्टरनेशनलको नाफामा २.०८ प्रतिशतको सामान्य गिरावट देखिएको छ। बैंकले यस वर्ष १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्ष १ अर्ब ३२ करोड ७ लाख रुपैयाँ थियो। नाफा गिरावटसँगै बैंक पाँच स्थान तल झरेर १९ औँ स्थानमा पुगेको छ । 

एनआईसी एसिया बैंकको नाफामा सबैभन्दा ठुलो गिरावट आएको छ। गत वर्ष ७० करोड १४ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस वर्ष ७६.९७ प्रतिशतले घटेर १६ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। योसँगै बैंक नाफाको आधारमा सबैभन्दा कम कमाउने बैंक बनेको छ । गत वर्ष उक्त बैंक १७ औँ नम्बरमा रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप