१० बजे १० समाचार : रुपन्देही–३ मा लेखजंग थापा बने रास्वपाका उम्मेदवार, चीनमा ओली–मोदी भेट
आज २०८२ भदौ १५ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा रुपन्देही–३ मा लेखजंग थापा बने रास्वपाका उम्मेदवार, चीनमा ओली–मोदी भेट, ठेकदारलाई हर्जाना तिर्नुपर्ने भएपछि इम्बोस्ड नम्बर प्लेट जडानमा कडाइ, सशस्त्र प्रहरीका १६ अधिकृतलाई जिम्मेवारीबाट हटाइयो, पेट्रोलियम पदार्थको मूल्य घट्यो, डेढ वर्षमा चार पटक सरुवा भएका प्रशासकीय अधिकृत जहाँको त्यहीँ लगायत छन् ।
१. रुपन्देही–३ मा लेखजंग थापा बने रास्वपाका उम्मेदवार
रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा रास्वपाले डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । आइतबार उनी उम्मेदवारका रूपमा चयन भएका हुन् ।
२. चीनमा ओली–मोदी भेट
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आइतबार भेट भएको छ । चिनियाँ राष्ट्रपतिले पाहुनाहरूका लागि दिएको दिवाभोजका अवसरमा ओली–मोदी भेट भएको हो ।
३. ठेकदारलाई हर्जाना तिर्नुपर्ने भएपछि इम्बोस्ड नम्बर प्लेट जडानमा कडाइ
इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने सरकारी निर्णयको चर्को विरोध र आलोचनाका बाबजुद पनि निरन्तर जारी छ । महँगो शुल्क, नेपाली भाषाको प्रयोग नभएको जस्ता सवाललाई लिएर सर्वसाधारण तथा सरोकारवाला निकायबाट विरोध भइरहँदा यातायात व्यवस्था विभाग पछि नहट्ने अडानमा छ । ठेकदारलाई हर्जाना तिर्नुपर्ने अवस्था रहेकाले इम्बोस्ड नम्बर प्लेट जडानलाई तीव्रता दिनु परेको विभागको भनाइ छ ।
४. सशस्त्र प्रहरीका १६ अधिकृतलाई जिम्मेवारीबाट हटाइयो
राजस्व सङ्कलन र कार्यसम्पादनमा कमजोरी देखिएपछि एकै पटक सशस्त्र प्रहरीका १६ अधिकृत जिम्मेवारीबाट हटाइएका छन् । सशस्त्र प्रहरी बल नेपालका इकाईहरूमा कमाण्डरको रूपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतहरू राजस्व सङ्कलन र कार्यसम्पादनमा कमजोर देखिएपछि प्रहरी उपरीक्षक (एसपी)सहित १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाइएको हो ।
५. पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएको हो ।
६. डेढ वर्षमा चार पटक सरुवा भएका प्रशासकीय अधिकृत जहाँको त्यहीँ
सुनसरीको देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधीर साफीलाई मन्त्रालयले कागजी रूपमा डेढ वर्षभित्रै चार पटक सरुवा गरेको छ, जो आफैँमा भद्रगोलको एउटा गतिलो उदाहरण बनेको छ । यद्यपि उनी निरन्तर सोही पालिकाको प्रशासकीय अधिकृतकै रूपमा काम गर्दै आएका छन् ।
७. रुपन्देही–३ को उपनिर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने
रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै चुनाव लड्ने घोषणा गर्दै कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिएका छन् ।
८. खानेपानीमन्त्रीसँग चर्को बोल्दा तीन वटा मुद्दा
खानेपानीमन्त्री प्रदीप यादवसँग चर्को स्वरमा कुरा गरेका कारण पक्राउ परेकी किरण साहमाथि प्रहरीले तीन वटा मुद्दा दर्ता गरेको छ । पर्सा प्रहरीका प्रवक्ता एवं डीएसपी किशोर लम्सालका अनुसार खानेपानी मन्त्रीका स्वकीय अधिकृत हरिन्द्र साहले किरणविरुद्ध जाहेरी दिएका थिए ।
९. लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन
लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जअन्तर्गत मनमोहन सेन्टरमा उनको शनिबार निधन भएको एमाले रुकुमपूर्व इन्चार्ज खेममान खड्काले रातोपाटीलाई बताए ।
१०. महाधिवेशन गर्न नसक्ने कांग्रेसका अनेक बहाना
नेपाली कांग्रेसको महाधिवेशन चार वर्षमा गर्नुपर्ने व्यवस्था विधानमा छ । जसअनुसार आगामी मंसिर मसान्तसम्मा महाधिवेशन भइसक्नु पर्ने हो । तर आगामी मंसिरमा महाधिवेशन हुने कुनै सङ्केत देखिएको छैन । नियमित समयमा महाधिवेशन गर्न नसक्ने अवस्थमा पुगेको कांग्रेसले विधानमै विशेष परिस्थितिका लागि राखेको विकल्प प्रयोग गर्दै महाधिवेशनलाई केही पर धकेल्ने अभ्यासलाई निरन्तरता दिँदै आएको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण