‘बैंकहरूको नाफा वृद्धि स्वाभाविक छ, यो वर्ष थप सुधार हुन्छ’
सारांश
- बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरे, जसमा नाफा बढेको देखियो।
- राष्ट्र बैंकका अनुसार बैंकहरूको वित्तीय स्वास्थ्य राम्रो छ, तर नाफा वृद्धिको दर १२ प्रतिशत मात्रै छ।
- निष्क्रिय कर्जा बढे पनि प्रोभिजनका कारण बैंकहरूले सञ्चालन मुनाफा कायम राखेका छन्।
बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक सुस्तताको प्रभावबाट गुज्रिएको बैंकिङ क्षेत्रको पछिल्लो वित्तीय अवस्थाले केही सकारात्मक सङ्केत देखाएको छ । अधिकांश बैंकहरूको नाफा र वितरणयोग्य मुनाफामा सुधार देखिएको छ ।
तर, यसैसँगै निष्क्रिय कर्जाको चुनौती पनि कायमै छ । समग्रमा, बैंकिङ क्षेत्रको वर्तमान स्वास्थ्य, नाफा वृद्धिका कारणहरू, निष्क्रिय कर्जाको व्यवस्थापन, आगामी दिनका चुनौती र अवसरबारे बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको दृष्टिकोण के छ ? यिनै विषयमा केन्द्रित रहेर नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंशः
- बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण नगरिएको वित्तीय विवरण सार्वजनिक गरेका छन् । समग्रमा हेर्दा नाफा र वितरणयोग्य नाफा बढेको देखिन्छ । यो सुधारलाई राष्ट्र बैंकले कसरी विश्लेषण गरेको छ ?
बैंक तथा वित्तीय संस्थाहरू वित्तीय प्रणालीका सबैभन्दा महत्त्वपूर्ण स्टेकहोल्डर हुन् । वित्तीय प्रणाली स्वस्थ रहन वित्तीय संस्थाहरू स्वस्थ रहनु अनिवार्य हुन्छ । वित्तीय संस्था स्वस्थ रहनु भनेको उनीहरूले कति सेवा दिइरहेका छन्, सेवा दिन कति सक्षम छन्, उनीहरूको दीर्घकालीन स्थायित्व कस्तो छ, र उनीहरूले कति नाफा कमाउँछन् भन्ने कुरामा निर्भर रहन्छ । नाफा भनेको सेयरधनीलाई लाभांश दिनका लागि मात्र होइन, संस्था आफैँ सञ्चालनमा रहिरहन, भविष्यमा नयाँ प्रविधि र आविष्कारमा लगानी गर्न तथा आफ्नो स्वास्थ्य कायम राख्नका लागि पनि अत्यावश्यक हुन्छ ।
त्यसैले वित्तीय प्रणालीका संस्थाहरूले एउटा निश्चित स्तरको नाफा कमाउनु अपरिहार्य छ । तर, त्यो नाफा नेपाल राष्ट्र बैंकले तोकेका नीति, नियम र निर्देशनहरूको परिधिभित्र रहेर कमाउनुपर्ने हुन्छ । बैंकहरू तुलनात्मक रूपमा अत्यन्तै पारदर्शी संस्थाका रूपमा लिइन्छन् । कर प्रणालीले पनि वित्तीय संस्थालाई भनेर कुनै विशेष छुट दिएको छैन; उनीहरू देशका सबैभन्दा बढी कर तिर्ने संस्थाहरूमध्ये पर्छन् । यहाँका कर्मचारीहरूले पनि उच्च दरमा कर तिर्छन् र संस्थाले पनि ठुलो मात्रामा कर भुक्तानी गर्छन् ।
अहिले बैंक तथा वित्तीय संस्थाले जुन हिसाबको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् यो स्वभाविक र सकारात्मक नै छ र राष्ट्र बैंकका सबै नीति र निर्देशन परिपालना गरेरै भएको छ ।
- अहिलेको नाफाले बैंकको वित्तीय स्वास्थ्यको अवस्थाबारे कस्तो संकेत गर्छ ?
बैंक तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्य कायम गर्ने कुरामा राष्ट्र बैंकले विभिन्न नियमन तथा निर्देशन गर्ने र यस्ता निर्देशनको पालना भए नभएको नियमित रूपमा अनुगमन गर्ने काम गर्दै आएको छ । अनुगमनको क्रममा आवश्यक देखिए थप प्रोभिजनिङ गर्न निर्देशन दिँदै आएका समेत छौं । त्यसैले बैंकहरूको वित्तीय अवस्था समग्रमा राम्रो छ ।
कतिपय अवस्थामा हामीले खर्च लेख्नका लागि प्रोभिजन गर्न अनुमति दिएका कुराहरूलाई कर कानुनले खर्चका रूपमा स्वीकार नगर्ने अवस्था पनि छ । जस्तोः ५ प्रतिशतभन्दा बढी प्रोभिजन गर्नुपर्ने अवस्था भए पनि त्यसलाई करले खर्च मान्दैन । यस्तो जटिल अवस्थामा पनि बैंकहरूले जुन नाफा कमाइरहेका छन्, त्यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।
यद्यपि बैंकहरूको आम्दानी कुन हिसाबले बढेको छ हेर्नुपर्छ । अहिलेको अवस्थामा बैंकहरूले करिब ७१ अर्ब नाफाको फिगर देखिन्छ । यो अघिल्लो वर्षसँग तुलना गरेर हेर्दा ४३ प्रतिशत हाराहारीमा वृद्धि देखिन्छ । तर यो तुलना अघिल्लो वर्षको परिस्कृत वित्तीय विवरणसँगको हो । हामीले वास्तविक वृद्धि थाहा पाउन अघिल्लो वर्षको पनि अपरिस्कृत विवरणसँग नै गर्नुपर्छ । यो हिसाबले हेर्दा नाफाको वृद्धिदर १२ प्रतिशत हाराहारीमा मात्रै भएको छ ।
यसमा बैंकहरूको ब्याज आम्दानीभन्दा पनि गैर–ब्याज आम्दानीको भूमिका बढी देखिन्छ । यो वर्ष बैंकहरूको ब्या आम्दानी र गैरब्याज आम्दानी दुवै घटेको छ । खुद ब्याज आम्दानी पनि घटेकै अवस्था छ । यसको सट्टा विभिन्न सेवा शुल्क, डिजिटल बैंकिङबाट हुने आम्दानी, प्रतितपत्र तथा ग्यारेन्टी शुल्क, खराब कर्जा बिक्रीबाट प्राप्त आम्दानी जस्ता पक्षले नाफा बढाउन मद्दत गरेको छ ।
- बैंकहरूको नाफा र निष्क्रिय कर्जा अनुपात दुवै बढेको देखिन्छ, यो विरोधाभाषजस्तो पनि छ । यो अवस्थाको कारण के हो ?
तपाइँले भन्नुभएजस्तै निष्क्रिय कर्जाको आकार अघिल्लो वर्षको तुलनामा केही बढेको सत्य हो । गत वर्ष ४ प्रतिशतभन्दा तल रहेको निष्क्रिय कर्जाको औसत अनुपात यो वर्ष ५ प्रतिशतको हाराहारीमा पुगेको छ, जुन करिब एक प्रतिशतको वृद्धि हो ।
तर, यसलाई विरोधाभासपूर्ण भन्न मिल्दैन । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले निष्क्रिय कर्जाका लागि अनिवार्य रूपमा प्रोभिजन (सम्भावित नोक्सानी व्यवस्था) गर्नुपर्छ । त्यो प्रोभिजन खर्चमा देखाएर मात्रै खुद नाफा गणना हुन्छ । त्यसैले, निष्क्रिय कर्जा बढ्दा पनि नाफा देखिनुको अर्थ बैंकहरूले प्रोभिजन गरेर पनि सञ्चालन मुनाफा कायम राख्न सकेका छन् भन्ने हो ।
अर्कोतर्फ, हामीले निष्क्रिय कर्जाको अनुपातलाई मात्र हेरेर हुँदैन । बैंकहरूको पुँजीको आधार पनि बढेको छ । हामीले सम्पत्तिमा प्रतिफल (आरओए) र पुँजीमा प्रतिफल (आरओई) लाई हेर्ने हो भने विगतका वर्षहरूको तुलनामा घटेका छन् । केही वर्षअघि १२–१४ प्रतिशतसम्म पुगेको पुँजीमा प्रतिफल अहिले घटेर ८–९ प्रतिशतको हाराहारीमा आएको छ । यसले के देखाउँछ भने पुँजीको आकार बढेअनुसार प्रतिफल बढ्न सकेको छैन ।
त्यसैले, खुद नाफाको अङ्क बढ्दैमा समग्र अवस्था शतप्रतिशत सुध्रियो भन्न मिल्दैन । तर यो सुधारको सङ्केत भने पक्कै हो । निष्क्रिय कर्जा बढ्नु अर्थतन्त्रमा देखिएको सुस्तताको प्रतिविम्ब हो, जसलाई व्यवस्थापन गर्न बैंकहरूले प्रोभिजनमार्फत प्रयास गरिरहेका छन् ।
- यही आर्थिक परिवेशमा पनि केही बैंकहरूले निष्क्रिय कर्जा घटाएर आफ्नो अवस्था सुदृढ बनाइरहेका छन् भने केहीको सम्पत्तिको गुणस्तर खस्किएको देखिन्छ । एउटै नीति र वातावरणमा काम गर्दा पनि बैंक अवस्थामा धेरै फरक देखिनुको कारण के होला ?
यो अत्यन्तै महत्त्वपूर्ण प्रश्न हो । निष्क्रिय कर्जा बढ्नुमा मुख्यतया तीनवटा कारणहरू जिम्मेवार हुन्छन् । पहिलो, बैंकको आफ्नै कारण वा लापरवाही । दोस्रो, कर्जा लिने ऋणीको कारण । र तेस्रो, बाह्य वातावरणीय प्रभाव, जस्तै आर्थिक मन्दी ।
बाह्य वातावरणीय प्रभाव सबै बैंकका लागि लगभग समान हुन्छ । अर्थतन्त्रमा आएको सुस्तताले सबैलाई असर गर्छ । तर, बैंकहरूको कार्यसम्पादनमा भिन्नता देखिनुको मुख्य कारण पहिलो दुई वटा पक्षको व्यवस्थापन हो । जुन बैंकले कर्जा प्रवाह गर्दा ऋणीको गहन विश्लेषण गरेको छ, धितोलाई मात्र नभई नगद प्रवाहलाई आधार बनाएको छ, सही क्षेत्रमा लगानी गरेको छ, र कर्जाको निरन्तर अनुगमन गरेको छ, त्यस्ता बैंकहरूले बाह्य झट्कालाई पनि सहन सक्छन् ।
अर्कोतिर, विगतमा आक्रामक रूपमा कर्जा विस्तार गर्ने, उच्च जोखिम मोल्ने र उचित विश्लेषणबिना लगानी गर्ने बैंकहरू अहिले समस्यामा परेका छन् । कोभिड–१९ को समयमा वा त्यसअघि जसले उच्च क्रेडिट ग्रोथ गरे, उनीहरूले अर्थतन्त्रको जुन प्रक्षेपण गरेका थिए, त्यो पूरा नहुँदा अहिले उनीहरूको निष्क्रिय कर्जा बढेको देखिन्छ । यसका साथै, बैंकको क्षेत्रगत लगानीले पनि ठुलो भूमिका खेल्छ ।
जुन बैंकहरूको लगानी निर्माण, कृषि, थोक तथा खुद्रा व्यापारजस्ता हाल समस्यामा परेका क्षेत्रहरूमा बढी केन्द्रित थियो, उनीहरूको निष्क्रिय कर्जा स्वाभाविक रूपमा बढेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्कले पनि यी क्षेत्रहरूको वृद्धिदर ऋणात्मक वा न्यून रहेको देखाउँछ । त्यसैले, कुशल व्यवस्थापन, सही कर्जा विश्लेषण र विवेकपूर्ण लगानी रणनीति भएका बैंकहरूले यो चुनौतीपूर्ण अवस्थामा पनि राम्रो प्रदर्शन गरेका छन्, जबकि कमजोर व्यवस्थापन भएका बैंकहरूलाई बढी असर परेको छ ।
- चालु आर्थिक वर्षका लागि बैंकिङ क्षेत्रको अवस्था कस्तो रहने प्रक्षेपण गर्न सकिन्छ ? अर्थतन्त्र सुधारको चरणमा रहेकाले यसले बैंकिङ क्षेत्रलाई कस्तो प्रभाव पार्ला ?
हामी आगामी आर्थिक वर्षका लागि निकै सकारात्मक छौँ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीति ‘सजगतापूर्वक लचिलो’ प्रकृतिको छ । हामीले सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य र ५.५ प्रतिशतको मुद्रास्फीतिको सीमालाई सन्तुलनमा राख्ने गरी नीति तय गरेका छौँ । यस लक्ष्यलाई सहयोग गर्न निजी क्षेत्रमा जाने कर्जा करिब १२ प्रतिशतले वृद्धि हुने हाम्रो प्रक्षेपण छ, जुन गत वर्षको करिब ८ प्रतिशतको वृद्धिभन्दा निकै माथि हो ।
यो लक्ष्य हासिल गर्नका लागि हामीसँग बलिया आधारहरू छन् । पहिलो, बैंकहरूसँग पर्याप्त लगानीयोग्य रकम छ । दोस्रो, ब्याजदर निरन्तर घटिरहेको छ र एकल अंकमा आइसकेको छ, जसले कर्जाको माग बढाउन मद्दत गर्छ । तेस्रो, बैंकहरू पुँजी पर्याप्तताका हिसाबले सक्षम छन् र कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छन् । चौथो, सरकारले ल्याएको बजेट निजी क्षेत्रमैत्री छ र यसले आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
यी सबै कुराहरूलाई हेर्दा, यदि कुनै ऋणीले सम्भाव्यतायुक्त व्यावसायिक योजना लिएर आउँछ भने बैंकहरू लगानी गर्न तयार छन् । अर्थतन्त्रमा पनि सुधारका सङ्केतहरू देखिइसकेका छन् । त्यसैले, आगामी वर्ष बैंकिङ क्षेत्रको कर्जा विस्तार हुने, नाफामा सुधार आउने र समग्रमा गत वर्षको तुलनामा अवस्था निकै राम्रो हुनेमा हामी विश्वस्त छौं । हाम्रो मौद्रिक नीतिले पनि यही दिशालाई इंगित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण