बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भद्रगोल सरुवा

सरुवा भएको १५ दिनमा पुनः त्यही पालिकाको जिम्मेवारी !

आइतबार, १५ भदौ २०८२, १७ : ३०
आइतबार, १५ भदौ २०८२

सारांश

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रणालीमा लापरबाही गरेको पाइएको छ।
  • देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधीर साफीलाई डेढ वर्षमा चार पटक सरुवा गरिएको छ, तर उनलाई जानकारी छैन।
  • साफीले सरुवा रोकेको आरोप अस्वीकार गर्दै मन्त्रालयको प्रक्रियागत त्रुटि भएको बताएका छन्।
00:00 / NaN:NaN
Audio By AI

विराटनगर । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी सरुवा प्रणाली भद्रगोल र लापरबाहीपूर्ण देखिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधीर साफीलाई मन्त्रालयले कागजी रूपमा डेढ वर्षभित्रै चार पटक सरुवा गरेको छ, जो आफैँमा भद्रगोलको एउटा गतिलो उदाहरण बनेको छ ।

मन्त्रालयको यो निर्णयले कर्मचारी प्रशासनमा रहेको गम्भीर त्रुटि र अभिलेख प्रणालीको कमजोरीलाई छर्लङ्ग पारेको छ, जसले समग्र प्रशासनिक विश्वासमाथि नै प्रश्न उठाएको छ ।

मन्त्रालयले साफीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट २०८१ जेठ ९ गतेदेखि देवानगञ्ज गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाएको थियो । उनलाई त्यही बिचमा गढी गाउँपालिकामा सरुवा गरियो तर उनले सरुवा भएको ठाउँमा गएर काम गरेनन् । २०८१ असोज १६ मा गरेको निर्णयअनुसार अधिकृत साफीलाई गढी गाउँपालिकाबाट फेरि देवानगञ्ज गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाइयो ।

साफीलाई फेरि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही समय अगाडि मन्त्रालयकै अतिरिक्त समूहमा तानेको थियो । २०८२ भदौ १२ गते मन्त्रालयले गरेको सरुवाको लिस्टमा साफीलाई पुनः देवानगञ्ज गाउँपालिकामा सरुवा गरिएको छ ।

घटनाक्रमबारे अनभिज्ञता व्यक्त गर्दै साफीले आफू मन्त्रालयको निर्णयबाट चकित भएको बताएका छन् । उनले डेढ वर्षको अवधिमा आफूलाई कागजमा मात्रै तीन पटक सरुवा गरिएको तर त्यसको कुनै पनि औपचारिक जानकारी वा पत्र आफूले नपाएको दाबी गरे ।

‘डेढ वर्षमा मलाई तीन पटक सरुवा गरिएको रहेछ, तर सरुवाको कागज मसँग आइपुग्दैन’, साफीले भने, ‘मन्त्रालयले कतिबेला के गर्छ, मलाई जानकारी नै हुँदैन ।’ उनले देवानगञ्ज आएको तीन महिनामै आफ्नो सरुवा मन्त्रालयमा भएको पनि पछिमात्रै थाहा पाएको बताए ।

कार्यरतस्थलको यथार्थ जानकारी नलिई केन्द्रबाटै हचुवाको भरमा निर्णय हुँदा आफूजस्ता कर्मचारी मारमा परेको उनको गुनासो छ । देवानगञ्जका केही जानकारहरूले भने अधिकृत साफीले पहुँच र शक्ति प्रयोग गरी आफ्नो सरुवा रोकेको आरोप लगाउँछन् । साफीले यो आरोपलाई ठाडै अस्वीकार गर्छन् । ‘जुन सरुवाको बारेमा मलाई जानकारी नै छैन, त्यो मैले कसरी रोक्न सक्छु ? यो पूर्ण रूपमा मन्त्रालयको प्रक्रियागत त्रुटि र लापरबाही हो । निर्णयहरू केन्द्रमा हुन्छन्, तर त्यसको पत्र र जानकारी हामीसम्म आइपुग्दैन । अनि बाहिर हामीमाथि पहुँच प्रयोग गरेको आरोप लाग्छ,’ उनले भने ।

नेपालको निजामती प्रशासनमा सरुवा प्रणाली विवादित र राजनीतिक हस्तक्षेपबाट ग्रसित हुने गरेको विषयमा आलोचना भइरहने गर्दछ । यसको असर देवानगञ्जमा पनि देखिएको स्थानीय बताउँछन् । गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता जनता समाजवादी पार्टी (जसपा) नेपालका हुन् । स्थानीय नेताहरूका अनुसार, अध्यक्ष मेहतालाई असहयोग गर्नका लागि नेपाली कांग्रेस र एमालेलगायतका दलले सुधीर साफीको सरुवा हुन नदिएको आरोप छ ।

एक स्थानीय नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘अध्यक्षज्यूसँग उहाँको धेरै राम्रो सम्बन्ध छैन, त्यसैले विपक्षीहरूले सरुवाको कागजमात्रै बनाएर उहाँलाई यहीँ थमाउने गर्छन् । अध्यक्षले काम गर्न सकेनन् भनेर देखाउन सकियोस् भनेर उनीहरू लागेका छन् ।’

मन्त्रालयका उपसचिव भीमकान्त पौडेलले भने अन्त जान नमानेपछि साफीलाई कागजमा मात्रै सरुवा गरिएको बताए । ‘कागजमा देवानगञ्ज नदेखिएपछि त्यहाँ सरुवा गरिएको हो,’ स्थानीय तह कर्मचारी प्रशासन शाखाका प्रमुखसमेत रहेका पौडेलले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप