२५ जनाको मिर्गौला निकाले : तस्करलाई ९ लाख, पीडितलाई ५ हजार
सारांश
- काठमाडौँ उपत्यका वरपरका जिल्लाबाट मानिसहरूलाई भारतमा मिर्गौला तस्करी गर्ने गिरोहका मुख्य नाइकेसहित ७ जना पक्राउ परेका छन्।
- पक्राउ परेका व्यक्तिहरूले काम मिलाइदिने बहानामा मानिसहरूलाई भारत लगेर मिर्गौला झिक्ने गरेको र पीडितहरूलाई पैसा नदिने गरेको खुलेको छ।
- मुख्य नाइके श्यामकृष्ण भण्डारीले २५ जनाको मिर्गौला तस्करी गरेको स्वीकारेका छन्, र उनलाई भारतबाट पक्राउ गरिएको हो।
काठमाडौँ । काठमाडौँ उपत्यका आसपासका जिल्लाहरूबाट मानिसहरूलाई ‘काम मिलाइदिन्छौँ’ भन्दै भारत लगेर मिर्गौला तस्करी गर्ने समूहको मुख्य नाइकेसहित ७ जना पक्राउ परेका छन् ।
साउन २० मा प्रहरीको मानव बेचबिखन ब्युरोले राकेश नेपाली, समीर नेपाली र राजकुमार नेपालीलाई पक्राउ गरेको थियो । उनीहरूको बयानको आधारमा मुख्य नाइके सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएका ३८ वर्षीय श्यामकृष्ण भण्डारी भारतबाट पक्राउ परेका हुन् ।
भण्डारीका सहयोगी सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–२ घर भएका २९ वर्षीय सुजन भारती पनि पक्राउ परेका छन् । भण्डारी र भारती नयाँ दिल्ली स्थित लाजपत नगरमा बस्दै आएका थिए ।
भारतमा बस्नेहरूलाई उपत्यका आसपासका जिल्लाहरू काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र धादिङबाट मिर्गौला दाता सङ्कलन गरेर लैजाने थप दुई जना आइतबार काठमाडौँबाट पक्राउ परेका छन् । सविन पन्त र राजकुमार तामाङलाई काठमाडौँबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसएसपी कृष्ण पङ्गेनीले रातोपाटीलाई बताए ।
आरोपीहरू विरुद्ध ५ जना पीडितहरूले प्रहरीकहाँ जाहेरी दिएका छन् । ७ जनाविरुद्ध ४ वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको एसएसपी पङ्गेनीले पत्रकार सम्मेलन गरेर जानकारी दिए । उनले भने, ‘यो संगठित गिरोह रहेछ ।’
पाँचजना आरोपीहरूले पीडितहरूलाई भारतको नयाँ दिल्लीमा लगेर श्यामकृष्ण भण्डारीसँग भेट गराउँथे । दिल्लीको लाजपत नगरमा सुजन भारती पनि भण्डारीसँगै बस्थे ।
गाउँमा गएर ग्राहक खोज्दा आरोपीहरूले ६ लाखसम्मको प्रलोभन दिने गरेका थिए । तर, पीडितहरू कसैले पनि रकम पाएनन् । एसएसपी पङ्गेनी भन्छन्, ‘केही पीडितलाई काम मिलाइदिन्छौँ भनेर भारत लगेर मिर्गौला निकालेको देखिन्छ ।’
नयाँ दिल्लीमा लगेपछि निजी अस्पताल र क्लिनिकमा लगेर पीडितहरूलाई आँखामा पट्टि बाँधेर ३–४ दिनसम्म राखेर मिर्गौला निकाल्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मिर्गौला निकालेपछि गिरोहका सदस्यहरूले पीडितहरूलाई पैसा दिँदैनथे । अहिलेसम्म एक जना पीडितले जम्मा ५ हजार लिएको प्रहरीसँग बताएका छन् ।
तर, गिरोहका मुख्य नाइके श्यामकृष्ण भण्डारीले ९ लाख ४० हजार नेपाली रुपैयाँ (६ लाख भारु) लिने गरेको स्विकारेका छन् । एसएसपी पङ्गेनी भन्छन्, ‘मिर्गौला प्रत्यारोपण गरिएका मानिसहरूबाट उनले सो रकम लिँदा रहेछन् । तर, पीडितहरूलाई भने रकम नदिईकन नेपाल फिर्ता पठाउने गरेको भेटिएको छ ।
२०८१ साउनमा सो गिरोहले काठमाडौँबाट दुई जना दम्पतीलाई भारत लगेका थिए । ४८ वर्षीय र ४७ वर्षीया दम्पतीको मिर्गौला निकालेपछि घाइते शरीर लिएर नेपाल फर्किए । अनुसन्धानमा संलग्न एसपी रुगम कुँवर भन्छन्, ‘आलो घाउ लिएर उहाँहरू हामीकहाँ आउनुभएको थियो ।’
दिल्लीमा बसेर मिर्गौला तस्करीमा संलग्न मुख्य व्यक्ति पहिलो पटक पक्राउ परेका हुन् । उनीहरूलाई पक्राउ गर्न ब्यूरोले ‘अपरेसन सिल्ड’ सञ्चालन गरेको थियो । मुख्य नाइके भण्डारीलाई कञ्चनपुरको महेन्द्रनगर र भारतीलाई पर्साको वीरगन्जबाट पक्राउ गरिएको एसएसपी पङ्गेनीले दाबी गरेका छन् । तर, प्रहरी अधिकृतहरू उनीहरूलाई भारतबाट ल्याइएको बताउँछन् ।
- २५ जनाको मिर्गौला निकालेको स्वीकार
गिरोहको मुख्य नाइके श्यामकृष्ण भण्डारी लामो समयदेखि भारतमा बस्दै आएका थिए । उनले अहिलेसम्म २५ जना नेपालीको मिर्गौला भारतमा बेचबिखन गरेको स्विकारेका छन् । ब्युरोमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी कृष्ण पङ्गेनीले भने, ‘मुख्य आरोपीले २५ जनाको मिर्गौला निकालेको हामीसँग स्वीकार गर्नुभएको छ ।’
तस्करीमा संलग्न मध्येका ३ जना आफूले पनि मिर्गौला बेचेको अनुसन्धान अधिकृतहरू बताउँछन् । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार समीर नेपाली, राजकुमार परियार र सुजन भारती पहिले आफैँ मिर्गौला तस्करबाट पीडित भएपछि ग्राहक खोजेर दिल्ली लैजाने धन्दामा संलग्न भएका हुन् । अवैध अङ्ग प्रत्यारोपण सम्बन्धी कसुरमा ब्युरोले पछिल्लो ७ वर्षमा १४ वटा मुद्दा चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण