शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भदौ दोस्रो सातादेखि चेस च्याम्पियनसिप हुने

विदेशी प्रशिक्षक आईएम बख्तियार काठमाडौँमा
मङ्गलबार, १० भदौ २०८२, १९ : ३९
मङ्गलबार, १० भदौ २०८२

काठमाडौँ । नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा यही भदौ १३ र १४ गते दोस्रो नेशनल फ्रिडम एशियन चेस इनिसियटिभ युथ, क्याडेट तथा महिला चेस च्याम्पियनसिप हुने भएको छ ।

पुरुष तथा महिला दुवै विधाका गरी ६ फरक उमेर समूहमा हुने प्रतियोगितामा युवा १८, १६, १४, १२, १० र ८ वर्ष मुनिका खेलाडीहरूले सहभागी जनाउने छन् ।

नेपाल बुद्धिचाल महासङ्घको चेस ट्यालेन्ट हण्टका रूपमा सञ्चालन हुने यस प्रतियोगितामा देशभरका ५ सय भन्दा बढी विद्यार्थी खेलाडीहरूको सहभागी रहने प्रतिस्पर्धा काठमाडौँको बुद्धनगर स्थित क्वालिटी बाङ्क्वेटमा सञ्चालन हुनेछ । 

कुल ३ लाख छत्तीस हजार नगद पुरस्कार रहेको प्रतियोगितामा प्रत्येक समूहका विजेताले जनही १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ४ हजार नगद, प्रमाणपत्र तथा मेडल हात पार्ने छन् । 

यस्तै १२० जना खेलाडीहरू पुरस्कृत हुने च्याम्पियनसिपमा चौथो देखि दसौँ स्थान प्राप्त गर्ने खेलाडीले समेत नगद पुरस्कार हात पार्ने छन् ।

यस प्रतियोगिताका लागि एफएसिआईका प्रोजेक्ट प्रमुख मिस जजिरा इस्कामदिरोभ र काजकिस्तान चेस फेडेरेसनका प्रथम उपाध्यक्ष जिएम दर्मेन सद्भाकासोभ बिहीबार नेपाल आउने भएका छन् ।

नेपालको बुद्धिचाल खेल विकासमा टेवा पुर्‍याउने हेतुले विश्व बुद्धिचाल महासङ्घ व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक तथा सुपर जिएम भिक्टोर बोलोगन शुक्रबार नेपाल आउने तय भएको छ ।

महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले भिक्टोर बोलोगनको नेपाल आगमन खास अर्थ रहने जानकारी गरेका छन् । नेपालमा चेस विकासका लागि काजकिस्तान चेस सङ्घसँग महासचिव धर्म बहादुर लामाले समन्वय गरेका हुन् । 

उनले खेलाडी प्रशिक्षण तथा प्रतियोगिता सहभागी निःशुल्क रहने बताए । दोस्रो नेशनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स प्रतियोगिता सञ्चालन गर्न लाग्ने १० लाख खर्च मध्ये काजकिस्तान चेस फेडेरशनले नगद पुरस्कार सहयोग गरेको छ । यसैगरी राष्ट्रिय खेलकुद परिषद्ले समेत आर्थिक सहयोग गर्ने भएको छ ।

६ विधाका खेल सञ्चालन गर्न मंगलबार नेपाल बुद्धिचाल महासङ्घ र काजाकिस्तान चेस महासङ्घबिचमा हस्ताक्षर भएको छ । 

यसैबिच नेपाली चेस खेलाडीहरूलाई प्रशिक्षण दिन काजाकिस्तानका इन्टरनेशनल मास्टर बख्तियार आस्कारोभ मंगलबार नेपाल आइपुगेको छ । 

पन्ध्र दिनसम्म काठमाडौँको दरबारमार्ग स्थित होटल उड ल्याण्डमा सञ्चालन हुने चेस प्रशिक्षणमा नेपालका २० जना राष्ट्रिय खेलाडीहरू लाभान्वित हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप