बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

झलनाथ र वामदेवका आ-आफ्नै गुनासा, कसैलाई नछाड्ने माधवको चेतावनी

पार्टीभित्रको समस्यामा तीन नेताका तीन थरी कुरा
सोमबार, ०९ भदौ २०८२, १४ : ५५
सोमबार, ०९ भदौ २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का तीन शीर्ष नेताले पार्टीभित्रको आन्तरिक समस्यामा तीन थरी कुरा गरेका छन् ।

पार्टी गठनको चौथो वर्ष पूरा भएको अवसरमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमले तीनथरी कुरा गरेका हुन् ।  

‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीमा बोल्दै नेता सम्मानित नेता झलनाथ खनालले पार्टी निर्माणका लागि नयाँ अठोट आवश्यक रहेको दोहोर्‍याए । उनले पार्टी निर्माणका लागि नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने र अहिलेकै अवस्था रहिरहे कहीँ पनि नपुगिने बताए ।

खनालले अध्यक्ष माधवकुमार नेपाललाई १० औँ महाधिवेशनले पारित गरेको दस्ताबेज किन सार्वजनिक नगरेको भन्दै प्रश्न गरेका थिए ।

‘१० औँ महाधिवेशनले नेपाली समाजवादको कार्यक्रम अघि सारेका छौँ । त्यो कार्यक्रमलाई हामीले अहिलेसम्म प्रकाशित गरेका छैनौँ’, खनालले असन्तुष्टि जनाउदै भने, ‘यो कसको कमजोरीले हो बुझ्न बाँकी छ । यो प्रकाशित गर्नुपर्छ । यसले हाम्रो देशको समाजवादी कार्यक्रमको रूप अगाडि आउँछ । त्यो नै हाम्रो लक्ष्य हो ।’

नेपाली समाजवादको रूपमा मार्क्सवादले लिने भन्दै त्यसलाई पार्टीले जोड्न सक्नुपर्ने खनालले जोड दिए ।

‘अहिले हामी पुँजीवादी समाजमा छौँ, यसलाई ध्वस्त पारेर हामीले समाजवाद निर्माण गर्ने हो । त्यो समाजवादको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संरचनाहरूको छलफल गरेर अघि बढ्न सकिन्छ’, खनालले भने, ‘ठोस लक्ष्य तय गरेर नेपाली भएको सबै ठाउँमा पुर्‍याउनुपर्छ । त्यो कार्यदिशा, नीति र सिद्धान्त तय गर्नुपर्छ ।’

पार्टीको प्रधान अन्तरविरोध किटान गरेर प्रहार सके मात्र पार्टीको उद्देश्य र लक्ष्य पूरा गर्न सकिने खनालको भनाइ छ ।

अर्का नेता वामदेव गौतमले आफैँ तेस्रो वरीयतामा रहे पनि एकीकृत समाजवादीका कुनै पनि भित्री कुरा थाहा नभएको गुनासो गरे ।

‘मैले जनतामा सिधै गइहाल्ने जिम्मेवारी खोजेको हुँ । जनतामा सिधै जाने माध्यम के हुनसक्छ ? समाजवादी पार्टीमा त्यस्तो के छ सबै थाहा छैन । त्यसको पहिचान खोजिरहेको छु’, गौतमले भने । 

उनले आफ्नो जिम्मेवारी विभागहरुको ‘कोअर्डिनेट’ गर्ने मात्र भएको भन्दै आफू अहिले दिनदिनै पार्टी कार्यालयमा आएर फर्कनु मात्र परेको गुनासो गरे । गौतमले विद्रोही नेताले खानतिर नभई लड्नतिर लाग्नुपर्नेमा जोड दिए । आफ्नो योजनाअनुसार अघि बढे २० लाख पार्टी सदस्य बनाउन सकिने उनको दाबी थियो । 

‘म तल्लो तहमा गएर काम गर्न तयार छु, मसँग अर्को कोही नेता पनि जानुहोला’, गौतमले भने । गति पैदा गर्न कम्तीमा देशभरिका ७५३ पालिकामा ५ जनाको कमिटी निर्माण गर्न सक्नुपर्ने उनले बताए । 

‘यसरी १० जनाको कमिटी बनाउन सक्यौँ भने हाम्रो पार्टीको सदस्य सङ्ख्या २० लाख पुग्छ’, गौतमले भने । पार्टीभित्र वादविवाद गर्न पनि आवश्यक रहेको उनले बताए । 

कार्यक्रमको अन्तिममा बोलेका अध्यक्ष माधवकुमार नेपालले पार्टी र पार्टी नेतृत्वको बदख्वाइँ गर्ने कसैलाई पनि छुट नदिने चेतावनी दिए । पछिल्लो समय आफ्नै कार्यशैलीलाई लिएर नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्री लगायतले प्रश्न उठाइरहेका बेला अध्यक्ष नेपालले पार्टी नेतृत्वको आलोचना गर्ने कसैलाई पनि छुट नभएको बताए । उनले पार्टीले लिएको विचारप्रति असहमति जनाउनेलाई संकेत गर्दै वैज्ञानिक समाजवाद भनेर शब्दले मात्र केही गर्न नसकिने धारणा राखे ।

पार्टी निर्माणमा सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिँदै नेपालले पार्टीमा रहेका कोही पनि निराश हुनुपर्ने अवस्था नरहेको तर अनुशासनहीन काम गर्नेलाई नछाड्ने चेतावनी दिए ।

‘जे गर्नु छ पार्टीभित्र राख्ने हो । अनुशासनहीनतालाई छुट दिन सकिँदैन । ज-जसले अनुशासनहीन काम गर्छ, छुट दिन सकिँदैन’, अध्यक्ष नेपालले भने, ‘पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा होइन ।’
उनले पार्टीको पक्षमा दृढताका साथ बोल्न निर्देशन दिँदै कसैको लेखाइमा पार्टीमाथि आँच पुर्‍याउने र पार्टी नेतृत्वलाई बदख्वाइँ गर्ने काम नगर्न निर्देशन दिए ।

‘पार्टी सिध्याउँन खोज्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन’, नेपालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप