सी र मोदीले कैलाश मानसरोवरको चर्चा गरे, लिपुलेकको गरेनन्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर यसपटक थप चासो थियो । गत भदौ ३ गते भारत र चीनले लिपुलेकलाई दुई देशबिच सीमापार व्यापारको केन्द्र बनाउने सहमति गरेपछि नेपालमा तरङ्ग ल्याएको छ ।
आफ्नो भूमि लिपुलेकका विषयमा नेपालसँग कुनै सल्लाह नै नगरी दुई छिमेकी मुलुकले सम्झौता गरेपछि नेपाल रुष्ट छ । नेपाल र भारतबिच सीमा विवाद रहेको लिपुलेकलाई भारतले आफ्नो भूमि भन्दै दाबी गर्दै आएको छ । तर सुगौली सन्धिअनुसार लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा पर्छ ।
शांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ओलीले शनिबारै राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेक विवादका विषयमा कुरा राखे ।
साइडलाइन वार्तामा ओलीले सीसमक्ष लिपुलेकका विषयमा भारत र चीनबिच भएको सम्झौताप्रति आपत्ति जनाए । तर चिनियाँ राष्ट्रपति सीले यो नेपाल र भारतबिचको समस्या भएको र चीनले कसैको पक्ष नलिने जवाफ दिएका छन् ।
‘लिपुलेक विवादमा पक्ष बन्न चाहँदैनौ । यो नेपाल र भारतले समाधान गर्ने विषय हो,’ राष्ट्रपति सीले भनेका छन् ।
चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की भन्छन्, ‘वास्तवमा लिपुलेकको विवाद नेपाल–भारतको हो, यसको समाधान यी दुवै देशले गर्नुपर्ने हो । सीले भनेको कुरा सही हो तर नेपाललाई जानकारी नै नदिईन भारतसँग चीनले पनि सम्झौता गर्न हुँदैनथ्यो । त्यही भएर प्रधानमन्त्री ओली गएर कुरा राख्नुभएको हो ।’
प्रधानमन्त्री ओलीले आफैँ चीनका राष्ट्रपति सीसँग लिपुलेकको विषय उठाउनु राम्रो कुरा भएको कार्की बताउँछन् । ‘अब यो कूटनीतिक नोट मात्र रहेन, यो कुरा धेरै माथि पुगिसक्यो । चीनले रिथिङ्क गर्नुपर्ने अवस्था आएको छ,’ उनी भन्छन्, ‘अब भारतले पनि यसमा विचार गर्नुपर्छ, लिपुलेकको बारेमा कुरा गर्नुपर्छ ।‘
कैलाश मानसरोवरको कुरा
आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच भेटवार्ता भएको छ । त्यसक्रममा कैलाश मानसरोवर र सीमा विवादको कुरा उठे पनि लिपुलेकको विषयमा चर्चा नभएको बताइन्छ । तर मोदीले चलाखीपूर्वक लिपुलेक भारतको हो भन्ने संकेत गरेका छन् ।
मोदीले कैलाश मानसरोवर यात्रा पुनः सुरु भएको भन्दै खुसी व्यक्त गरे । कैलाश मानसरोवर लिपुलेक हुँदै जान्छ । पछिल्लो समय २०२४ डिसेम्बरमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल चीन भ्रमणमा गएको बेला कैलाश मानसरोवार यात्रा लिपुलेकको बाटो हुँदै पुनः सुरुवात गर्ने सहमति गरेका थिए । त्यसबेला पनि नेपालसँग कुनै सल्लाह गरेका थिएनन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१५ मा चीन भ्रमण गएको बेला पनि लिपुलेकलाई लिएर दुईपक्षीय सम्झौता भएको थियो ।
सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी भारत भ्रमणमा गएको बेला कैलाश मानसरोवर यात्रा गर्ने भारतीय तीर्थयात्रीका लागि नयाँ रुट खोल्ने दुवै देशबिच सम्झौता भएको थियो ।
त्यसअघि सन् १९९९ मा तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंह चीन भ्रमणमा गएको बेला लिपुलेकलाई दुई देशको साझा व्यापारिक नाका बनाउने सम्झौता भएको थियो । यसरी नेपालको भूमि लिपुलेकको बारेमा भारत र चीनबिच पटक-पटक सम्झौता भएको छ । त्यसबारे नेपालले कुरा उठाउँदा नेपाल-भारतको समस्या भन्दै चीन सधैँ पन्छिने गरेको छ ।
मोदीले सीसँगको भेटमा कैलाश मानसरोवर यात्रा पुनः सुरु भएको र दुई देशबिच सिधा हवाई उडान पनि पुनः सुरु भइरहेको बताएका थिए । दुई देशबिचको सम्बन्धका कारण २.८ अर्ब जनताको हित जोडिएको र यसले सम्पूर्ण मानव कल्याणमा योगदान पुर्याउने भारतीय प्रधानमन्त्री मोदीले बताएका थिए ।
बैठकमा राष्ट्रपति सीले हात्ती र ड्रागन एकसाथ आउनु महत्त्वपूर्ण कुरा भएको धारणा राखेका थिए । नयाँ दिल्लीलाई बेइजिङको महत्त्वपूर्ण मित्र भनेर उनले दुई मुलुकले रणनीतिक र दीर्घकालीन दृष्टिकोण सम्बन्धलाई सम्हालेर राख्नुपर्ने धारणा राखे ।
प्रधानमन्त्री ओलीले लिपुलेकको विषयमा चीन र भारत दुवैसँग कुरा गर्ने भनेका छन् । तर भारतीय प्रधानमन्त्री मोदीसँगको चीनमा भेटबारे निश्चित भएको छैन ।
एमालेका नेता एवं विदेश मामिलाका जानकार विष्णु रिजाल प्रधानमन्त्रीको अर्को कदम भनेकै भारतसँग कुरा राख्ने हो ।
‘चीनसँग जुन लेभलमा कुरा भएको छ, त्योभन्दा माथिको अब कुनै लेभल नै हुँदैन । यो लेभलमा कुरा भइसकेपछि अब भारत पनि यसमा गम्भीर हुनुपर्छ,’ उनी भन्छन् ।
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तयारीमा छन् । चीनबाट फर्केपछि सम्भवतः भदौ ३१ गते उनी भारत भ्रमणका लागि प्रस्थान गर्नेछन् । त्यहाँ उनले लिपुलेकको विषय उठाउने उनको तयारी छ ।
‘यो चीनसँग जोडिएको विषय होइन, भारतसँग जोडिएको विषय हो । तर सीमा व्यापारको सन्दर्भमा भारतसँग सम्झौता गरेका कारण चीनसमक्ष नेपालले कुरा राखेको हो,’ रिजाल भन्छन्, ‘भारत यसमा गम्भीर भएर समाधानतर्फ लाग्नुपर्छ ।‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण