काठमाडौँ महानगरको ‘निःशुल्क उपचार’ कार्यान्वयन : २०४ असहायले पाए ७४ लाख बढीको सेवा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘लक्षित वर्ग निःशुल्क उपचार’ कार्यक्रममार्फत हालसम्म २०४ जना विपन्न, असहाय र बेवारिसे व्यक्तिले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
२०८० फागुन १ गतेदेखि सुरु भएको यस कार्यक्रमअन्तर्गत हालसम्म करिब ७४ लाख १६ हजार रुपियाँ बराबरको उपचार सेवा प्रदान गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाका अनुसार सबैभन्दा धेरै ४८ जनाले शल्यक्रिया सेवा लिएका छन् । यसमा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशा, पित्त थैली र मिर्गौलाको पत्थरी, हाड जोर्नी तथा नाक कान घाँटी सम्बन्धी शल्यक्रियाहरू समावेश छन् ।
शल्यक्रियापछि दोस्रो बढी सेवा लिइएको विधा फेमिली मेडिसिन रहेको छ । यसअन्तर्गत जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, र दीर्घ कलेजो रोगका बिरामीले सेवा लिएका छन् ।
अन्य सेवातर्फ, ७ जनाले आकस्मिक स्वास्थ्य सेवा, १९ जनाले नशा तथा स्नायु सम्बन्धी, १३ जनाले श्वासप्रश्वास सम्बन्धी, र १२ जनाले मूत्र प्रणाली तथा पिसाब सम्बन्धी समस्याको उपचार गराएका छन् ।
महानगरको यस प्रणालीमार्फत सेवा दिने अस्पतालहरूमध्ये अन्नपूर्ण न्युरोलोजिकल हस्पिटलले सबैभन्दा धेरै ५० जनालाई निःशुल्क सेवा दिएको छ ।
यस्तै काठमाडौँ मेडिकल कलेजबाट १९ जना, काठमाडौँ मोडेल अस्पतालबाट १८ जना, नेपाल आँखा अस्पतालबाट १५ जना र पिपुल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट ९ जनाले सेवा प्राप्त गरेका छन् ।
सेवा प्राप्त गर्ने लाभग्राहीहरूलाई प्रदेशगत रूपमा हेर्दा, सबैभन्दा धेरै बागमती प्रदेशका ७२ जना रहेका छन् । त्यसैगरी, गण्डकी प्रदेशका ३२ जना, कोशी प्रदेशका २७ जना, मधेस प्रदेशका २१ जना, लुम्बिनी प्रदेशका २० जना, कर्णाली प्रदेशका १७ जना र सुदूर पश्चिम प्रदेशका १५ जना बिरामीले काठमाडौँ महानगरको यस सुविधाबाट उपचार पाएका छन् ।
कार्यान्वयनमा आयो कानुनी व्यवस्था
लक्षित वर्गलाई निःशुल्क उपचार गराउनुपर्ने कानुनी व्यवस्था भए पनि यसअघि यो प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको थिएन ।
काठमाडौँ महानगरपालिकाले ‘लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गर्दै यसलाई अनलाइन प्रणालीमार्फत कार्यान्वयनमा ल्याएको हो ।
सेवा सहजीकरणका लागि महानगरको स्वास्थ्य विभागमा फोकल पर्सनको व्यवस्था गरिएको छ । हालसम्म यस प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका कुल ३८० शय्या महानगरपालिकाको प्रणालीमा आबद्ध भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण