शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियाका पूर्व कप्तान क्लार्कको छालाको क्यान्सरको छैटौँ शल्यक्रिया

बिहीबार, १२ भदौ २०८२, ०९ : २५
बिहीबार, १२ भदौ २०८२

सारांश

  • अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको नाकमा छालाको क्यान्सर हटाउन छैटौं शल्यक्रिया गरिएको छ।
  • क्लार्कले छालाको क्यान्सरबाट बच्न छालाको नियमित जाँच गराउन आग्रह गरेका छन्।
  • अस्ट्रेलियामा छालाको क्यान्सरका बिरामीको संख्या धेरै रहेको तथ्य सार्वजनिक गरिएको छ।

सिड्नी । अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको नाकमा भएको छालाको क्यान्सर हटाउनका लागि छैटौं शल्यक्रिया गरिएको छ। 
आफ्नो स्वास्थ्यमा ध्यान दिएकोमा आफू आभारी रहेको भन्दै उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै क्यान्सरबाट बच्ने उपायबारे सन्देश दिएका छन्।

अस्ट्रेलियालाई २०१५ को विश्वकप जिताएका क्लार्कले शल्यक्रियापछि आफ्नो तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘छालाको क्यान्सर वास्तविक हो, विशेषगरी अस्ट्रेलियामा। आज मेरो नाकमा रहेको क्यान्सर निकालियो, त्यसैले सबैलाई आफ्नो छालाको जाँच गराउन यो एक मित्रवत स्मरण हो। उपचारभन्दा रोकथाम राम्रो हो, तर मेरो हकमा नियमित जाँच र प्रारम्भिक पहिचान नै मुख्य कुरा हो।’

क्लार्कलाई सन् २००६ मा पहिलो पटक छालाको क्यान्सर देखिएको थियो। त्यसपछि उनले समय-समयमा यसको शल्यक्रिया गराउँदै आएका छन्।

यूभी विकिरण, भूमध्यरेखासँगको भौगोलिक निकटता र गोरो छाला भएको जनसंख्याका कारण अस्ट्रेलियामा विश्वमै सबैभन्दा बढी छालाको क्यान्सरका बिरामीहरू रहेका छन्। तथ्यांकअनुसार, ७० वर्षको उमेर पुग्दासम्म प्रत्येक तीन अस्ट्रेलियालीमध्ये दुई जनामा कुनै न कुनै प्रकारको छालाको क्यान्सर हुने गर्छ।

सन् २०२३ मा 'द डेली टेलिग्राफ' सँगको कुराकानीमा क्लार्कले भनेका थिए, ‘यसले मलाई डराउँछ। म एक बुबा हुँ, म कतै जान चाहन्न। मेरी सात वर्षीया छोरीलाई सहयोग गर्न र उनका लागि एउटा राम्रो उदाहरण स्थापित गर्नु नै मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’

स्वास्थ्य समस्याका बावजुद क्लार्कको अस्ट्रेलियाली क्रिकेटमा ठूलो सम्मान रहेको छ। उनको आक्रामक नेतृत्व, लचिलोपन र टिमका साथीहरूलाई प्रेरित गर्ने क्षमताले उनलाई क्रिकेट इतिहासका उत्कृष्ट खेलाडीहरूमा उभ्याएको छ। 

उनले सन् २०१३-१४ मा घरेलु मैदानमा एसेजमा ५-० को विजय र सन् २०१५ को विश्वकपमा अस्ट्रेलियालाई उपाधि दिलाएका थिए। सन् २०१३ मा उनको ब्याटिङले उत्कृष्टताको शिखर चुमेपछि उनलाई आईसीसी क्रिकेटर अफ द इयर र आईसीसी टेस्ट क्रिकेटर अफ द इयरको उपाधिले सम्मानित गरिएको थियो।

क्लार्कले सन् २००४ देखि २०१५ सम्म अस्ट्रेलियाका लागि ११५ टेस्ट, २४५ एकदिवसीय र ३४ टी२० खेल खेलेका थिए। एक कुशल ब्याट्सम्यान र तीव्र प्रतिस्पर्धी स्वभावका कारण उनी आफ्नो पुस्ताका सबैभन्दा सफल खेलाडीमध्ये एक मानिन्छन्। 

उनले टेस्टमा ८,६४३ र एकदिवसीयमा ७,९८१ रन बनाएका छन् भने सबै प्रारूपमा गरी ९४ विकेट पनि लिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप