बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

'अमेरिकी सामानमा ट्यारिफ हटाउन भारतले प्रस्ताव गर्‍यो'

मङ्गलबार, १७ भदौ २०८२, १५ : ३७
मङ्गलबार, १७ भदौ २०८२

वासिङटन डीसी । भारतले अमेरिकाबाट आउने सामानमा लगाइएको भन्सारमा अतिरिक्त महसुल (ट्यारिफ) हटाउन प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

भारतसँग अहिले चलिरहेको व्यापार तनावलाई उनले पूर्णत एकतर्फी विपद्समेत भने । अमेरिकाले अहिले भारतबाट आउने सामानमाथि ५० प्रतिशत टयारिफ लगाएको छ । योमध्ये २५ प्रतिशत रुसबाट तेल किन्न बन्द नगरेपछि दन्डस्वरुप लगाइएको हो ।

यो गएको हप्ता मात्रै कार्यान्वयनमा आएको थियो । ट्रम्पको पछिल्लो टिप्पणीमाथि भारतले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । रुसी तेल खरिदबारे पछिल्लो समयदेखि भारत र अमेरिकाबिच वाक युद्ध चलिरहेको छ । जसले गर्दा दुवै देशबिचको सम्बन्ध निकै खस्किएको छ ।

साङहाई को–अपरेशन संगठन (एससीओ)मा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनको तियान्चिन गएकै समयमा ट्रम्पको यो बयान आएको हो । एससीओमा मोदीले चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए ।

भारतले घुमाउरो पाराले रुसको युक्रेन युद्धमा पैसा लगाइरहेको अमेरिकाले आरोप लगाएको थियो । एकपटक त ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले रुसको युक्रेन युद्धलाई मोदीको युद्ध नै भनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप