शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सफलता

छोटो समयमै भलिबलमा सुरेन्द्रको छलाङ, खेल्ने शैली अनुसार दर्शकले राखिदिए उपनाम

बुधबार, ११ भदौ २०८२, ०७ : ००
बुधबार, ११ भदौ २०८२

सारांश

  • सुरेन्द्र केसी, एक भलिबल खेलाडी, छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेका छन्।
  • उनले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै व्यावसायिक सफलता हासिल गरेका छन्, र राष्ट्रिय टिममा स्थान बनाउने प्रयास गरिरहेका छन्।
  • केसीले खेलमा भविष्य बनाउन सकिन्छ भन्ने धारणा राख्दै युवा खेलाडीलाई मेहनत गर्न सुझाव दिएका छन्।

धनगढी । भलिबल खेलमा स्पाइकरको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । यही भूमिकामा आफूलाई छोटो समयमै अब्बल साबित गर्दै दर्शकबाट उपनाम कमाएका खेलाडी हुन् सुरेन्द्र केसी ।

सुदूरपश्चिममा आयोजना हुने विभिन्न भलिबल प्रतियोगितामा सुरेन्द्र केसी छन् कि छैनन् भन्नेबारे दर्शकले चासो राख्ने गरेका छन् । उनको खेल हेर्न दर्शक झुम्मिने गर्छन् । प्रतियोगितामा सहभागी हुने टिमले पनि उनलाई सामेल गर्न होडबाजी गर्ने गर्छन् । परिणामस्वरूप उनले एउटा प्रतियोगिताका लागि सरदर ५० हजार रुपैयाँ लिने गरेका छन् । यसले आर्थिक रूपमा पनि आफूलाई सबल बनाउँदै लगेको सुरेन्द्रको भनाइ छ ।

रुकुम पश्चिमको सानोभेरी गाउँपालिकाबाट आफ्नो भलिबल यात्रा सुरु गरेका सुरेन्द्रले जिल्लास्तरीय प्रतियोगिता खेलेनन् । एकैपटक उनी प्रदेशस्तरीय प्रतियोगितामा झुल्किए । करिअरको सुरुवात नै प्रदेशस्तरीय प्रतियोगिताबाट गर्न पाउनु कुनै पनि खेलाडीका लागि चानचुने विषय होइन । तर सुरेन्द्रले यो अवसरलाई सदुपयोग मात्र गरेनन्, विभागीय टिममा सामेल हुँदै अहिले राष्ट्रिय टिमका लागि ढोका ढकढक्याइरहेका छन् । विभिन्न प्रतियोगितामा व्यावसायिक खेलाडीका रूपमा सामेल भएर नाम र दामसमेत कमाइरहेका छन् ।

सुरेन्द्र अहिले एपीएफ क्लबमा आबद्ध छन् । छोटो समयमा उनले प्राप्त गरेको सफलता कुनै चमत्कारभन्दा कम छैन ।

‘पहिले स्कुल लेभलमा रनिङ शिल्डमा आफूले नखेले पनि साथीहरूसँग रमाइलो गर्न गइन्थ्यो । प्लस टु सकेपछि खेललाई गम्भीर रूपमा लिन थालेँ,’ सुरेन्द्रले भने । उनले भलिबलमा यति धारिलो प्रतिभा प्रदर्शन गरे कि, उनलाई सिधै प्रदेशस्तरीय प्रतियोगिता खेल्ने अवसर जुर्‍यो ।

त्यही प्रदेशस्तरीय खेलमा विभागीय टिमका सिनियर खेलाडी लोकेन्द्र सिंह गिरी* (नाम लोकेन्द्र ठकुरी भएकाले सच्याइएको)ले सुरेन्द्रको प्रतिभा देखे । लोकेन्द्रले नै उनलाई क्लबमा तालिमका लागि बोलाए । ‘लोकेन (लोकेन्द्र) दाइले क्लबमा तालिम गर्न आइज भनेपछि म तुरुन्तै गएँ । त्यसपछि नै मैले यो मौका पाएको हुँ,’ सुरेन्द्रले भने ।

आफ्नो परिवारका कोही पनि यसअघि खेल क्षेत्रमा आबद्ध नरहेको सुरेन्द्र बताउँछन् । पढे–लेखेर आफ्नो छोराछोरी प्रतिष्ठित बनोस्, भविष्य सुरक्षित गरोस् भन्ने जुनसूकै आमाबुबाको अपेक्षा हुन्छ । सुरेन्द्रको मामिलामा उनका आमाबुबाले खेल क्षेत्रमा प्रवेश गर्छु भन्दा साथ–सहयोग नै गरे । ‘मेरो परिवारको साथ र समर्थन एकदमै राम्रो छ,’ उनले भने ।

छोटो समयमै विभागीय टिममा जागिर सुनिश्चित भएपछि परिवार झनै खुसी भएको सुरेन्द्रको भनाइ छ । ‘जागिर भएपछि घरका सदस्य खुसी हुने नै भए, आफूलाई पनि स्वाभाविक रूपमा राम्रो हुने नै भयो,’ उनले भने ।

surendra 2

‘खेल खेलेर भविष्य बन्दैन’ भन्ने भाष्यलाई सुरेन्द्रले छोटो समयमै चिरेका छन् । उनी भलिबलमा भविष्य आफैँले बनाउने कुरामा विश्वास गर्छन् । ‘यो खेलमा भविष्य आफैँले बनाउने हो, अरुले बनाइदिने होइन । जति मेहनत गरिन्छ, उति नै फल पाइन्छ,’ उनले भने ।

हुन पनि सुरेन्द्र अथक मेहनतको बलमा यहाँ आइपुगेका हुन् । जब उनी कोर्टमा उत्रिन्छन्, दर्शकहरू उनको स्पाइक हेर्न उत्साहित हुन्छन् । 

सेटरले उठाएको बलमाथि जब सुरेन्द्र झम्टिन्छन्, विपक्षी खेलाडीहरू निरीहजस्तै हुन्छन् । बाघले झैँ झम्टिएर प्रहार गर्ने शैलीकै कारण सुदूरपश्चिमका दर्शकले उनलाई ‘बाघ’ उपनाम दिएका छन् । छोटो कदकै भए पनि उनको स्पाइक प्रहार यति तेज र शक्तिशाली हुन्छ कि त्यसलाई रोक्नु विपक्षी डिफेन्डरका लागि फलामको चिउरा चपाउनु सरह हुन्छ ।

सुदूरपश्चिमका विभिन्न चाडपर्व र मेलाको अवसरमा आयोजना हुने प्रतियोगिताहरूमा उनको माग बढ्छ । टिममा सुरेन्द्रलाई समावेश गर्न सकियो भने जित पक्का हुन्छ भन्ने आम बुझाइ छ, जुन सत्य पनि साबित हुँदै आएको छ । सुदूरपश्चिमसँग उनको नाता पनि विशेष छ । ‘मेरा धेरै साथी सुदूरपश्चिमकै हुनुहुन्छ, सँगै खेल्नेदेखि सबै । उहाँहरूकै कारणले मैले यो प्रदेशमा आएर खेल्ने मौका पाएको छु र यहाँको मायाले सधैँ यहाँ आएर खेल्न उत्साहित हुन्छु,’ सुरेन्द्रले भने ।

गत साउन २१ गते बझाङको सुर्मामा आयोजना भएको खुला भलिबल प्रतियोगितामा उनी नेपाल खेलकुद महासंघ बझाङको टिमबाट मैदानमा उत्रिए । ओपन स्पाइकरको भूमिकामा रहेका उनले कोर्टको बिचबाटै यति शक्तिशाली प्रहार गरे, जसले सयौँ दर्शकको मन जित्यो । 

उनको प्रत्येक स्पाइकमा दर्शकको ताली र हुटिङले मैदान गुञ्जायमान हुन्थ्यो । उनको उत्कृष्ट प्रदर्शनकै कारण टिमले उपाधि जित्यो र उनी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनको खेलबाट प्रभावित स्थानीय छात्र वीरेन्द्र बोहराले भने, ‘म पनि भविष्यमा सुरेन्द्र दाइजस्तै बन्छु ।’ ७ कक्षामा अध्ययनरत वीरेन्द्रजस्ता कयौँ किशोरका लागि भलिबलमा प्रेरणाको स्रोत बनेका छन् सुरेन्द्र ।

भलिबलमा खेलाडीको हाइट पनि सफलताको एउटा आधार हो । अग्लो खेलाडीका लागि औसत वा होचोको तुलनामा स्पाइकमा मात्र नभएर डिफेन्समा पनि सहजता हुन्छ । यद्यपि, सुरेन्द्रको कुशलताका अघिल्तिर अहिलेसम्म उनको औसत हाइट बाधक बनेको छैन ।

गत साउन २७ गतेदेखि अछामको मेल्लेखमा आयोजना भएको अन्तरपालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा सुरेन्द्र आयोजक मेल्लेख गाउँपालिकाको रोजाइमा परे । प्रतियोगिताको नियम अनुसार प्रत्येक टिमले दुई जना बाहिरका खेलाडी राख्न पाउने व्यवस्था थियो । फाइनलमा मेल्लेखको भिडन्त बलियो मानिएको साँफेबगर नगरपालिकासँग भयो, जसको टिममा नेपाली राष्ट्रिय भलिबल टिमका चर्चित खेलाडी धनबहादुर भट्ट र त्रिभुवन आर्मी क्लबका सुनिल बोहराजस्ता हस्ती थिए । तर, सुरेन्द्र केसी र सफल विश्वकर्मा जस्ता खेलाडी सम्मिलित मेल्लेखको टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पोल्टामा पार्‍यो । सुरेन्द्रले फेरि एकपटक सर्वाेत्कृष्ट खेलाडीको उपाधि जिते ।

यो खेल हेरेका अछामका दर्शक भावदेव साउदले भने, ‘म सुरेन्द्रको ठुलो फ्यान हो । उहाँको हरेक स्पाइकमा एउटा छुट्टै जोश र पावर हुन्छ ।’ 

डोटीकी भलिबलप्रेमी माया भण्डारीका अनुसार सुरेन्द्र केसी सामेल हुने प्रतियोगितामा दर्शकको संख्या औसतभन्दा दोब्बरजस्तै हुने गर्छ । उनको सफलतालाई देखेर आफूजस्ता समर्थकलाई गर्व लाग्ने उनको भनाइ छ ।

भलिबलमा खेलाडीको हाइट पनि सफलताको एउटा आधार हो । अग्लो खेलाडीका लागि औसत वा होचोको तुलनामा स्पाइकमा मात्र नभएर डिफेन्समा पनि सहजता हुन्छ । यद्यपि, सुरेन्द्रको कुशलताका अघिल्तिर अहिलेसम्म उनको औसत हाइट बाधक बनेको छैन । यद्यपि राष्ट्रिय टिममा सामेल हुनका लागि भने त्यही हाइटकै विषय बाधक बन्ने पो हो कि भन्ने उनलाई चिन्ता छ ।

c6523a10-9084-4e6a-9006-fd371b98e04d

‘हरेक खेलाडीको सपना आफ्नो देशको जर्सी लगाएर अन्तर्राष्ट्रिय मैदानमा उत्रिनु हुन्छ,’ सुरेन्द्रले भने, ‘राष्ट्रिय टिमबाट खेल्ने सपना त छ, तर कतै हाइटले धोका पो दिन्छ कि भन्ने लाग्छ ।’ 

आफैँमा आत्मविश्वास पनि जगाउँछन् उनी । आफ्नो शक्तिशाली स्पाइकले जस्तोसुकै अग्लो ब्लक पनि तोड्न सक्ने उनको विश्वास छ ।

‘भलिबल खेलमा लागेर के पाउनु भयो ?’ प्रश्न सोध्न नपाउँदै सुरेन्द्रले भने, धेरै फ्यान र सबैको माया कमाएँ । त्यही नै मेरो लागि सबैभन्दा ठुलो कुरा हो ।’ 

कतिपय भलिबल खेलाडी विदेश पलायन भइरहेका छन् । तर सुरेन्द्र अझै ४–५ वर्ष क्लबबाटै खेल्ने र सकेसम्म खेल जीवनलाई निरन्तरता दिने बताउँछन् । ‘अझै चार–पाँच वर्ष क्लबबाटै खेल्छु । जति सकिन्छ, खेल जीवनलाई नै निरन्तरता दिने सोच छ,’ उनले भने ।

आफूजस्तै भलिबलमा भविष्य खोजिरहेका जुनियर खेलाडीहरूलाई उनको एउटै सुझाव छ– ‘मेहनत गरौँ, मेहनतको फल सधैँ मिठो हुन्छ ।’

भलिबल खेलको पूर्वाधारको अवस्था नेपालमा अझै पनि निकै कमजोर रहेको सुरेन्द्र बताउँछन् । अहिलेसम्म एउटा पनि भलिबल कोर्ट निर्माण हुन नसकेको अवस्था छ । जसरी राष्ट्रिय खेल भनेर सरकारले घोषणा गरेको छ, त्यसरी नै राज्यका तर्फबाट लगानी र संरचना निर्माणमा ध्यान दिनुपर्ने उनको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप