बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

'छिट्टै बैठक बोलाएर दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गर्नेछौँ'

आइतबार, ०८ भदौ २०८२, १५ : २७
आइतबार, ०८ भदौ २०८२

काठमाडौँ । यति वेला नेपाली खेलकुद क्षेत्रको महत्त्वपूर्ण विषय भनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नु हो । 

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नै युवा तथा खेलकुद मन्त्रीसहित खेलसम्बद्ध निकायहरूलाई प्रतियोगिता गर्न निर्देशन दिइसकेका छन् । 

तर, खेलकुद मन्त्री तेजुलाल चौधरीले हालसम्म राष्ट्रिय खेकलुद परिषद् (राखेप)को बोर्ड बैठक बोलाएका छैनन् । दशौं राष्ट्रिय खेलकुदको प्रक्रिया बढाउन अब बोर्ड बैठक अनिवार्य हुन्छ । 

प्रदेश र केन्द्र सरकारले प्रतियोगिता आयोजना गर्न महत्त्वपूर्ण योगदान गरिरहेको वेला संघीय खेलकुद मन्त्रालय भने उदासीन छ । गत वर्ष तीन पटक मिति सारेर प्रतियोगिता रद्द भइसकेको छ । तर यो पटक भने प्रतियोगिताको नयाँ मिति निकालेर त्यसलाई सहजै सम्पन्न गराउने वातावरण बनाउन लागिपरिएको मन्त्रालयले दाबी गरेको छ । त्यसका लागि मन्त्रालयले बिहीबार जुम मिटिङ राखेको थियो । 

उक्त मिटिङमा युवा तथा खेकलुद मन्त्रीले सबै प्रदेशका खेलकुद मन्त्री र सामाजिक विकास मन्त्री प्रतियोगिताको समय तोक्न र छिट्टै बोर्ड बैठक बोलाउन तयार भएको बताएका थिए । 

‘यो पटक नयाँ मिति तय गर्ने अनि त्यसै समयमा प्रतियोगिता गर्ने योजनामा छौँ, पहिलेजस्तो हतारमा मिति तोकेर सार्ने नियत छैन, त्यसैले केही समय लाग्छ,’ मन्त्री चौधरीले रातोपाटीसँग भने । केन्द्रबाट मन्त्रालयको टिम एक–दुई दिनमा कर्णाली प्रदेश गएर त्यहाँको मन्त्रालय र प्रदेशको टिमसँग पनि छलफल गर्ने उनले जानकारी दिए । त्यसका लागि कर्णाली प्रदेश पनि तयार भइसकेको उनको भनाइ थियो । 

‘हामी कर्णाली प्रदेशसँग छलफल गरेर आउँछौँ । त्यसपछि केन्द्रमा सबै साथीहरूसँग पनि छलफल हुनेछ । अनि मात्र हामी बोर्ड बैठक बोलाएर प्रतियोगिताको मिति तय गर्नेछौँ,’ मन्त्री चौधरीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप