बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

ओलम्पिक कमिटीभित्र उत्पन्न विवादको छायामा २०२६ को एसियाली खेलकुद

शुक्रबार, १३ भदौ २०८२, १६ : ००
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • नेपाल ओलम्पिक कमिटीको विवादले सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुदमा असर पार्ने सम्भावना बढेको छ।
  • सरकार र जीवनराम श्रेष्ठको नेतृत्वको कमिटीबीचको विवादका कारण खेलाडीको तयारी प्रभावित भएको छ, जसले गर्दा उनीहरूको मनोबल घट्दै गएको छ।
  • विवाद समाधान नभएमा एसियाली खेलकुदमा नेपालको सहभागिता अनिश्चित हुने र खेलाडीले अन्य झण्डा मुनि खेल्नुपर्ने अवस्था आउन सक्ने सम्भावना छ।

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीमा उत्पन्न पछिल्लो विवादले सन् २०२६ मा जापानको नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुदमा प्रत्यक्ष असर पार्ने सम्भावना बढेको छ । 

एकातिर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र एसियाली ओलम्पिक परिषद् (ओसीए) दुवैको मान्यता प्राप्त कमिटी छ भने अर्कोतिर सरकारले तदर्थ कमिटी निर्माण गरेका कारण आगामी वर्ष हुने ओलम्पिक प्रतियोगिताको तयारी प्रभावित हुने सम्भावना बढेको छ ।

यतिवेला सरकारी पक्षको तदर्थ कमिटीले आफूलाई आधिकारिक दाबी गरिरहेको छ भने जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको कमिटीले आफूलाई आईओसी र ओसीएले मान्यता दिएको भन्दै आधिकारिकतामा दाबी गरिरहेको छ ।

आन्तरिक किचलो, वैधानिकताको लडाइँ र अन्तर्राष्ट्रिय मान्यताको अनिश्चितताले नेपाली खेलकुदको भविष्य अन्योलमा परेको खेलप्रेमी बताउँछन् । यसको प्रत्यक्ष असर एसियाली खेलकुदमा देखिने भन्दै उनीहरू चिन्तित छन् ।

  • विवादको चुरो र यसको इतिहास

नेपाल ओलम्पिक कमिटीमा लामो समयदेखि दुई समानान्तर कमिटीबिच नेतृत्वको विवाद चल्दै आएको छ । एउटा समूहले आफूलाई वैधानिक दाबी गरिरहेको छ भने अर्को समूहले पनि आफ्नै वैधानिकताको विषयमा स्पस्ट पार्दै हिँड्नु परेको छ । 

यो विवाद सर्वोच्च अदालतसम्म पुगेको छ भने आईओसी र ओसीएले पनि यसलाई नजिकबाट नियालिरहेका छन् । पछिल्लो समयमा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटीबिच समन्वय अभावले पनि विवादलाई थप मलजल गरेको छ ।

खेलकुद मन्त्रालय र राखेपले जीवनराम श्रेष्ठ नेतृत्वको कमिटीलाई अवैधानिक भनेको छ । विधान पारित गर्दा ऐन र नियमावली विपरीत भएको भन्दै पाटन उच्च अदालतले कमिटीको निर्वाचन नगर्न आदेश दिएको थियो । त्यसपछि श्रेष्ठ नेतृत्वको टोलीले अनलाइन भोटिङमार्फत निर्वाचन गर्दै आफ्नो प्यानल ओलम्पिक कमिटीमा ल्याएको थियो । 

त्यसपछि सरकारले ओलम्पिक कमिटीको कार्यालयमा ताला लगाएको थियो । गत साउन २७ गते ध्रुवबहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेपछि विवाद झनै चुलिएको थियो ।

  • खेलाडीको तयारीमा गम्भीर असर

विवादको सबैभन्दा ठुलो मार खेलाडीहरूमा परेको छ । एसियाली खेलकुदजस्तो बृहत् प्रतियोगितामा सफलता प्राप्त गर्न वर्षौंको तयारी, उच्चस्तरीय प्रशिक्षण, अन्तर्राष्ट्रिय एक्सपोजर र पोषण आवश्यक पर्छ । 

तर, नेपाल ओलम्पिक कमिटीभित्रको अस्थिरताका कारण खेलाडीहरूले न पर्याप्त प्रशिक्षणको अवसर पाएका छन्, न त अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताको मौका नै । यस्तो वातावरणमा खेलाडीहरूको मनोबल गिर्दो छ र उनीहरूको भविष्य अन्योलग्रस्त बनेको छ ।

Asian_Games

‘खेलाडीहरू यतिबेला आफ्नो तयारीमा लाग्ने समय हो । प्रतियोगितालाई राज्यले नै एक मिसनको रूपमा लिएको समयमा विवाद आउनु खेलाडीको लागि राम्रो पक्ष होइन,’ एसियाली खेलकुदका लागि तयारीमा रहेका एक खेलाडीले रातोपाटीलाई भने । 

यतिमात्र होइन यो विवादले एसियाली खेलकुदका लागि खेलाडी छनोट प्रक्रियामा ढिलाइ हुने र अस्पष्टता आउने प्रबल सम्भावना छ । कुन कमिटीले छनोट गर्ने, छनोटका मापदण्ड के हुने र छनोट भएका खेलाडीले कसरी वैधानिकता पाउने भन्ने प्रश्न अहिले सतहमा आइरहेका छन् । यसले गर्दा योग्य र प्रतिभावान खेलाडीहरूले पनि खेलमा भाग लिन नपाउने जोखिम बढेको छ । समयमै स्पष्ट र निष्पक्ष छनोट प्रक्रिया नभएमा नेपालको प्रतिनिधित्व कमजोर हुनेछ ।

  • विवाद समाधान नभए एसियाली खेलकुदमा नेपालको सहभागिता होला ? 

हाल दुई पक्षको विवाद चलिरहँदा नेपाली खेलाडीले एसियाली खेलकुदको तयारी गरिरहेका छन् । राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले अहिले १० खेलका खेलाडीले तयारी गरिरहेको जानकारी दिए । 

ओलम्पिक कमिटीको जतिसुकै समिति या जे गठन गरे पनि खेलाडीले खेल्न पाउने विषयमा आफूहरू एक मत रहेको विष्टले बताए । यति लामो समयको मेहनतलाई खेर जान नदिने उनको भनाइ छ । 

यदि यो विवाद एक वर्षसम्म पनि कायम रहेमा खेलाडीहरू कसरी सहभागी हुने भन्नेबारे अन्योल आउन सक्छ । विवाद चुलिएमा आईओसीले नेपाल ओलम्पिक कमिटीलाई नै निलम्बित गरिदिन सक्छ । त्यसपछि पनि नेपाली खेलाडीले ओलम्पिक प्रतियोगितामा सहभागिता जनाउन पाउने बाटो कायमै रहन्छ तर उनीहरूले नेपालको झन्डामुनि नभएर ओसीएको झन्डामुनि खेल्नुपर्ने हुन्छ । यस्तो अवस्था आउनु भनेको देशका लागि राम्रो नहुने विष्ट बताउँछन् । 

‘नेपाली खेलाडीले लामो समय तयारी गरेका छन् । उनीहरूले खेल्न पाउनु पर्छ । ओलम्पिकको हजारौँ समिति गठन गरुन् तर, विवादकै कारण अन्तिम समयमा खेलाडीले खेल्न नपाउने वातावरण भयो भने हामी चुप बस्ने छैनौँ,’ विष्टले रातोपाटीसँग भने । 

यसअघि आईओसीले इराक, इरानजस्ता देशको कमिटीलाई प्रतिबन्ध लगाउँदा ओलम्पिककै झन्डामुनि रहेर खेलाडीले प्रतिस्पर्धा गरेको इतिहास पनि छ । 

निरन्तरको विवाद र अनिश्चितताले खेलाडी, प्रशिक्षक र समग्र खेल समुदायको मनोबलमा नकारात्मक असर पारेको छ । आफ्नै देशको ओलम्पिक कमिटी एकजुट नहुँदा खेलाडीहरूमा एक प्रकारको निराशा छाएको छ । एसियाली खेलकुदजस्तो ठुलो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न उच्च मनोबल र सकारात्मक वातावरण आवश्यक हुन्छ, जुन हालको विवादित अवस्थामा कल्पना गर्न सकिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप