भारतीय विदेश नीतिको अग्निपरीक्षा : डाेनाल्ड ट्रम्प कि सी चिनफिङ ?
सारांश
- भारतको विदेश नीति कठिन मोडमा उभिएको छ, किनभने उसले दुई खेमामा सन्तुलन कायम गर्नुपर्ने अवस्था छ।
- अमेरिकाले रूसबाट तेल किनेको आरोप लगाउँदै भारतको आलोचना गरिरहेको छ, जसले गर्दा सम्बन्धमा तनाव बढेको छ।
- विश्लेषकहरूका अनुसार भारतले चीनसँग रणनीतिक वार्ता सुरु गरेको छ, जसलाई कूटनीतिक विजयभन्दा व्यावहारिक मेलमिलापको रूपमा हेरिएको छ।
नयाँ दिल्ली । ‘यो त्यही समय हो जब हामीले अमेरिकासँग जोडिएर रहनुपर्छ, चीनलाई सम्हाल्नुपर्छ, युरोपसँग सम्बन्ध बढाउनुपर्छ, रूसलाई आश्वस्त पार्नुपर्छ, जापानलाई साथमा ल्याउनुपर्छ, छिमेकलाई विस्तार गर्नुपर्छ र परम्परागत सहयोगीहरूको घेरालाई अझ फराकिलो पार्नुपर्छ ।’
भारतीय विदेशमन्त्री एस जयशंकरले सन् २०२० मा आफ्नो पुस्तक ‘द इन्डिया वेः स्ट्राटेजिज फर एन अनसर्टेन वल्र्ड’मा लेखेका थिए । गएको दशकदेखि भारतले आफूलाई नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको एक महत्त्वपूर्ण धुरीको रूपमा प्रस्तुत गरेको छ । उसको एउटा खुट्टा अमेरिकामा छ, अर्काे रुसमा छ भने चीनमाथि सतर्क/सशंकित नजरले हेरिराखेको छ ।
तर अब भने यो संरचना हल्लिन थालेको छ । डोनाल्ड ट्रम्पको अमेरिका अब भारतको चियरलिडरबाट आलोचकमा बदलिँदै गएको देखिन्छ । उसले भारतमाथि रूसबाट सस्तो तेल किनेर युक्रेन युद्धमा रूसलाई मद्दत गरेको आरोप लगाइरहेको छ । यतिवेला भारतले ट्रम्पबाट खुल्लमखुला आलोचना र उच्च ट्यारिफको सामना गरिरहेको छ । भारतको बहुध्रुवीय संसारको अवधारणा छरप्रस्ट भइरहेजस्तो देखिन्छ ।
यस्तो अवस्थामा प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेट धेरै मानिसलाई कूटनीतिक विजयभन्दा व्यावहारिक मेलमिलापजस्तो लागिरहेको छ । साँच्चै भन्ने हो भने भारतको विदेश नीति यतिवेला कठिन मोडमा उभिएको छ ।
दुई खेमामा हुनुको दुविधा
भारत एकैसाथ दुई खेमामा उभिइरहेको छ । यो जापान, अमेरिका र अस्ट्रेलियासँगै अमेरिकाको नेतृत्वमा रहेको इन्डो–प्यासिफिक क्षेत्र गठबन्धन क्वाडको एक महत्त्वपूर्ण स्तम्भ हो, अर्कोतिर यो चीन–रूस नेतृत्वको सांघाई सहयोग संगठन (एससीओ)को सदस्य पनि हो । यो गठबन्धन प्रायः अमेरिकी हितविरुद्ध उभिएको अवस्थामा देखिन्छ । एकातिर, भारतले रूसबाट सस्तो तेल किन्छ र अर्काेतर्फ अमेरिकी लगानी र प्रविधिलाई पनि आकर्षित गर्छ । भारतले चीनको टियाङजिनमा हुने (आइतबार हुने) एससीओ सम्मेलनमा भाग लिँदै छ । यसबाहेक भारत आईटूयूटू अर्थात् भारत, इजरायल, संयुक्त अरब इमिरेट्स र अमेरिकाको समूहमा पनि छ । यो समूहले प्रविधि, खाद्य सुरक्षा र पूर्वाधारमा काम गर्छ ।
भारतले फ्रान्स र यूएईसँग अर्काे त्रिकोणीय पहल पनि गरेको छ । विश्लेषकहरू भन्छन् –यो सन्तुलन कायम गर्ने प्रयास विनाकारण होइन, भारतले रणनीतिक स्वायत्ततालाई महत्त्व दिन्छ । विभिन्न खेमाहरूसँगको सम्बन्धले यसलाई कमजोर बनाउनुको सट्टा बलियो बनाउँछ भन्ने भारतको सोचाइ छ ।
कुनै पनि अप्रत्याशित क्षतिबाट बच्ने रणनीतिलाई ‘हेजिङ’ भनिन्छ । ओपी जिन्दल ग्लोबल युनिभर्सिटीका प्राध्यापक तथा पूर्वराजदूत जितेन्द्रनाथ मिश्र भन्छन्, ‘हेजिङ एउटा खराब विकल्प हो । तर कुनै एउटा मात्रै खेमामा सामेल हुनु अझ खराब हो । भारतका लागि उत्तम विकल्प त्यहीँ खराब विकल्प हो।'
जितेन्द्रनाथ मिश्र भन्छन्, ‘सायद कुनै पनि महाशक्तिमा भारतसँग पूर्ण रूपमा उभिने आत्मविश्वास छैन । पुरानो सभ्यता भएको देश भएकोले यो इतिहासका अन्य ठुला शक्तिहरूले अपनाएको बाटो पछ्याउन चाहन्छ, अर्थात् आफ्नै सर्तमा शक्ति बन्न चाहन्छ ।’ तर सत्य के हो भने भारतको विश्वव्यापी महत्त्वाकांक्षा यसको क्षमताभन्दा धेरै ठुलो छ ।
भारतको ४० खर्ब डलरको अर्थतन्त्र विश्वमा पाँचौं स्थानमा छ । तर यसको आकार चीनको १८० अर्ब डलर वा अमेरिकाको ३०० खर्ब डलरको अर्थतन्त्रभन्दा धेरै कम हो । भारतको रक्षा उद्योग पनि कमजोर छ । हतियारको हिसाबले भारत विश्वको दोस्रो ठुलो आयातकर्ता हो, तर हतियार निर्यातकर्ताहरूको शीर्ष पाँचको सूचीमा भने पर्दैन । आत्मनिर्भरताको अभियान चलाइरहेको भए पनि भारतले विदेशबाट उच्च मूल्यको सैन्य प्रविधि किन्छ ।
चीनसँगको फेरिँदै गएको सम्बन्ध
विश्लेषकहरूका अनुसार यो असमानताले भारतको कूटनीति निर्धारण गर्छ । यतिवेला भारत र चीनको सम्बन्धमा रहेको ‘बरफ’ अलि पग्लिरहेको देखिन्छ । यही कारणले मोदी यो समयमा चीन गएका उनीहरू विश्वास गर्छन् । सन् २०२० को गलवान द्वन्द्वपछि दुई देशबिचको सम्बन्ध चिसो भएको छ । दुई देशबिच ९९ अर्ब डलरको व्यापार घाटा छ, जुन भारतको रक्षा बजेटभन्दा बढी हो । यो असन्तुलनले धेरै कुरा भन्छ । सम्बन्धमा बदलिएको यो माहोलतिर पनि चीनले संकेत गरेको छ । अमेरिकाले आफ्नो भन्सारमा भारतीय सामानमाथि लगाएको अतिरिक्त महसुल (ट्यारिफ)लाई हालै भारतका लागि चीनका राजदूत जू फेहोङले ‘धम्की’सँग तुलना गरेका थिए । गत हप्ता चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमण गरेका थिए । यस क्रममा उनले दुई छिमेकीहरू ‘साझेदार हुनुपर्छ, प्रतिद्वन्द्वी वा एकअर्काका लागि धम्की होइन’ भनेका थिए । तर आलोचकहरूले यतिवेला एउटा प्रश्न उठाइरहेका छन्– ‘भारतले अहिले चीनसँग रणनीतिक वार्ता किन सुरु गरिरहेको छ ?’
रणनीतिक मामिलाविज्ञ ह्याप्पीमोन ज्याकबले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सीधै प्रश्न गर्छन्, ‘अर्काे के नै विकल्प छ र ?’ चीनलाई व्यवस्थापन गर्नु आगामी केही दशकसम्म भारतको ‘मुख्य रणनीतिक चुनौती’ रहने ज्याकबको ठम्याइ छ । भारत र चीन बिचको वार्तालाई भारत–चीन–रूस त्रिकोणको सन्दर्भमा पनि हेर्नुपर्छ भनी ‘हिन्दुस्तान टाइम्स’मा उनले लेखेका थिए ।
यी वार्ताहरू अमेरिकी नीतिहरूको प्रतिक्रियामा नयाँ गठबन्धनको संकेत भएको अनि अमेरिकाको विकल्पहरू छन् भनेर देखाउने उनी बताउँछन् । ‘यदि चीनको भारतसँगको सम्बन्ध सामान्य छैन भने उसले ट्रम्पविरुद्ध भारतको क्रोधलाई आफ्नो भू–राजनीतिक फाइदाको लागि प्रयोग गर्न सक्षम हुने छैन’ भनेर ज्याकबले यो पनि चेतावनी दिएका छन् । ठुला शक्तिहरू साँच्चै एकअर्कासँग समन्वय गर्न सक्छन् कि सक्दैनन् भन्नेचाँहि हेर्नुपर्ने कुरा हो ।
स्ट्यानफोर्ड विश्वविद्यालयको हुवर इन्स्टिच्युसनका सुमित गांगुली भन्छन्, ‘अमेरिका र चीनबिचको प्रतिस्पर्धा मौलिक रूपमा पारस्परिक रूपमा विरोधी छ । रूस चीनको ‘जुनियर पार्टनर’ बनेको छ । यस्तो अवस्थामा भारतसामु सम्भावना के छ त ? यस प्रश्नको जवाफमा गांगुली भन्छन्, ‘मैले देखेसम्म, भारतको हालको रणनीति कुनै न कुनै रूपमा चीनसँग काम गर्ने सम्बन्ध कायम राख्नु र समय किन्न खोज्नु हो ।’
सम्बन्धका जटिलताहरू
रूसको मामिलामा भारतले अमेरिकी दबाबको अगाडि झुक्ने संकेत धेरै कम देखाएको छ । रूसबाट सस्तो तेल यसको ऊर्जा सुरक्षाको आधारभूत हिस्सा हो । परराष्ट्रमन्त्री जयशंकरको हालैको रूस भ्रमणले पश्चिमी प्रतिबन्धहरू र चीनमा रूसको बढ्दो निर्भरताको बाबजुद भारत यो सम्बन्ध कायम राख्न चाहन्छ भन्ने कुरा स्पष्ट पारेको छ । यो यसको ऊर्जा जीवनरेखा र विदेश नीति स्वायत्तताको संकेत पनि हो । गांगुली भन्छन्, ‘भारतले पनि रुससँग सम्बन्ध सुधार गरिरहेको छ, किनभने उसलाई डर छ कि रुस चीनतिर अरू बढी नढल्कियोस् । साथै अब यो कुरा प्रकाशमा आएको छ कि, ट्रम्पसँगको उनको सम्बन्ध बिग्रँदै गइरहेको छ ।’
ट्रम्पले बारम्बार पाकिस्तानसँगको भारतको युद्ध अन्त्य गर्न आफ्नो मध्यस्थताको दाबी गर्दै आएका छन् । यो कुराबाट भारत रिसाएको छ । यससँगै अमेरिका र भारतबिचको व्यापार सम्झौता पनि अड्किएको छ । रूसी तेल खरिदप्रति ट्रम्पको क्रोधले अमेरिका र भारतबिचको सम्बन्धलाई अझ तनावपूर्ण बनाएको छ, जबकि चीनले भारतभन्दा धेरै तेल किनिरहेको छ । जब ठुला स्वार्थहरू दाउमा हुन्छन्, ठुला दरारहरूले समेत सधैँ आपसी सम्बन्ध तोड्न सक्दैन भनेर इतिहासले देखाउँछ ।
जितेन्द्रनाथ मिश्रा भन्छन्, ‘जबसम्म अर्को चुनौती आउँदैन, तबसम्म हामी सधैँ सबैभन्दा कठिन चुनौतीको सामना गर्छौँ ।’ १९७४ र १९९८ को परमाणु परीक्षणका क्रममा अमेरिकाले भारमाथि कठोर प्रतिबन्ध लगाएको उनले स्मरण दिलाए । त्यतिवेला भारत एक्लो भएको अनि सम्बन्ध बिग्रिन थालेको थियो । उनी भन्छन्, ‘तर एक दशकभन्दा पनि कम समयमा दुवैले मिलेर ऐतिहासिक परमाणु सम्झौता गरे । अर्थात् रणनीतिक आवश्यकता आइपर्यो भने अविश्वास पनि पग्लिन सक्छ,’ मिश्रा भन्छन् ।
विकल्पहरू के छन् ?
यतिवेला प्रश्न सम्बन्ध सुधार हुन्छ कि हुँदैन भन्ने होइन, बरु प्रश्न के हो भने सम्बन्धलाई कुन दिशामा लैजानुपर्छ । कार्नीजी एन्डोमेन्टका वरिष्ठ फेलो एशले टेलिसले ‘विदेश मामिला’मा लेख्छन्, ‘बहुध्रुवीय प्रणालीतर्फ अघि बढ्ने भारतको प्रवृत्तिले यसको सुरक्षालाई कमजोर बनाउँछ ।’ उनी भन्छन्, ‘अमेरिकाको शक्ति अलि कम भएको छ तर आज पनि यो दुवै एसियाली महाशक्तिहरूभन्दा बलियो छ, त्यसैले चीनलाई रोक्न भारतले अमेरिकासँग विशेष साझेदारी गर्नुपर्छ । यदि भारत कुनै पनि खेमामा सामेल भएन भने यसले आफ्नो ढोकामा शत्रु महाशक्तिलाई भेट्टाउनेछ ।’
तर चीन र अमेरिकाका लागि भारतकी राजदूत रहिसकेकी निरुपमा राव भन्छिन्, ‘भारत यति ठुलो र महत्त्वाकांक्षी छ कि यसलाई कुनै एक महाशक्तिमा बाँध्न सकिँदैन । यसको परम्परा र हितले लचिलोपनको माग गर्छ । संसार अब दुई शिविरमा विभाजित छैन, तर अझ जटिल तरिकाले विभाजित भइरहेको छ । यस्तो अवस्थामा, रणनीतिक अस्पष्टता कमजोरी होइन तर स्वायत्तता हो ।’
तर टकरावपूर्ण विचारहरूको बिचमा एउटा कुरा स्पष्ट छ; भारत अब रूस–समर्थित, चीन–नेतृत्व र गैरअमेरिकी विश्व व्यवस्थामा सहज छैन । उनै गांगुली थप्छन्, ‘सत्य यो हो- भारतसँग सीमित विकल्पहरू छन् । चीनसँग मेलमिलापको कुनै सम्भावना छैन, यससँग प्रतिस्पर्धा जारी रहनेछ ।’ केही हदसम्म रुसलाई विश्वास गर्न सकिने उनी बताउँछन् । अमेरिकासँगको भारतको सम्बन्धबारे उनी भन्छन्, ‘ट्रम्प अझै तीन वर्ष सत्तामा रहे पनि, अमेरिका र भारतबिचको सम्बन्ध टिक्नेछ ।’ दुवै देशका लागि यति धेरै कुरा दाउमा छन् कि ट्रम्पको सनकका कारण यो सम्बन्ध टुट्न नदिइने पनि उनले बताए ।
भारतसँग अहिले राम्रो विकल्प छैन भन्ने अन्य विश्लेषकहरू पनि विश्वास गर्छन् । सबैभन्दा राम्रो विकल्प भनेको अमेरिकाले दिएको झट्का सहेर बस्नुपर्ने उनीहरू बताउँछन् । जितेन्द्रनाथ मिश्र भन्छन्, ‘रणनीतिक धैर्य नै भारतको वास्तविक शक्ति हो । भारतले आँधीबेहरीलाई बित्न दिनुपर्छ । समयसँगै साझेदारहरू फर्कन्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण