बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विपिनको रिहाइका लागि जोर्डनका राजालाई राष्ट्रपतिको पत्र

मङ्गलबार, १० भदौ २०८२, १९ : ३३
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले जोर्डनका राजालाई विपिन जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरे।
  • राष्ट्रपतिले जोशीको सुरक्षित रिहाइ र स्वदेश फिर्तीका लागि मानवीय तथा कूटनीतिक कदम चाल्न आग्रह गरे।
  • जोशीका परिवारले राष्ट्रपतिलाई भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् । 

राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मंगलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथाशक्य पहल गरिदिन सो आग्रह गरेका हुन् । 

उनले पत्रमा यस प्रयोजनका लागि उनका जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए ।  सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।

यसैबिच जोशीको खोजी तथा सुरक्षित रिहाइका लागि सरकारले गरेका सबै प्रयासका बाबजुद हालसम्म निजको अवस्था यकिन हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै जोशीको अवस्था पत्ता लगाई हमासको कब्जाबाट मुक्त गरी स्वदेश फिर्ता ल्याउने कुरामा नेपाल सरकार निरन्तर लागिरहने जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप