बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पुरस्कार वितरणप्रति नेपाल तेक्वान्दो संघको आपत्ति, छानबिन र कारबाहीको माग

आइतबार, १५ भदौ २०८२, १३ : ४५
आइतबार, १५ भदौ २०८२

सारांश

  • नेपाल तेक्वान्दो संघले राखेपको पुरस्कार तथा सम्मानप्रति आपत्ति जनाएको छ, विभेदपूर्ण निर्णय भन्दै असन्तुष्टि जनाएको छ।
  • पेरिस पारा ओलम्पिकका पदक विजेता खेलाडी, प्रशिक्षक र संघलाई उपेक्षा गरिएकोमा संघले गम्भीर असन्तुष्टि जनाएको छ।
  • संघले पुरस्कार वितरणमा प्रयोग भएका मूल्यांकनका आधार सार्वजनिक गर्न र दोषीमाथि कारबाहीको माग गरेको छ, साथै खेल क्षेत्रको भविष्यबारे चिन्ता व्यक्त गरेको छ।

काठमाडौं । नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२औं वार्षिकोत्सवका अवसरमा प्रदान गरिएका पुरस्कार तथा सम्मानप्रति कडा आपत्ति जनाएको छ। संघले परिषद्को निर्णय विभेदपूर्ण र मनपरितन्त्रमा आधारित रहेको आरोप लगाएको छ।

संघले आइतबार जारी गरेको विज्ञप्तिमा पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्न सफल खेलाडी, प्रशिक्षक र सम्बन्धित संघलाई उपेक्षा गरिएकोमा गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ। संघका अनुसार यो कदमले खेलाडी र खेल संघहरूको योगदानलाई अवमूल्यन गर्ने काम गरेको छ।

संघले राखेपको गतिविधि विगतदेखि भइरहेको अन्यायपूर्ण व्यवहारको निरन्तरता भएको टिप्पणी गर्दै यसलाई नेपाल तेक्वान्दो संघलाई कमजोर पार्ने र मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा पदकविहीन बनाउने रणनीतिक योजनाको हिस्सा भएको आरोप लगाएको छ।

यसैगरी संघले पुरस्कार तथा सम्मान वितरणमा प्रयोग गरिएका मूल्यांकनका आधार सार्वजनिक पार्न माग गर्दै छानबिनको माग गरेको छ। विज्ञप्तिमा मूल्यांकनका मापदण्ड, निर्णय प्रक्रियाको आधिकारिकता र पुरस्कारको स्वरूपबारे स्पष्टता दिन परिषद्लाई आग्रह गरिएको छ।

संघले यस प्रकरणमा संलग्न दोषीहरूमाथि कडा कारबाहीको माग गर्दै खेल क्षेत्रको विकासका लागि निष्पक्ष, यथार्थपरक र उपलब्धिमूलक मूल्यांकन आवश्यक भएको जोड दिएको छ।

संघका अनुसार राखेपको यस्तो व्यवहारले खेल क्षेत्रको भविष्य नै अनिश्चित बनाउने खतरा बढेको छ। संघले सरकारसँग तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न जोडदार माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप