शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

१३ सूत्रीय मागसहित वडाध्यक्ष आमरण अनसनमा, पालिका अध्यक्षसहितलाई लगाए यस्ता आराेप

बिहीबार, ०५ भदौ २०८२, २० : ०९
बिहीबार, ०५ भदौ २०८२

रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा व्याप्त अनियमितता र भ्रष्टाचारविरुद्ध वडा नम्बर २ का वडाध्यक्ष सीताराम यादवले आमरण अनसन सुरु गरेका छन् ।

उनले १३ सूत्रीय मागसहित बुधबारदेखि अनसन थालेका हुन् । यादवको अनसनलाई गाउँसभाबाट निर्वाचित २१ जना सदस्यले साथ दिएका छन् । उनीहरुले गाउँपालिका कार्यालय सरुअठामा बिहान १० बजेदेखि धर्ना समेत सुरु गरेका छन् ।

अनसनकर्ता यादवले गाउँपालिका अध्यक्ष महमद सउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादव र लेखापाल श्रीनारायण झामाथि आर्थिक ब्रम्ह्लुट, मनोमानी ढङ्गमा कर्मचारी नियुक्ति र पारदर्शिता विपरीत काम गरेको आरोप लगाएका छन् ।

मागहरू 

  • आर्थिक वर्ष २०७९ देखि ८२ सम्मका गाउँसभा निर्णय, कार्यपालिका बैठकका माइनुट, बजेट योजनासम्बन्धी सम्पूर्ण कागजात, बैंक स्टेटमेन्ट र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने ।
  • पालिकामा कर्मचारी नियुक्तिसम्बन्धी प्रमाण उपलब्ध गराउने । 
  • अनलाइन टेण्डर, बैठक र बिडिङ प्रणाली लागू गर्ने ।
  • सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यम शिक्षा सुरु गर्ने ।
  • इन्धन, मर्मत तथा सम्पत्ति खर्च विवरण सार्वजनिक गर्ने ।
  • गाउँपालिकाभर स्वास्थ्य बीमा अनिवार्य गर्ने ।
  • कृषि विद्युतीकरणका लागि पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराउने ।
  • घरायसी बिजुली महसुल निःशुल्क गर्ने ।
  • गाउँपालिका अस्पताल स्थापना गर्ने ।
  • सामाजिक सुरक्षा भत्ता घरमै पुर्‍याउने व्यवस्था गर्ने ।
  • पदाधिकारी तथा सदस्यको सुविधा कानुनअनुसार वितरण गर्ने । 
  • अवैध तरिकाले गरिएको ९ औँ गाउँसभा खारेज गर्ने ।
  • पालिकाबाट सहयोग पाउनेको नामावली सार्वजनिक गर्ने ।

सङ्घर्ष समितिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष यादवले पालिकाको कामकाज पारदर्शी नभएकाले जनतामा गम्भीर निराशा बढेको बताए। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनले बताए । 

यता गाउँपालिका अध्यक्ष महमद सउदले वडाध्यक्ष यादव निर्वाचनदेखि नै आफू विरुद्ध रहे पनि मागबारे छलफल गर्न तयार रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप