शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
कोशी सचिवालयमा प्रचण्डको ब्रिफिङ

‘बृहत् वाम ध्रुवीकरणपछि एमालेमा पहिरो जान्छ’

‘पार्टीभित्र अझै डरलाग्दो अन्तरसंघर्ष चल्नै बाँकी छ’
बिहीबार, १२ भदौ २०८२, २० : १८
बिहीबार, १२ भदौ २०८२

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार पार्टीको कोशी प्रदेश सचिवालय बैठकलाई सम्बोधन गर्न विराटनगर आए । बैठकलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीभित्रको अन्तरविरोधदेखि बृहत वाम ध्रुवीकरणसम्मका कुरा गरे ।  

माओवादी केन्द्रमा अझै ठुला र डरलाग्दा अन्तरविरोध सिर्जना हुने भन्दै प्रचण्डले पार्टीभित्र र बाहिर वर्ग संघर्ष र अन्तरविरोध अनिवार्य नियम भएको बताए ।  

पार्टीका उपमहासचिव जनार्दन शर्मासँग देखिएको विवादबारे बैठकमा रिपोर्टिङ गर्ने कार्यकर्ताले प्रश्न उठाएपछि प्रचण्डले यस्तो जवाफ दिएका हुन् । उनले माओले आफ्नो जीवनमा दशपटक ठूला अन्तरसंघर्ष भोगेको स्मरण गर्दै यसबाट भाग्ने विकल्प नभएको बताए । 

‘जबसम्म समाजमा वर्ग र वर्ग संघर्ष रहन्छ, जबसम्म धनी र गरिब रहिराख्छन्, पार्टीभित्रको अन्तरसंघर्ष पनि भइराख्छ,’ उनले भने । 

प्रचण्डले अन्तरविरोधबारे थप प्रष्ट पार्न खोजे । ‘रुसी क्रान्तिमा या चिनियाँ क्रान्तिमा या भियतनाम या अरू देशका क्रान्तिहरूका सन्दर्भमा क्रान्ति नजिक आउँदै जाँदा खासगरी समाजवादी क्रान्ति नजिक अगाडि आउँदै जाँदा, नजिक आउँदै जाँदा अन्तर्विरोध र अन्तर्संघर्षहरू भयानक हुने गर्छन्,’ उनले भने, ‘हाम्रोमा त अझै भयानक अन्तरसंघर्ष आइसकेको छैन । तपाईंहरू कतिपयले यसो भन्नुभयो के भएको यो ? जहिले पनि अलिकति राम्रो हुन लागेको त एउटा विवाद आउँछ । ढुक्क हुनुहोस् यो अहिलेको हल हुन्छ, फेरि योभन्दा डरलाग्दो आउनेवाला छ । यो सकिनेवाला छैन ।’

Maobadi (10)

उनले नेतृत्वले ढङ्ग र तरिका पनि मिलाउन सक्नुपर्ने बताए । तर त्यही कारणले मात्रै अन्तरविरोध हुन्छ भनेर संश्लेषण गर्नु सही नभएको बताए । 

‘लेनिन बच्नुभएन, मार्क्स–एंगेल्स बच्नुभएन । पार्टी विघटन गर्नुपर्ने ठाउँमा, अन्तर्राष्ट्रिय विघटन गर्नुपर्ने ठाउँमा मार्क्स-एंगेल्स किन पुग्नुपर्‍यो ?’ प्रचण्डले भने, ‘मार्क्स–एंगेल्स त मार्क्सवादका अनुसन्धानकर्ता, वैज्ञानिक समाजवादका प्रवर्तक । त्यस्ता मान्छेहरूको नेतृत्वमा बनिएको संगठन पनि त भङ्ग हुन सक्दोरहेछ । त्यसो भनेर हामीले मार्क्स–एंगेल्स गलत भन्न सक्छौं त ? कम्युनिस्ट घोषणापत्र गलत भनेर हामी निष्कर्ष निकाल्छौं त ? निकाल्दैनौँ ।’ 

उनले आफ्नै पालामा ठुला-ठुला आकांक्षा राखेर नेतृत्वमाथि प्रहार गरेर पार्टीलाई कमजोर पार्ने कसरतहरू भएको बताए ।

‘जनयुद्धकै बेलामा पनि ठुलठुला अन्तरसंघर्ष थिए । कारबाही प्रतिकारबाही थिए । देशी-विदेशी प्रतिक्रियावादीले अनेक खालका षडयन्त्र त्यतिबेला पनि गर्थे । ती सबै कुरा पनि मैले चाहिँ भोगेको छु,’ प्रचण्डले भने, ‘तपाईंहरूलाई थाहा छ नि ? धोबीघाट प्रकरण । त्यतिबेला पनि बहुमत पुगेर प्रचण्डलाई हटाउने अध्यक्षबाट वा दल नेताबाट भन्ने थियो । त्यो डरलाग्दो भएर कहाँ पुग्यो त भन्दा प्रचण्डलाई नमारेसम्म हुँदैन भन्ने त पुगेकै हो नि ।’ त्यसबेला आफ्नो काल अगाडि नै देखेजस्तो लागेको प्रचण्डले सुनाए । उनले पार्टीलाई एकताबद्ध गर्नुको विकल्प छैन भनेर प्रक्रिया अगाडि बढेकोमा गर्व लागेको बताए । 

प्रचण्डले  मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, मातृका यादव, गंगा श्रेष्ठ लगायतका नेताहरू पार्टी विभाजन गरेर गएको तर अहिले उनीहरू फेरि पार्टी एकताको पक्षमा फर्किँदै गरेकोमा खुसी व्यक्त गरे । उनले पार्टी विभाजन गर्नेहरूलाई आलोचना गरे पनि उनीहरूलाई उचित सम्मान र जिम्मेवारी दिनुपर्ने बताए । 

‘पर गएर ठक्कर खाएर फर्केका कमरेडहरूप्रति मेरो अलि बढी सहानुभूति हुन्छ, ठक्कर खाएर आएको मान्छेको त बुद्धि बढ्या छ,’ उनले भने । 

प्रचण्डले जनयुद्धको बेलामा भएका ठूला अन्तरसंघर्ष, कारबाही र प्रतिकारबाहीका प्रक्रियाहरू स्मरण गरे । उनले मोहनविक्रम सिंह, निर्मल लामा, डा. बाबुराम भट्टराई, मातृका यादव र अन्य नेताहरूसँगको संघर्ष र सहकार्यलाई पनि उल्लेख गरे । विशेषगरी डा. बाबुराम भट्टराईले पार्टी विभाजन गरेर जाँदा ‘सरप्राइज दिएको’ र उनको कार्यशैली मार्क्सवादी नभएको प्रचण्डको टिप्पणी थियो । 

कम्युनिस्ट पार्टीहरू नयाँ ध्रुवीकरणको चरणमा

कम्युनिस्ट पार्टीहरू नयाँ ध्रुवीकरणको चरणमा रहेको पनि प्रचण्डले बताए । ‘अहिले एकता र ध्रुवीकरणको एउटा नयाँ चरणको तयारीमा हामी जुटेका छौं । मलाई जहाँसम्म लाग्छ, छिट्टै एउटा ठूलो ध्रुवीकरण वामपन्थी आन्दोलन नेपालमा हुन्छ,’ प्रचण्डले भने, ‘सबभन्दा पहिला माओवादी आन्दोलन फेरि एउटा नयाँ ध्रुवीकरण जो साथीहरू हिजो अलि परै पुगेर अलि परै नै पुगेर जानुभएको ती कमरेडहरू पनि अब फेरि एकचोटि नयाँ ध्रुवीकरण, नयाँ एकतामा जानुपर्छ भन्नेतिर फर्किँदै हुनुहुन्छ ।‘

Maobadi (9)

समाजवादी मोर्चासहित तीन–चारवटा वामपन्थी पार्टीबिच एकताको पहल भइरहेको उनले दाबी गरे । उनले बामपन्थी ध्रुवीकरणमा सिंगो माओवादी नेतृत्व लागिरहेको दाबी गरे । 

‘हामी फेरि पनि कम्युनिस्ट एकताको झण्डा उठाउन हामीले नै पर्छ । छोड्न हुँदैन । यो पटकचाहिँ समाजवादको निम्ति फेरि एउटा बृहत् ध्रुवीकरण र एकता आवश्यक छ । तर त्यसो गर्न सबभन्दा पहिलो सर्त हामी एकताबद्ध हुनुपर्‍यो,’ प्रचण्डले भने, ‘त्यसपछि समाजवादी मोर्चामा भएका सबै पार्टीहरूलाई पनि एकता र ध्रुवीकरणमा ल्याउनुपर्‍यो । समाजवादी मोर्चाभन्दा बाहिर रहेका तीनवटा पार्टी छन् जोसँग अहिले कुरा चलिरहेको छ ।‘

यसरी एकता भएमा एमालेभित्र ठूलो पहिरो जाने स्थिति बन्ने प्रचण्डले सुनाए । ‘यसरी एकता भयो भने एमालेभित्र निकै ठूलो पहिरो जाने स्थिति छ र त्यो स्थितिलाई हाम्रो ध्रुवीकरणले साँच्चै ठूलो चाहिँ मलजल गर्छ । त्यसपछि एउटा बृहत् वाम ध्रुवीकरण,’ उनले भने । 

‘कोशी’मा त्रुटि

प्रचण्डले कोशी प्रदेशको नामकरणमा पार्टीबाटै त्रुटि भएको स्वीकार गरे । संविधानसभामा आरक्षण लगायतका विषयमा भिन्न मत राखेर पनि संविधान पारित गरेको स्मरण गराउँदै कोशी प्रदेशको नाममा पनि त्यसैगरी भिन्न मत राखेर दुई तिहाई बहुमतले गरेको निर्णयलाई स्वीकार गर्नुपर्ने बताए ।

Maobadi (11)

उनले दुई तिहाईले पारित गरेको कोशी नामलाई ‘डी फ्याक्टो’ (वास्तविक) रूपमा स्वीकार गर्ने तर ‘डी जुरे’ (न्यायिक) रूपमा नमान्ने बताए । आगामी निर्वाचनपछि दुई तिहाईसहित आफ्नो पक्षको नाम (किरात, लिम्बुवान, कोच) राख्न पहल गर्नुपर्नेमा जोड दिए । उनले यो विषयमा पार्टीका इन्चार्ज र अध्यक्षले सल्लाह गरेर सुझाव पठाएमा पार्टी केन्द्रबाट निर्णय गरिने बताए । 

‘रास्वपालाई सहयोग गर्नु जरुरी’

प्रचण्डले केपी ओली र शेरबहादुर देउवा नेतृत्वको गठबन्धन बनेको बेला प्रतिपक्षलाई कमजोर बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सहयोग गर्नु जरुरी रहेको बताए । रास्वपाले राम्रो राजनीतिक हस्तक्षेप गरे पनि उनीहरूको काम गर्ने शैली र मिडियाबाजीका कारण जनतामा यस्तै नै गर्छ भन्ने नकारात्मक सन्देश गएको उल्लेख गरे ।

उनले कांग्रेस–एमालेको ठाउँमा उभिँदा जनतालाई लाभ हुँदैन भन्ने सन्देश स्थापित गर्नुपर्ने र यसका लागि रास्वपाको समेत साथ लिएर अगाडि बढ्नुपर्ने बताए । 

प्रचण्डले केन्द्रीय समितिमा थप समावेशी र सक्षम व्यक्तिहरू नपरेको कुरा स्वीकार गर्दै यसलाई सन्तुलित बनाउने प्रयास भइरहेको बताए । 

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाही गरिने पनि उनले चेतावनी दिए । ‘अहिले कारबाही गरेर निकालेर मात्रै अनुशासित हुन्छ भन्ने पनि होइन । त्यसकारण सर्कुलरमा पनि त्यही कुरा भन्न खोजिएको छ,’ प्रचण्डले भने, ‘त्यसो गर्‍यो भने किन यसो गरेको भनेर स्पष्टीकरण सोध्ने, उचित स्पष्टीकरण आयो ठीकै छ, आएन भने आलोचना गर्ने, चेतावनी दिने, बढी लड्यो भने निलम्बन गर्ने । यो तरिकाद्वारा स्टेप–स्टेपबाट जान जरुरी छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप