राजेश ढुंगानाका तीन कविता
१) अनुत्तरित प्रश्न
त्यो
देश र दैत्यको कुस्तीमा
देशलाई
उत्तानो पार्दै
दैत्य
देशलाई घोप्टो पारेर
देशको छातीमा
टेक्तै छ
निरन्तर तिखा–तिखा
नङ्ग्राहरू आइरहेछन्
देशतिरै
क्रमशः
देश र दैत्यको
दूरी घट्दै छ
ल... ल... ल... ऐया !
ए !
दैत्यले फेरि एकपटक
देशलाई
घोप्टो पारेर
छातीमा थिचेको पो रहेछ ।
म
चिच्याएकोमा
नरिसाउनुस् है हजुर
ममा
सदैव एउटा
उत्तर नआएको प्रश्न छ–
दैत्यले आखिर
कहिलेसम्म यसरी निरन्तर
देशको छातीमा टेकिरहने ?
००
२) एक हुल मान्छेहरू
एक हुल मान्छेहरू
आएर आफ्नै छातीमा मुड्की ठोक्तै
एक दिन मसँग
आफैँ आफ्नो परिचय माग्नेछन्
लुगा होउन्जेली त ठिकै छ
तर
च्यातिएको दिन लुगा
ती मान्छेहरू आएर मसँग
ठिङ्ग उभिएर सोध्नेछन्—
कि
हाम्रो भेष कुन हो
र भन्नेछन्
हामीले त
नमुनासम्म राख्न नसकेर
आफ्नो भेषको
कटिङ नै समेत हराएका छौँ
धरती
होउन्जेली त नाच्ने हो
पाइताला पनि
तर
धरती नै गुमाएको दिन
उनीहरूले
मसँग भन्नेछन्
एकोहोरो नाच्ने धुनमा
हामीले त नाच्नलाई
खुट्टा मात्र पर्याप्त ठानेका थियौँ
टेक्ने
एक अंगुल माटोको
अभावमा पनि
नाच्न नसकिने रहेछ
नाच्न
खुट्टा मात्र होइन
टेक्ने जमिनको चाहिँ
जरुरी हुँदोरहेछ
हामीले त नाँच्ने धुनमा
टेक्ने
एक अंगुल
जमिन पनि गुमाएका छौँ
मलाई विश्वास छ कि
एक हुल मान्छेहरू भ्रम टुटेको दिन
मसँग आएर रुने छन्
र भन्ने छन्
खोइ,हाम्रो माटो खोइ ?
खोइ
हाम्रो देश खोइ ??
००
३) रैथाने मालिकहरूलाई
जिताइ
तिम्रो भागमा मात्र पर्छ भने
जित तिमी
मसँगका हरेक लडाइँहरू
मलाई त निरन्तर
हार्ने र
हारिरहने
बानी परेको छ
र रुनु
मेरो नियति बनेको छ
हाँस्नु त केवल
तिम्रो अंशमा न परेको छ
तिम्रा
वैभवका चुचुराहरूलाई
मेरो
हृदयदेखिकै सलाम
म एउटा दासको पवित्र सलोट
तिम्रा उडुसे पेटका
आकांक्षाहरूलाई
आउ
स्वागत छ तिमीलाई
आफ्नो विजयको स्वघोषणा गर्न
म एउटा
दासको लासमाथि
आफ्नो
अमरताको बीज रोप्न
तृप्त होस्
तिम्रो हाँस्ने रहर
म एउटा
गुलामको आँसुमाथि
आउ...
स्वागत छ
तिमीलाई !
तिमी
यस देशका
रैथाने मालिकहरूलाई ।
०००
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण