कानुन विपरीत भ्रुणको लिङ्ग परीक्षण गरी असुरक्षित गर्भपतन गर्न अझै पनि बाध्य छन् महिला
सारांश
- भ्रूणको लिङ्ग परीक्षण गरी गर्भपतन गर्ने महिलाहरू सुदूरपश्चिममा धेरै छन्, जसले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ।
- छोराको चाहनामा मैना लगायत धेरै महिलाले बारम्बार गर्भपतन गराउनुपरेको छ, जसका कारण स्वास्थ्य जोखिम बढेको छ।
- असुरक्षित गर्भपतनका कारण महिलाहरू अस्पताल भर्ना हुने र दीर्घकालीन स्वास्थ्य समस्या भोग्न बाध्य छन्।
धनगढी । कानुनले भ्रुणको लिङ्ग परीक्षण गरेर गर्भपतन गर्न रोक लगाएको छ । यद्यपि, पारिवारिक दबाब, रुढीवादी सामाजिक मान्यता लगायतका कारण कतिपय महिला अहिले पनि भ्रुणको लिङ्ग परीक्षण गरी गर्भपतन गराउन बाध्य छन् ।
१५ वर्ष अघि बझाङकी मैना (नाम परिवर्तन)को विवाह भएको थियो । १७ वर्षकै उमेरमा बिहे गरेकी उनले अर्को वर्ष छोरी जन्माइन् । छोरी एक वर्षको हुँदा नहुँदै उनी फेरि गर्भवती भइन् ।
आय आर्जनको विकल्प नहुँदा मैनाका पति र ससुरा भारततिर मजदुरी गर्न जान्थे । गर्भावस्था र सुत्केरी हुँदा आराम तथा स्याहार नपाएकी उनले छोटो अन्तरालमै दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिइन् । त्यसपछि उनका श्रीमानको व्यवहार परिवर्तन भयो । छोराको चाहनामा रहेका पतिले दुई वटी छोरी पाएको भन्दै मैनालाई रातदिन दुर्व्यवहार गर्न थाले । मदिरा सेवन गरेर उनले मैनामाथि कुटपिट गर्न थाले ।
‘तँसँग बिहे गरेर मैले छोराको मुख हेर्न पाइनँ भन्दै श्रीमानले यातना दिन्थे, घरबाट निकाल्न खोजे,’ मैनाले आफ्नो पीडा सुनाइन् ।
श्रीमानको अत्याचार सहनबाहेक उनीसँग अरु विकल्प थिएन । मैनालाई श्रीमानले पूरै बेवास्तामात्र गरेनन्, अर्की श्रीमती भित्र्याए । केही समय सबै कुरा सहेरै उनले छोरीहरूको लालनपालन गरिन् । त्यसपछि उनले भारतको उत्तराखण्डस्थित केदारनाथ क्षेत्रमा गएर घाँस काटेर गुजारा चलाइन् ।
श्रीमानले दोस्रो बिहे गरेको एक वर्ष नपुग्दै श्रीमानलाई छोडेर कान्छी श्रीमती अरुसँगै हिँडिन् । त्यसपछि श्रीमानसँग उनको सम्बन्धमा केही सुधार आयो र मैना फेरि गर्भवती भइन् । तेस्रो सन्तान पनि छोरीनै जन्मिन् ।
मैनाकी जेठी छोरी १४, माइली छोरी १२ र कान्छी छोरी ७ वर्षकी भइन् । तीन छोरी हुँदाहुँदै आर्थिक हिसाबले चौथो बच्चा जन्माउन मैनालाई रहर थिएन, तर समाज, घरपरिवार र श्रीमानको दबाबका कारण उनी चौथो सन्तानका लागि तयार भएकी थिइन् ।
तीन वटा छोरी भइसकेपछि पनि मैना पटक–पटक गर्भवती भइन् तर चौथो सन्तान जन्माउने आँट उनमा आएन । फेरि पनि छोरी नै जन्मिए के गर्ने होला भन्ने त्रास उनको मनमा थियो । त्यसैले स्थानीय मेडिकलमा गएर उनले दुई–तीन पटकसम्म गर्भपतन गराइन् ।
एक वर्षअघि भने मैनाले गर्भमा रहेको भ्रुणको लिङ्ग परीक्षण सुविधा धनगढीमा छ भन्ने थाहा पाइन् । श्रीमानले धनगढीसम्म जान खर्चको जोहो गरिदिए । त्यसपछि मैना आफ्नो गर्भमा रहेको भ्रुणको लिङ्ग परीक्षण गर्न गाउँकै एक साथी लिएर धनगढी पुगिन् । उनीसँगै साथी गएकी महिला पनि गर्भवती थिइन् र उनी पनि गर्भमा रहेको भ्रुणको लिङ्ग परीक्षण गर्न चाहन्थिन् ।
मैनाकी जेठी छोरी १४, माइली छोरी १२ र कान्छी छोरी ७ वर्षकी भइन् । तीन छोरी हुँदाहुँदै आर्थिक हिसाबले चौथो बच्चा जन्माउन मैनालाई रहर थिएन, तर समाज, घरपरिवार र श्रीमानको दबाबका कारण उनी चौथो सन्तानका लागि तयार भएकी थिइन् ।
उनले एक वर्ष अघि धनगढी आएर ६ हजार रुपैयाँ खर्च गरेर भ्रुणको लिङ्ग परीक्षण गराइन् । गर्भमा छोरी नै रहेको थाहा पाएपछि उनले निजी मेडिकलमा गर्भपतन गराइन् । ‘धनगढीमा तीस हजारभन्दा बढी खर्च भयो । शारीरिक अवस्था पनि सुध्रिएन, महिनौँदिनसम्म रगत बगिरह्यो,’ मैनाले भनिन् ।
गत महिना उनी फेरि धनगढी पुगेकी थिइन् । यो पटक भने बल्ल छोरा छ भन्ने थाहा पाएपछि उनी खुसी हुँदै घर फर्किन् । उनी गर्भवती भएको ६ महिना भइसकेको छ । पटक पटक असुरक्षित तरिकाले गर्भपतन गराएका कारण उनको शरीर कमजोर भएको र चौथो सन्तान जन्माउनु जोखिमपूर्ण हुने चिकित्सकले बताएका छन् । यद्यपि मैना यो चुनौती स्वीकार्न तयार छिन् । किनकि उनको गर्भमा छोरा रहेको थाहा पाउनासाथ उनका श्रीमानले माया गर्न थालेका छन् ।
छोरा नभई नहुने समाजको मान्यताका कारण महिलाहरूले आफ्नो स्वास्थ्यमाथि खेलवाड गर्नुपरिरहेको मैनाको भनाइ छ । ‘पेट दुख्ने, हातखुट्टा कमजोर हुने समस्या भइरहेका छन्,’ उनले भनिन्, ‘अब बच्चा पाएर कसरी हुर्काउने भन्ने चिन्ता छ । धेरै कमजोर छु ।’
मैनाजस्तै छोराको आसमा बाध्यताले भ्रुण परीक्षण गरी असुरक्षित गर्भपतन गर्ने महिला सुदूरपश्चिममा धेरै छन् ।
अछामकी ३५ वर्षीय एक जना शिक्षिकाका चार छोरी छन् । चार वटा छोरी जन्माइसके पनि उनी छोरा पाउने प्रयासमै छिन् । ६ महिना अघि गर्भवती अवस्थामा उनी पनि आफ्नो श्रीमानलाई लिएर धनगढी आइन् ।
सुरुमा सेती प्रादेशिक अस्पतालमा गएका उनीहरूले त्यहाँ भिडियो एक्सरे र एनामोली परीक्षण गराए । चिकित्सकले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए पनि भ्रुणको लिङ्ग पहिचान गरिदिएनन् । त्यसपछि निजी क्लिनिकमा उनीहरूले सोधखोज गरे । ६ हजार रुपैयाँ तिरेर उनीहरूले गर्भमा रहेको भ्रुणले लिङ्ग परीक्षण गराए । गर्भमा छोरी नै रहेको थाहा पाएपछि उनीहरू गर्भपतन गराउने निष्कर्षमा पुगे ।
गर्भपतनको १८ हजार रुपैयाँ लाग्ने भनियो । तर, एक–दुई ठाउँ सोधखोज गर्दा सेती प्रादेशिक अस्पतालकै एक जना नर्सले ८ हजार रुपैयाँमै गर्भपतन गराउने गरेको उनीहरूले पत्ता लगाए ।
ती नर्सले शिक्षिकालाई बेलुकाको समयमा क्लिनिकमा डाकिन् । उनले औषधि प्रयोग गरेर बच्चा फालिन् । अत्यधिक रक्तश्राव भएपछि राति १० बजे सेती प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उनलाई भर्ना गरियो ।
सुदूरपश्चिममा छोराको आसमा गर्भवती हुँदै लिङ्ग पहिचान गरी छोरी भए जथाभावी असुरक्षित गर्भपतन गराउने महिला धेरै रहेको चिकित्सक बताउँछन् । असुरक्षित रूपमा गर्भपतन गर्दा महिलाको स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै असर गरिरहेको चिकित्सकको भनाइ छ ।
‘शरीरमा रगत निकै कम भइसकेको थियो, रक्तश्राव रोकिएको थिएन,’ ती शिक्षिकाको आफन्तले घटनाबारे जानकारी दिँदै भने । उनका अनुसार बिरामीलाई तत्काल आईसीयूमा राख्नुपर्ने अवस्था आयो । अस्पतालका प्रसुति तथा स्त्रीरोग विशेषज्ञलाई खबर गरियो । दुई जना डाक्टरले उनको अवस्था जाँचे । पाठेघरको अप्रेसन गरेर घाउको उपचार गर्नुपर्ने भयो ।
‘गाइनेकोलोजिस्ट र जनरल सर्जनले दुई अप्रेसन गर्नुपर्यो,’ ती आफन्तले भने । २० दिनसम्म आईसीयूमै राखेर उपचार गरेपछि बल्ल उनलाई नर्मल वार्डमा सारियो । केही दिन त्यहाँ पनि बसेपछि उनी डिस्चार्ज भइन् । अहिले उनको अवस्था सामान्य छ । चिकित्सकले पाठेघर फाल्नुपर्ने भने पनि छोरा पाउने आसमा रहेका दम्पतीले मानेनन् ।
सुदूरपश्चिममा छोराको आसमा गर्भवती हुँदै लिङ्ग पहिचान गरी छोरी भए जथाभावी असुरक्षित गर्भपतन गराउने महिला धेरै रहेको चिकित्सक बताउँछन् । असुरक्षित रूपमा गर्भपतन गर्दा महिलाको स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै असर गरिरहेको चिकित्सकको भनाइ छ ।
सेती प्रादेशिक अस्पतालको प्रसुति वार्डका इन्चार्ज डाक्टर खगेन्द्र भट्टका अनुसार बाहिर औषधि सेवन गरेर, पाठेघरमा चोटपटक लगाएर असुरक्षित गर्भपतन गर्ने महिलाहरू स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पतालमा आउने गरेका छन् । ‘असुरक्षित गर्भपतनले संक्रमण, उच्च रक्तश्राव पाठेघरमा चोटपटक भएर आएका हुन्छन् । कतिपय त रक्तश्राव बढी भएका कारण बेहोस अवस्था पनि अस्पतालमा पुग्ने गर्छन्,’ उनले भने ।
असुरक्षित तरिकाले गर्भपतन गर्दा महिलामा दीर्घकालीन रूपमा पनि समस्या हुने डा. भट्टले बताए । ‘असुरक्षित गर्भपतन गर्नुहुँदैन भनेर कानुन बनेको भए पनि व्यावहारिक रूपमा यसको कार्यान्वयन भएको छैन, जसले गर्दा यो समस्या जटिल बनेको छ,’ उनले भने ।
कानुनले भु्रण परीक्षण गरी लिङ्गका आधारमा गर्भपतन गर्नुलाई अपराध ठहर गर्दै सजाय हुने व्यवस्था गरेको छ । यद्यपि, पारिवारिक तथा सामाजिक दबाबका कारण महिलाहरू भ्रुणको लिङ्ग पहिचान गरी गर्भपतन गराउन बाध्य छन् भने यही बाध्यताको फाइदा कतिपय निजी क्लिनिक तथा मेडिकलले उठाइरहेको अधिकारकर्मीहरू बताउँछन् । त्यस्ता क्लिनिकका लागि भ्रुणको लिङ्ग परीक्षण र गर्भपतन नै कमाइको माध्यम बन्ने गरेको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण