बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सुरु

शुक्रबार, ०६ भदौ २०८२, ०० : ०४
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवाको उद्घाटन गरे।
  • डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सञ्चालन भएपछि मिर्गौलाका बिरामीलाई राहत मिलेको छ।
  • मन्त्री पौडेलले स्वास्थ्य बीमा, जनशक्ति र पूर्वाधारबारे धारणा राखे र अस्पताल विस्तारको घोषणा गरे।

डडेल्धुरा । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डडेल्धुरा अस्पतालमा सुरु भएको डायलाइसिस सेवाको उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमबिच उनले अस्पतालको अनुगमन तथा निरीक्षण समेत गरे । 

सङ्घीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सञ्चालन भएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका मिर्गौलाका बिरामीलाई धनगढी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । कार्यक्रममा मन्त्री पौडेलले अस्पताल व्यवस्थापनदेखि स्वास्थ्य बीमा, जनशक्ति र पूर्वाधारबारे आफ्नो धारणा राखे ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डमार्फत डडेल्धुरा अस्पतालमा सेवा केन्द्र सञ्चालनमा समस्या आएको उल्लेख गर्दै सङ्घीय अस्पतालबाट प्रथम सेवा केन्द्र विन्दु उपलब्ध हुन नसक्ने प्रस्ट पारे । उनका अनुसार यस विषयमा अस्पताललाई सङ्घ मातहत राख्ने कि प्रदेश मातहत राख्ने भन्ने विषयमा स्पष्ट निर्णय आवश्यक छ । यसका लागि स्थानीय तह र राजनीतिक दलले आफ्नो धारणा बनाउनुपर्ने उनको भनाइ थियो ।

मन्त्री पौडेलले भने, “स्थानीय तहले आधारभूत अस्पताल स्थापना गर्ने हो भने अहिले देखिएका धेरै समस्या समाधान हुन्छन् । आधारभूत अस्पतालका लागि भवन बनेका ठाउँमा मन्त्रालयले बजेटको व्यवस्था गर्छ । साथै छात्रवृत्तिबाट अध्ययन गरेका चिकित्सकलाई त्यही ठाउँमा पठाइन्छ ।”

डडेल्धुरा अस्पतालले स्वास्थ्य बिमाबापत अझै रु दुई करोड पाउन बाँकी रहेको मन्त्री पौडेलले जानकारी दिए। उनले तीन सय शैययाका लागि दरबन्दी स्वीकृत भइसकेको बताए । आगामी एक वर्षभित्र डडेल्धुरा लगायतका सबै अस्पताललाई पाँच सय शैययामा विस्तार गरिने घोषणा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप