भारत–चीनबिचको लिपुलेक दोहन सम्झौताको विरोधमा समाजवादी कम्युनिस्ट पार्टी
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले भारत र चीनबिच हालै भएको लिपुलेक व्यापारिक मार्गसम्बन्धी सम्झौता नेपालविरुद्धको गम्भीर हस्तक्षेप भएको भन्दै आपत्ति जनाएको छ।
पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख अशोक सुवेदीले बुधबार जारी गरेको विज्ञप्तिमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भदौ १ र २ गते दिल्लीमा सम्पन्न भएको १२ बुँदे सम्झौतामा नेपालको भूभाग कालापानी–लिपुलेक हुँदै व्यापारिक नाका खोल्ने सहमति हुनु नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि ठाडो अतिक्रमण भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, 'भारतीय र चिनियाँ सरकारबीच नेपाली भूमि प्रयोग गरेर सीमा व्यापार विस्तार गर्ने सहमति नेपालप्रतिको हेपाहा प्रवृत्ति र देशभक्त नेपाली जनताको आत्मसम्मानमाथिको अपमान हो।'
पार्टीले सुगौली सन्धिदेखि नै भारतले विस्तारवादी नीति अख्तियार गर्दै आएको आरोप लगाउँदै चीन पनि हाल आएर नेपालविरुद्ध हस्तक्षेपकारी व्यवहारमा उत्रिएको दाबी गरेको छ। यस कदमले नेपाली जनता आक्रोशित भएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, एमसीसी लागू गरेर अमेरिकासँग नेपालले राष्ट्रियताविरोधी सम्झौता गरेको र भारत–चीनले मिलेर नेपालको भूमि प्रयोग गर्ने सहमति गर्नु 'राष्ट्रियता र सार्वभौमसत्ताविरुद्धको खतरनाक खेलबाड' भएको पार्टीले आरोप लगाएको छ।
पार्टीले नेपाल सरकारले तत्काल भारत र चीनसँग कूटनीतिक पहल गरेर समस्या समाधान गर्न नसके राष्ट्रवादको पक्षमा व्यापक आन्दोलन गर्ने चेतावनी दिएको छ। साथै सम्पूर्ण देशभक्त जनता र शक्तिलाई एकजुट भएर प्रतिरोधमा उत्रन आह्वान गरिएको छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण