दामोदरकुण्डको दर्शन गर्दा भोगेका अप्ठेरा र समाधानका लागि लागेका कुरा
सारांश
- जोमसोमदेखि दामोदर कुण्डसम्मको तीर्थाटन भ्रमणबारे अनुभव समेटिएको छ।
- दामोदर कुण्डको धार्मिक महत्त्व, यात्राको कठिनाइ, र समाधानबारे चर्चा गरिएको छ।
- तीर्थयात्रीका लागि सञ्चार, पूर्वाधार, र फोहोर व्यवस्थापनमा सुधारको आवश्यकता औंल्याइएको छ।
२०८१ भदौ ३ गते जोमसोमदेखि दामोदर कुण्डसम्मको तीर्थाटन भ्रमण जाने अवसर जु¥यो । यो भ्रमण अत्यन्तै रमणीय तर चुनौतीपूर्ण पनि रह्यो । दामोदर कुण्डसम्म पुग्दा आइपरेका अप्ठेरा, तिनको अल्पकालीन र दीर्घकालीन समाधान गर्नका लागि मनमा लागेका केही कुरा उल्लेख गर्नु सान्दर्भिक लागेको छ । भ्रमणका क्रममा कठिन बाटो, लेक लाग्ने समस्या, सञ्चारको अभाव, खाने र बस्ने कुराको अभाव, कुण्ड पुग्दा बिमारी परेको स्थिति र दामोदर कुण्ड वरिपरिको भद्रगोल अवस्था आदिको अनुभव र अवलोकन गरियो । आउने दिनमा यी कठिनाइ अन्य तीर्थालुले सकेसम्म बेहोर्न नपरोस् भन्ने चाहना रहनु एक खालको जिम्मेवारी बोधजस्तै पनि हो ।
दामोदर कुण्डको परिचय र महत्त्व
सनातन धर्मावलम्बीका लागि दामोदर कुण्ड मुक्तिनाथ क्षेत्रदेखि करिब १० किलोमिटर उत्तर मुस्ताङ जिल्लामा पर्ने प्रसिद्ध तीर्थस्थल हो । दामोदर हिमालको ताल भएकाले यसलाई दामोदर कुण्ड भनिएको हो । भगवान् श्रीकृष्णलाई बाल्यकालमा उनकी माताले दाम्लोले बाँधेको ठाउँ भएकाले सो तालको नाम दामोदर कुण्ड रहन गएको हो भन्ने भनाइ छ । यहाँ दामोदर कुण्डसहित तीनवटा कुण्ड रहेका छन् । स्थानीयका अनुसार मूल कुण्डलाई सुनकुण्ड वा चक्रकुण्ड भनिन्छ भने बाँकी दुईलाई क्रमशः दुधकुण्ड र तामाकुण्ड भनेर चिनिन्छ । यिनै कुण्डबाट बगेर आएको जल काग नदीका रूपमा मुक्तिनाथबाट आएकी गण्डकी नदीसँग मिल्ने भएकाले सो मिलनविन्दुलाई कागबेनी भनिएको हो । दामोदर कुण्डलाई स्थानीय बुद्धमार्गीले पद्मसम्भव बुद्ध भगवान्को स्थानका रूपमा लिने रहेछन् । जनैपूर्णिमाका दिन बौद्ध धर्मावलम्बीले बुद्धका मन्त्र सहितका ध्वजापताका सहितको तोरण कुण्डको वारपार हुने गरी टाँग्ने परम्परा रहेछ । सो तोरणलाई कुनै पनि हिसाबले नाघ्न वा कुल्चन हुँदैन ।
बराह पुराणका अनुसार कुबेरका नल र कुबेर नाम गरेका छोरालाई ऋषिको श्राप पर्न गई उनीहरू अर्जुन नामको वृक्ष बनेर रहन्छन् । उनीहरूले यो अवस्थाबाट मुक्ति पाउन पश्चाताप गरेपछि श्रीकृष्ण अवतारमा मुक्ति हुने ऋषिको आज्ञा हुन जान्छ । श्रीकृष्णावतारमा माता यशोदाले दही चोरेको निहुँमा कृष्णलाई सोही अर्जुन वृक्षमा बाँध्छिन् । यसरी श्रीकृष्णको स्पर्शले उनीहरू पापमोचन भएर यथा रूपमा प्रकट हुन्छन् । यसै प्रसङ्गलाई आधार मानेर होला, स्थानीय सागर गुरुङले दामोदर कुण्डलाई दाम्लो कुण्ड भनेर पनि चिनिन्छ भनेर यी पङ्क्तिकारलाई गत २०८१ भदौ ३ गते जनैपूर्णिमाका दिन कुण्डको दर्शन गर्ने क्रममा जानकारी गराए । यसरी श्रीकृष्णले उनीहरूलाई दामोदर कुण्डमा स्नान गरेमा मुक्ति भइन्छ भन्ने उपदेश दिन्छन् । सोही बमोजिम स्नान गरेपछि मुक्ति भएको प्रसङ्ग वराह पुराणमा पाइन्छ । यसको महिमालाई पुराणका तलका श्लोकले स्पष्ट पारेका छन् :
तज्जलस्पर्शमात्रेण नरो मुच्यते किल्विषात् ।
स्नानद्रोगभयं नैव नापमृत्युद्भवं तथा । ।
न चोर नृपतो वापि न वाताद्याधिदैविकम् ।
जलस्थलवनौकेभ्यो भूतेभ्योऽपि भयं नहि । ।
(अर्थात् दामोदर कुण्डको स्पर्श मात्रले मनुष्य पापमुक्त हुन्छ भने स्नान गरियो भने रोगसम्बन्धी भय हुँदैन । त्यसै गरी अकाल मृत्युको पनि भय हुँदैन । यस कुण्डमा स्नान गर्नाले चोर, राजा, चट्याङ, आँधी, तुफान तथा कुनै पनि दैवी विपत्ति र हिंस्रक पशु तथा सर्पादिबाट पनि डर हुँदैन ।)
दामोदर कुण्डमा पितृकर्म गर्न पनि उत्तम हुन्छ । यस ठाउँमा पितृहरूलाई तर्पण दिँदा तिनका पितृ तृप्त भएर अघोर (शिवस्वरूप मुक्त) हुने प्रसङ्ग पाइन्छ । वराह पुराणमा नै भनिएको छ कि ः
अथ चात्रैव पित्रर्थे पिण्डं यो निर्वपेन्नरः ।
सतर्पणमघोराः स्युः पितरस्तस्य तर्पिताः । ।
अर्थात् जसले दामोदर कुण्डमा गएर आफ्ना पितृहरूलाई यथाविधि पिण्ड दिन्छ, त्यसका पितृहरू मुक्त भएर शिवस्वरूप प्राप्त गर्छन् ।
सन्दर्भ स्रोतः शालग्राम अध्ययन प्रतिवेदन, २०७७÷७८, प्रदेश सरकार, लुम्बिनी प्रदेश, उद्योग, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी ग्रामीण विकास परिषद् नेपाल ।
यस प्रकार कालीगण्डकीको उद्गमस्थान मानिने तथा शालग्राम क्षेत्रको समेत प्रसिद्धि पाएको दामोदर कुण्डको पौराणिक महत्त्व रहेको छ । मुक्तिनाथदेखि १० किमि उत्तर पर्ने यस ठाउँमा जान ५,२०० मिटर र ५,७०० मिटर अग्ला पहाड ठाडै चढ्नुपर्ने र उत्तिकै भिरालो हिसाबले झर्नुपर्ने हुनाले उच्च वा निम्न रक्तचाप तथा श्वासप्रश्वासको समस्या भएका बिरामीलाई त्यहाँ पुग्नु भनेको असम्भवप्रायः रहेछ । यात्रालाई सहज बनाउनका लागि आवश्यक ठाउँमा झोलुङ्गे पुलहरू र थप यातायातको प्रबन्ध गर्न सकिएमा अरबभन्दा बढी संख्यामा रहेका सनातन धर्मावलम्बीहरूमा पहुँच पुग्ने थियो । यसले नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन हुन गई स्थानीयहरूको थप आयआर्जन हुनुका साथै समग्र देशकै आर्थिक विकास हुने थियो । यसले गर्दा देशका धार्मिक स्थलहरूको प्रचारप्रसार हुने थियो । आध्यात्मिक चिन्तन र यस उपरको महिमा विस्तारमा ठुलो टेवा पुग्न जाने थियो ।
- दामोदर कुण्डसम्म कसरी पुग्ने
दामोदर कुण्डसम्म पुग्नका लागि मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमदेखि तीर्थयात्रा सुरु हुन्छ । जोमसोमबाट कागबेनी, कागबेनीदेखि छुसाङ, छुसाङदेखि चैले (३,०५० मिटर), चैलेदेखि समर (३,६०० मिटर), समरदेखि बेना (३,८०० मिटर), बेनादेखि स्याङ्बोचे (३,७८० मिटर), स्याङ्बोचेदेखि तामागाउँ (३,६९० मिटर), तामागाउँदेखि घमी (३,५७० मिटर), घमीदेखि चराङ (३,५७० मिटर), चराङदेखि धी (३,४२० मिटर), धीदेखि यारा (३,६१०), यारादेखि घारा हुँदै ट्रेलहेड (३,८०० मिटर), त्यसपछि क्रमशः लुरी गुम्बा हुँदै नौजुनको लेकमा पुग्नुपर्छ । त्यहाँबाट तेर्सो–ओरालो झर्दै घिर्मीठाँटी (यस ठाउँमा बासको प्रबन्ध छ) हुँदै यात्रा अगाडि बढ्छ । यात्राको कठिन खण्ड यहीँबाट सुरु हुन्छ ।
भगवान् श्रीकृष्णलाई बाल्यकालमा उनकी माताले दाम्लोले बाँधेको ठाउँ भएकाले सो तालको नाम दामोदर कुण्ड रहन गएको हो भन्ने भनाइ छ । यहाँ दामोदर कुण्डसहित तीनवटा कुण्ड रहेका छन् । स्थानीयका अनुसार मूल कुण्डलाई सुनकुण्ड वा चक्रकुण्ड भनिन्छ भने बाँकी दुईलाई क्रमशः दुधकुण्ड र तामाकुण्ड भनेर चिनिन्छ ।
ठाँटीबाट ठाडै उकालो चढेर ५,२०० मिटर उचाइको लेक पार गर्नुपर्छ । सो लेक पार गरेपछि सिधै ओरालो झरेर तल बासखोलामा पुग्नुपर्छ । यसलाई भूतखोला पनि भनिने रहेछ । भूतखोलाबाट ठाडै गेग्रान उकालो उक्लँदै ५,७०० मिटर अग्लो दामोदर पास पार गर्नुपर्छ । हावामा अक्सिजनको मात्रा साह्रै कमी हुने हुनाले यहाँ यात्रा गर्न साह्रै गाह्रो हुन्छ । नौजुनको लेकदेखि नै फोन सम्पर्क विच्छेद हुन्छ भने दामोदर पासमा मात्रै एक ठाउँमा फोन सम्पर्क हुन्छ । यो ठाउँबाट सिधै मुटु नै सिरिङ्ग हुने ओरालो झरेर दामोदर खोलामा पुग्नुपर्छ । यो खोला पार गरेपछि केही उकालो, तेर्सो र ओरालो हिँड्नुपर्छ । त्यसपछि दामोदर कुण्डको धर्मशालामा पुगिन्छ (उचाइ ४,८९० मिटर) । यहाँ पनि अक्सिजनको कमीले हुने समस्या तीर्थयात्रीले झेल्नुपर्छ । यहाँ बास बसेपछि १५ वा २० मिनेटको हिँडाइमा दामोदर कुण्डको गन्तव्यमा पुगिन्छ ।
यसरी दामोदर कुण्डसम्म पुग्दा बास बस्नका लागि यारा, गारा, सुर्खाङ, धी, टाङ्गे र धेका स्थानीयको जनसहभागितामा बनाइएका दुई ठाउँमा धर्मशाला छन्, एउटा घिर्मीठाँटीमा र अर्को दामोदर कुण्डमा । दामोदर कुण्डमा एक लाख ४८ हजार ४५ रुपैयाँ लागतमा स्थानीयले चन्दा दिएर बनाएको धर्मशाला छ ।
दामोदर कुण्डको यात्रा सहज र सरल बनाउनका लागि स्थानीय र सरकारी तवरमा तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएर कार्यान्वयनमा लैजानु अनिवार्यजस्तै भएको छ । सुरुमा तत्कालीन योजनाहरूको चर्चा गरौँ ।
क) टेलिफोन टावर वा भी–स्याट फोनको व्यवस्था
नौजुनको भञ्ज्याङ कटेपछि केवल एक ठाउँमा फोनको टावरले समात्छ, त्यो हो दामोदर पास । अन्यथा सञ्चारको कुनै उपाय छैन । सञ्चारको व्यवस्था गर्नु अति नै आधारभूत आवश्यकता बन्न पुगेको छ । तीर्थयात्रीउपर अचानक स्वास्थ्य समस्या आउँदा र अन्य आपतकालीन अवस्थामा उद्धारका लागि पनि सञ्चार आवश्यक हुन्छ ।
स्वास्थ्यको सुरक्षाको प्रबन्ध गर्न पनि फोन सेवाको उपलब्धता पहिलो अनिवार्य आवश्यकता बन्न गएको छ । यसको प्रबन्ध गर्न सके तीर्थयात्रीले आफ्नो स्वास्थ्य, खानेकुराको सञ्चिति लगायतको प्रबन्ध गर्न, आवश्यक पर्दा स्थानीय सुरक्षा निकायलाई खबर गर्न सहज हुन्छ । यसका लागि घारामा नै तीर्थयात्रीको लगत सङ्कलन र निश्चित न्यूनतम शुल्क लिने व्यवस्था गर्न सकिन्छ, यसका लागि एक स्थानीय सरकारी कर्मचारी खटाउनुपर्ने हुन्छ । यसो भएमा तीर्थयात्रीको प्रवेश अनुगमन र विवरण राख्न पनि सजिलो हुन्छ । सुरक्षा निकायलाई समेत बोर्डर पेट्रोलिङमा समाचार आदानप्रदान गर्न सजिलो हुन्छ ।
ख) झोलुङ्गे पुल
भूतखोला वा बासखोलामाथि सम्भाव्य अग्लो झोलुङ्गे पुलको निर्माण गर्न सकिन्छ । यो पुलले ५,२०० मिटर र ५,७०० मिटर अग्ला दुई पहाडका बिचमा रहेको खोँचमा झर्नुपर्ने दूरी घट्न पुग्छ र यात्रीलाई धेरै ठुलो राहत पुग्न जान्छ ।
ग) पथप्रदर्शक
घाराबाट हरेक तीर्थयात्रीको समूहले यात्रा पथप्रदर्शक लैजाने अनिवार्य व्यवस्था भएमा घोडा चढ्ने व्यवसायबाट विस्थापित स्थानीय जनतालाई वैकल्पिक रोजगार दिनमा मद्दत पुग्छ ।
घ) शालिग्राम शिलाको सङ्कलन र वितरण
स्थानीय तथा भेडागोठालाले आ–आफ्नै तजबिजमा शालिग्राम सङ्कलन गर्ने र बेच्ने गरेको पाइयो । कतिपय अवस्थामा शालिग्राम शिलाहरू जम्मा गरी आगोमा पोल्ने र शिला तातेपछि फुटाएर शिलाभित्र रहेको सुन निकाल्ने गरेको पनि पाइयो । शालिग्रामलाई स्थानीयले नै सङ्कलन गर्ने तर निश्चित ठाउँ तोकेर (जस्तै ः दामोदर कुण्ड, घारा, कागबेनी वा जोमसोम आदि) सङ्कलन केन्द्र बनाउने र शिलाको प्रकारका आधारमा निश्चित रकम सङ्कलकलाई दिने, निश्चित रकम स्थानीय निकायलाई आम्दानीको स्रोतका रूपमा राख्ने प्रबन्ध गर्नु उपयुक्त हुन्छ ।
स्थानीयले शिला सङ्कलन गरेर वार्षिक रूपमा ५ देखि १० लाख रुपैयाँसम्म जम्मा गर्ने गरेको अनौपचारिक जानकारी पाइयो । यो सङ्कलन कार्यलाई यार्सागुम्बा सङ्कलनकै मोडल वा प्रक्रिया अपनाउने, स्थानीयले मात्र सङ्कलन गर्न पाउने व्यवस्था भएमा राम्रो हुने देखिन्छ । यसरी स्थानीय खनिज वा स्रोतमा स्थानीयकै अधिकार सुरक्षित हुने गरी काम गरेमा द्वन्द्व नहुने हुन जान्छ ।
ङ) पूजाविधि र सामग्री
घारा भन्ने स्थान वा दामोदर कुण्ड प्रवेशस्थलमै पूजाविधि र सामग्रीका विषयमा जानकारी र सोही अनुरूप सामग्रीको उपलब्धता भएमा पूजालाई थप व्यवस्थित बनाउन थप मद्दत पुग्छ । स्थानीयलाई आयआर्जन पनि हुन्छ ।
च) धर्मशालाको स्तरोन्नति
दामोदर कुण्डमा रहेको धर्मशालाको स्तरोन्नति टड्कारो रहेको पाइयो । धर्मशालाको सुत्ने ठाउँमा काठ बिछ्याउनुपर्ने देखियो । यसका साथै कम्तीमा १० कोठाको सशुल्क लजिङ हुने गरी लत्ताकपडा र भाँडाकुँडासहितको छुट्टै भवनको आवश्यकता रहेको पाइयो ।
सक्षम तीर्थालुले तिरेको रकमले हेरचाह गर्ने एक स्थानीय कर्मचारीको खर्च पनि नउठ्ला भन्न सकिन्न । फ्रिज र वासिङ मेसिनसहित आवश्यक सुक्खा खानेकुराको प्रबन्ध भएमा राम्रो हुने देखियो ।
छ) थाली, अम्खोरा, दाम्ला लगायतको व्यवस्थापन
तीर्थालुहरूले प्रयोग गरेका अम्खोरा, थाली लगायत तामाका भाँडाकुँडा यत्रतत्र फालिएको पाइयो । पूजामा प्रयोग गरिएका सामान फिर्ता लैजान नहुने प्रचलन रहेछ । हरेक महिनामा ती सामग्री सङ्कलन गर्ने र वार्षिक रूपमा लिलाम गर्ने व्यवस्था भएमा एकातिर कुण्ड सफा हुन जान्छ भने अर्कोतर्फ न्यूनतम रूपमा भए पनि आयआर्जन हुन जान्छ ।
ज)स्थायी मन्दिर र कुण्ड परिक्रमा बाटोको निर्माण
धार्मिक हिसाबले उपयुक्त हुने भएको खण्डमा मूल पूजास्थलमा एउटा मन्दिरको निर्माण आवश्यक देखियो । अहिले भगवान् दामोदरका मूर्ति खुला आकाशमुनि टिनको पाताले छोपेर राखेको पाइयो । कुण्ड परिक्रमा गर्दा जल प्रवाह भएर हिलो भएका कारण परिक्रमा गर्न त्यति सहज छैन । अतः तालवरिपरि परिक्रमा ट्रेलको निर्माण आवश्यक छ ।
झ) वस्त्र फेर्ने टहरो
मुक्तिनाथ मन्दिर परिसरमा जस्तै तीनवटै कुण्डबाट निस्कने जललाई एकत्रित गरी स्नान गर्ने ठाउँ निर्माण गर्न आवश्यक देखियो । कुण्डको एक छेउतिर उपयुक्त ठाउँमा स्नान गरेपछि महिला र पुरुषले छुट्टाछुट्टै वस्त्र फेर्ने सानो टहरोको निर्माण गर्नुपर्ने पनि देखियो ।
ञ) फोहोर व्यवस्थापन
तीर्थालुहरूले पूजा गरिसकेपछि दुना, टपरी, प्लास्टिकजन्य सामग्री कुण्डहरूभित्र र वरिपरि यत्रतत्र लथालिङ्ग पारेर छोड्ने गरेको र फोहोर गरेको देखियो ।
कृष्ण भगवान्लाई बाँधेको दाम्लोको प्रतीकका रूपमा कुशले बनाएका दाम्ला तथा जेउराहरू कुण्डमा यत्रतत्र फालिएको पाइयो । यसका लागि व्यवस्थित हिसाबले फोहोरको व्यवस्थापनको थिति बसाल्नुपर्ने देखियो । पुनः प्रयोगमा आउने सामानको छुट्टै सङ्कलन गर्ने व्यवस्था हुनुपर्ने देखियो । धर्मशाला वरिपरि रक्सीका बोतल फ्याँकेको पाइयो । तीर्थस्थलमा मदिरा वर्जित गरिएको लगायत गर्न हुने र नहुने कामहरूको सूचनापाटी राख्नुपर्ने देखियो ।
स्थानीयले शिला सङ्कलन गरेर वार्षिक रूपमा ५ देखि १० लाख रुपैयाँसम्म जम्मा गर्ने गरेको अनौपचारिक जानकारी पाइयो । यो सङ्कलन कार्यलाई यार्सागुम्बा सङ्कलनकै मोडल वा प्रक्रिया अपनाउने, स्थानीयले मात्र सङ्कलन गर्न पाउने व्यवस्था भएमा राम्रो हुने देखिन्छ ।
दर्शन गर्न अनुकूल समय र मौसमसम्बन्धी सम्भाव्य जानकारीको सूचना दिने प्रणालीको व्यवस्था मिलाउन सकिएमा राम्रो हुने देखियो । यी सबै कुराको जानकारी कम्तीमा पनि स्थानीय भाषाका अतिरिक्त नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा लेखिएको सूचना पाटी र पर्चाको व्यवस्था गर्नुपर्ने देखियो ।
ख) दीर्घकालीन योजना
दामोदर कुण्ड जाने बाटो र भौगर्भिक बनावट जोखिमपूर्ण छ । पोखरा–मुक्तिनाथ केबलकारजस्तै नौजुन लेक वा मुक्तिनाथ–दामोदर कुण्डसम्म पुग्ने केबलकारको व्यवस्था भएमा यात्रा कम खर्चिलो र कम जोखिमपूर्ण हुनेछ । मुक्तिनाथदेखि दामोदर कुण्डसम्म आवतजावत गर्न केबलकारको निर्माण भएमा तीर्थयात्री तथा पर्यटकहरूको संख्यामा वृद्धि हुने सहजै अनुमान गर्न सकिन्छ । सडक यातायात खर्चिलो र बर्सेनि थुप्रिने गेग्रानले दिने दुःखभन्दा केबलकार बढी उपयुक्त र भरपर्दो हुने देखिन्छ ।
ग) अनुगमन
यी सबै कुराको अनुगमन र व्यवस्थापन गर्न स्थानीयमध्येबाटै एक कर्मचारीको नियुक्ति गर्नु उपयुक्त हुन्छ । यसो गर्दा घोडसवारीहरूको आयआर्जनमा प्रभाव पर्ने हुनाले उनीहरूलाई वैकल्पिक रोजगारी वा होटल व्यवसायमा स्थानीय निकायले प्रोत्साहन गर्नु वाञ्छनीय देखिन्छ ।
फलेवास–४, रुग्दी, पर्वत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण