बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दादागिरीको राजनीति सहिँदैन : सी जिनपिङ

सोमबार, १६ भदौ २०८२, ११ : ३२
सोमबार, १६ भदौ २०८२

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय व्यवस्थामा धम्कीपूर्ण व्यवहारको कडा आलोचना गर्दै थप निष्पक्षता, न्याय र बहुपक्षीयताको माग गरेका छन् । सोमबार तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो माग गरेका हुन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित धेरै देशहरूमाथि लगाएको भारी शुल्कको चीनले कडा निन्दा गरेकै समयमा जिनपिङको यो टिप्पणी आएको हो । अमेरिका र चीन ट्यारिफको विषयमा अस्थायी सम्झौतामा पुगेका छन् ।

व्यापार सम्झौतासम्बन्धी वार्तालाई जारी राख्न सकियोस् भनेर ट्रम्पले फेरि चीनबाट आउने सामानमा अमेरिकी भन्सारमा भारी अतिरिक्त महसुल ९० दिनको लागि स्थगित गरेका छन् । 

चीनले अमेरिकातर्फ दुर्लभ खनिज पदार्थको निर्यात रोक्यो भने २०० प्रतिशत कर लगाउने गतहप्ता ट्रम्पले चेतावनी दिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र मध्य एसिया, पश्चिम एसिया, दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका राष्ट्र प्रमुखहरूसहित २० भन्दा बढी देशका नेताहरूका अगाडि सिले यो कुरा भनेका हुन् ।

कसैको नाम नलिई उनले केही शक्तिशाली देशहरूलाई कट्टरपन्थी र शक्ति राजनीतिको आरोप लगाए । उनले न्याय र समानतामा आधारित विश्व व्यवस्थाको माग गरे र जसमा सबैलाई भाग लिने अधिकार भएको बताए ।

‘जब यो संस्था लगभग २४ वर्ष पहिले स्थापना भएको थियो, हामीले शाङ्घाई भावनाको जग बसालेका थियौँ । यो भावना पारस्परिक विश्वास, पारस्परिक लाभ, समानता, परामर्श, सभ्यताको विविधताको सम्मान र साझा विकासको प्रयासमा आधारित छ । हामीले पहिले हाम्रा सिमानामा सैन्य विश्वास बढाउने व्यवस्था गर्‍यौँ, जसले हाम्रा लामो सिमानाहरूमा मित्रता, विश्वास र सहयोगको पुल बन्यो । हामीले पहिलो पटक आतङ्कवाद, पृथकतावाद र अतिवादका तीन शक्तिहरू विरुद्ध मिलेर बहुपक्षीय कारबाही सुरु गर्‍यौँ । हामीले कानुन, व्यवस्था र सुरक्षा सहयोगलाई निरन्तर अगाडि बढायौँ’ सीले भने ।

‘हामीले मतभेदहरूलाई उचित रूपमा ह्यान्डल र समाधान गर्याैं, बाह्य हस्तक्षेपको स्पष्ट रूपमा विरोध गर्याैं र क्षेत्रमा शान्ति र स्थिरता कायम राख्यौँ’ उनले भने । 

आफूहरूले पहिलो पटक बेल्ट एन्ड रोड इनिसिएटिभ सुरु गरेको, सधैँ अन्तर्राष्ट्रिय न्याय र निष्पक्षताको पक्षमा उभिइरहेको, सभ्यताहरूका बिचमा समावेशीकरण र पारस्परिक सिकाइलाई प्रवर्द्धन गरेको अनि र हेजेमोनिक सोच र शक्ति राजनीतिको विरोध गरेको पनि उनले बताए ।

आफ्नो भाषणमा जिनपिङले एससीओका सबै सदस्य देशहरू एक अर्काको मित्र र साझेदार भएको समेत बताए । आफूहरूले एक अर्काको मतभेदलाई सम्मान गर्नुपर्ने, रणनीतिक संवाद कायम राख्नुपर्ने, सहमति बनाउनुपर्ने र एकता अनि सहयोगलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

यस क्षेत्रमा शान्ति, स्थिरता, विकास र समृद्धिका लागि आ–आफ्नो जिम्मेवारी पूरा गर्न सहयोगको दायरा विस्तार गर्नुपर्ने र प्रत्येक देशको विशेष क्षमताहरूको पूर्ण उपयोग गर्नुपर्ने पनि उनले बताए । 

विश्व परिस्थिति अझै पनि अस्थिर र अशान्त भएकोले धम्कीको राजनीतिलाई अस्वीकार गर्नुपर्नेमा सीले जोड दिएका थिए । बाह्य हस्तक्षेपको विरोध गर्नुपर्ने र सबै देशहरूको वैध विकासको अधिकारको रक्षा गर्नुपर्ने पनि उनले बताए ।

बहुपक्षीयताको वकालत गर्दै सिले संयुक्त राष्ट्रसङ्घको भूमिकाको रक्षा गर्न र विश्वव्यापी व्यापारको अखण्डता कायम राख्नुपर्नेमा जोड दिए । आफूहरूले न्याय र समानताको समर्थन गर्ने र कट्टरपन्थी शक्ति एवम् शक्तिको राजनीतिको विरोध गर्ने भन्दै अन्तर्राष्ट्रिय मामिलामा सम्मानमा आधारित रचनात्मक सहभागिता हुनुपर्ने सीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप