बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आजभोलिका हास्यव्यङ्ग्य कार्यक्रम मर्यादित भएनन् : गगन थापा

शुक्रबार, १३ भदौ २०८२, २१ : ०२
शुक्रबार, १३ भदौ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू हास्यव्यङ्ग्य कार्यक्रममा सहभागी हुनै छाडेको बताएका छन् । 

महामन्त्री थापाले मर्यादित भाषाको प्रयोग नभएकाले आफूले त्यस्ता कार्यक्रममा सहभागी हुन नसकेको बताएका हुन् ।

शुक्रबार काठमाडौँमा कवि विसुकुमार केसीद्वारा लिखित कविता सङ्ग्रह पागल हुन कहाँ सजिलो छ र ? को विमोचन कार्यक्रममा बोल्दै उनले व्यङ्ग्य चेत सम्बन्धित पक्षले मनन गर्न सक्ने खालको हुनुपर्ने भएकाले सोही अनुसारको साहित्य सृजना लाग्न पनि स्रष्टाहरूलाई आग्रह गरे ।

जसमाथि साहित्यले कटाक्ष गर्न खोजेको हो, त्यसलाई मनन गर्ने खालको व्यङ्ग्य चेत हुनुपर्ने महामन्त्री थापाको भनाई थियो । उनले कवितामा गरिएको व्यङ्ग्य सम्बन्धित पक्षले मनन गरे मात्रै त्यसको अर्थ हुने पनि स्पष्ट पारे । 

महामन्त्री थापाले भने, ’चोटिला प्रश्नहरू गर्दा पनि मर्यादाभित्र रहेर गर्नु पर्दछ । मलाई यो कविको बेजोड शैली हो भन्ने लाग्छ । प्रश्नहरू एकदम धारिलो छ, चोटिलो छ । तर त्यो जसलाई प्रश्न गरिएको हो, सुरुमै त्यसलाई यति धेरै प्रश्न भएको कि उसले महसुस नै गर्न सकेन भने अर्थै भएन । आजभोलि म भएन । आज भोलि हास्यव्यङ्ग्य कार्यक्रमहरूमा जानै मन लाग्दैन । पहिलापहिला हामी गाईजात्राको सुन्थ्यौ नि । त्यो कार्यक्रममा अगाडि बसेको मान्छेलाई प्रश्न गरेको छ । त्यहाँ व्यङ्ग्य भएको छ । त्यो व्यङ्ग्य चेतका साथ कुराहरू भएको छ । सबै कुरामा सहभागी हुन पाओस् । तर अगाडि बसेको मान्छे त्यहाँबाट भाग्नुपर्ने अवस्था बनायो भने के अर्थ हुन्छ ? त्यसले त्यो चीजलाई ग्रहण नै गर्न सक्दैन, मनन नै गर्न सक्दैन । कवितामा पनि हामीलाई प्रश्न छ, नेतालाई प्रश्न छ, बालाई प्रश्न छ, छोरालाई छ, दाईलाई छ । समाजका मानिसहरूलाई छ । तर त्यसलाई मिठो गरी पस्कनु पर्दछ ।’

महामन्त्री थापाले साहित्यले समाजका विभिन्न क्षेत्रमाथि गरिएको प्रहार मर्यादित भए त्यसले सुधारको क्षेत्रमा धेरै काम गर्न सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप