सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

उच्च हिमाली क्षेत्रमा पर्यटकलाई जोखिम, तल्लो क्षेत्रबाट आराम गर्दै यात्रा गर्न आग्रह

बिहीबार, ०५ भदौ २०८२, ०८ : २५
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • आर्थिक वर्ष २०८१।०८२ मा अन्नपूर्ण क्षेत्रमा लेक लागेर १८ जना पर्यटकको मृत्यु भयो, जसमा अधिकांश विदेशी थिए।
  • मुस्ताङमा स्वास्थ्य समस्याका कारण एक वर्षमा ८ भारतीय, २ नेपाली र १ अमेरिकी नागरिकको ज्यान गएको छ।
  • सरोकारवालाहरूले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा हतारमा नपठाउन र सचेतनामूलक सामग्री राख्न आग्रह गरेका छन्।

पोखरा । गत आर्थिक वर्ष २०८१-०८२ मा अन्नपूर्ण संरक्षण क्षेत्रभित्र १८ जना पर्यटकले लेक लागेर ज्यान गुमाए । एक्यापका निर्देशक डा रविन कडरियाका अनुसार यसरी ज्यान गुमाउनेमा नेपाली भन्दा बढी विदेशी छन् । नेपाली ६ जना, भारतीय नागरिक ८ जना छन् भने अमेरिका, जर्मनी, कोरिया र स्वीजरल्याण्डका एक/एक जना छन् ।

मुस्ताङ जिल्लामा मात्रै एक वर्षभित्र ८ भारतीय, २ नेपाली र १ अमेरिकी नागरिकको ज्यान गएको छ । यसको कारण उच्च हिमालमा हुने स्वास्थ्य समस्या नै हो । पर्यटकहरू हतारिएर एकै पटक उच्च उचाइमा पुग्दा लेक लाग्ने समस्या बढेको र उनीहरूको ज्यानै जाने खतरा रहेको जानकारहरूको गुनासो छ ।

पर्यटकीय क्षेत्रमा असावधानीवश हुने घटनाबाट अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश गएपछि सरोकारवालाहरूले चासो र चिन्ता व्यक्त गरेका छन् । पोखरामा मुस्ताङको घरपझोङ गाउँपालिकाले सरोकारवाला भेला पारेर हतारमा पर्यटक उच्च हिमाली क्षेत्रमा नपठाइदिन आग्रह गरेको हो ।

पालिका अध्यक्ष मोहनसिंह लालचन भन्छन्, ‘हतार हतार पर्यटक जान्छन् । एकैदिन उखुम गर्मी हुने ठाउँबाट हिउँ पर्ने ठाउँमा पुग्दा त्यसको असर स्वाभाविक परिहाल्छ । त्यसैले पर्यटकलाई व्यवसायी र टूर गाइडहरूले सहजीकरण गरिदिनुपर्‍यो ।’

विशेषगरी मुस्ताङको मुक्तिनाथ जस्ता धार्मिक तथा पदयात्रा गन्तव्यमा एक्कासि उचाइमा पुग्दा पर्यटकको ज्यानै जाने घटना बढेपछि यसको रोकथामका लागि तत्काल कदम चाल्नुपर्नेमा उनीहरूको जोड छ । व्यवसायीहरूले तराईको करिब १०० मिटर उचाइबाट एकै दिनमा ३७१० मिटर उचाइको मुक्तिनाथ पुग्ने प्रवृत्ति मानव स्वास्थ्यका लागि अत्यन्तै घातक रहेको बताए ।

गण्डकी प्रदेशका सांसद विकल शेरचनले नीतिगत रुपमै यसलाई समाधान गर्नुपर्ने बताएका छन् । ‘यो विषय नीतिगत रुपमै टुंग्याउनुपर्छ । मापदण्ड बनाएर सोही अनुसार सरोकारवालाले फलो गर्ने हो भने समाधान हुन्छ,’ उनले भने, ‘नीति निर्माणमा म पहल गर्नेछु ।’ पदमार्गमा पर्यटकले बुझ्ने गरी सचेतनामूलक सूचना सामग्री राख्नुपर्नेमा उनको जोड छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने बेला आएको बताए । ‘भारतीय पर्यटकहरू एकै दिनमा मुक्तिनाथ पुगेर पोखरा वा मुस्ताङ कतै नबसी फर्कँदा एकातिर सुरक्षा जोखिम बढेको छ भने अर्कोतिर बसाइ अवधि पनि घटेको छ,’ उनले भने, ‘यस्तो जोखिमले कतिपयको ज्यान समेत गएको छ । अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश प्रवाह भएको छ ।’

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले सचेतनामूलक पुस्तिका र सूचना बोर्ड राख्न बोर्ड राख्ने प्रतिबद्धता जनाएका छन् । अन्नपूर्ण क्षेत्रमा प्रवेश गर्न पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ । गण्डकीका विभिन्न ठाउँमा निषेधित क्षेत्र समेत तोकिएको छ । त्यहाँ प्रवेश गर्न झन् चर्को शुल्क तिर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप