बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वीरगञ्जमा हैजा संक्रमित संख्याको घट्न थाल्यो, अस्पतालबाट डिस्चार्ज हुनेहरू बढे

१७१ जना डिस्चार्ज
मङ्गलबार, १० भदौ २०८२, १८ : १०
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • वीरगञ्ज महानगरमा हैजा संक्रमितको संख्या घट्दै गएको छ, तर अझै नियन्त्रणमा आइसकेको छैन।
  • नारायणी अस्पतालमा निःशुल्क उपचार सुरु भएपछि बिरामीको चाप बढेको छ, जसले गर्दा संक्रमितको संख्या बढ्ने अनुमान गरिएको छ।
  • हैजाबाट हालसम्म ९५ जना संक्रमित भएका छन्, जसमा केही आईसीयू र एचडीयूमा उपचाररत छन्।

वीरगञ्ज । वीरगञ्ज महानगरमा पाँच दिनअगाडि भेटिएका हैजा संक्रमितहरूको संख्या घट्न थालेको छ । चार दिनअगाडि ह्वात्तै बढेको हैजा संक्रमितको संख्या भने सोमबारदेखि धेरै हदसम्म नियन्त्रणमा आएको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

अस्पतालमा भर्ना हुनेको संख्याभन्दा निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरूको संख्या बढेको जनस्वास्थ्य कार्यालय पर्साको आँकडाले देखाएको छ । 

पाँच दिनमा अस्पताल भर्ना भएमध्ये १७१ जना डिस्चार्ज भएर घर फर्किसकेका जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका शाखा अधिकृत जयमोद ठाकुरले बताए । उनका अनुसार ६ गतेदेखि सुरु भएको हैजाका बिरामीहरूको संख्या ८०/९० को हाराहारीमा थियो, तर हिजोदेखि यो संख्या ६० मा झरेको छ ।

झाडापखाला र हैजाका गरी हालसम्म महानगरका विभिन्न अस्पतालमा २२० जना उपचाररत रहेका कार्यालयले जनाएको छ । हैजा फैलिएको पाँचौँ दिनसम्म ३९१ जना बिरामीहरू विभिन्न अस्पतालमा भर्ना भएका थिए । 

नारायणी अस्पतालमा बिरामीको चाप 

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा सबै बिरामीको उपचार निःशुल्क गर्न भनेपछि यहाँ भर्ना हुनेको संख्या बढेको छ । निजी अस्पतालमा जाँच गराइरहेका बिरामीहरू अहिले नारायणी अस्पतालमा जान थालेका कार्यालय पर्साले जनाएको छ । 

औषधिसहित सबै निःशुल्क पाउने भएपछि अस्पतालमा बिरामी बढी भर्ना हुन थालेका अस्पतालका प्रवक्ता उदय नारायण सिंहले बताए । उनका अनुसार अहिले मात्रै नारायणीमा ६० जनाभन्दा बढी उपचाररत छन्, १७ जना आज (मंगलबार) डिस्चार्ज भए । 

नारायणीसँगै वीरगञ्ज हेल्थ केयर, तराई अस्पताल, नेशनल मेडिकल कलेज, अर्लो अर्थो सेन्टर, सर्वोत्तम हस्पिटल, प्रभु अस्पताल, भवानी अस्पतालसहित १२ वटा निजी अस्पतालमा बिरामीहरू उपचाररत छन् । 

९५ जनामा पुष्टि

महानगर र जिल्लाभरिमा हैजाका नयाँ बिरामीहरूको संख्या तेस्रो अंकमा प्रवेश गर्न लागेको छ । जिल्लाका पोखरिया नगरपालिकामा हैजाको नयाँ बिरामी भेटिए पनि त्यसको रिपोर्ट आउन बाँकी रहेको कार्यालय पर्साले जनाएको छ । 

जनस्वास्थ्यका शाखा अधिकृत ठाकुरका अनुसार अहिले पोखरिया अस्पतालमा हैजा संक्रमित बिरामीहरू भर्ना भएका छन् । तर वास्तविक विवरण भने आइनसकेको उनले बताए । 

‘त्यो विवरण आएपछि हैजा संक्रमितहरूको संख्या सयभन्दा बढी हुनेछ,’ उनले भने । यद्यपि, अहिलेसम्म हैजा संक्रमितको संख्या ९५ रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांक छ । यसमध्ये २४ जना आईसीयू, ६ जना एचडीयू र १९० जना जेनरल वार्डमा भर्ना रहेका छन् । 

यो पनि  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप