प्रचण्डसँग माधव नेपालको हिमचिम, माओवादीसँग एकता गरे झलनाथ समूहले विद्रोह गर्ने
सारांश
- प्रचण्ड र माधव नेपालबीचको छलफलले राजनीतिक तरङ्ग ल्याएको छ।
- एकीकृत समाजवादीका नेता झलनाथ खनाल समूहले प्रचण्ड-नेपालको छलफलप्रति शङ्का व्यक्त गरेको छ।
- पार्टी एकताको तयारी र खनाल समूहको असन्तुष्टिका बीच, एकीकृत समाजवादीले बैठक बोलाएको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच भएको पछिल्लो छलफलले राजनीतिक तरङ्ग बढाइरहेको छ । प्रचण्ड र नेपालबिचको छलफललाई एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनालको समूहले भने शङ्काको दृष्टिले हेरेको छ ।
पार्टीका पदाधिकारी तहका नेताहरूलाई कुनै जानकारी नदिई एकीकृत समाजवादीका अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग केही महिनादेखि पटकपटक छलफल गर्दै आएका छन् ।
पतञ्जली योगपीठको जग्गा हिनामिनामा भूमिका निर्वाह गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आफूविरुद्ध मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल अप्ठ्यारोमा छन् । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको योजनामा आफूलाई राजनीतिक षडयन्त्रमा पारिएको उनको आरोप छ । सोही मुद्दा झेलेका अध्यक्ष नेपाललाई उनकै पार्टीका सम्मानित नेता खनालले नैतिकताका आधारमा नेतृत्व छाड्न दबाब दिइरहेका छन् ।
राष्ट्रिय राजनीतिमा कमजोर बन्दै गएका अध्यक्ष नेपाल एकातिर भ्रष्टाचार मुद्दा झेलिरहेका छन् भने अर्कोतिर आफ्नै पार्टीभित्र खनाल समूहको निसानामा परेका छन् । यी दुवै प्रतिकूल परिस्थितिले कुनै पनि समय आफू अप्ठ्यारोमा पर्न सक्ने आकलन गरी उनी माओवादीसहितका वामपन्थी दलहरूसँग एकताका लागि हतारिएको हुन सक्ने आशंका गरिएको छ ।
माओवादीका अध्यक्ष प्रचण्ड मंगलबार महासचिव देव गुरुङलाई लिएर नेपाललाई भेट्न एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोगनगर पुगेका थिए । एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव रामकुमार भट्टराई छलफलमा सहभागी दिए ।
सो अवसरमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, वामपन्थी एकता र ध्रुवीकरणलाई सुदृढ बनाउने गरी छलफल भएको दुवै पक्षले बताएका छन् । माओवादीका महासचिव गुरुङले समाजवादी मोर्चालाई बलियो बनाउने विषयमा छलफल केन्द्रित भएको बताए । पार्टी एकताको विषयमा ठोस निष्कर्षमा नपुगेको उनको भनाइ थियो ।
‘समाजवादी मोर्चालाई बलियो बनाएर लैजाने सम्बन्धमा छलफल भयो । विचार र सिद्धान्त मिलेमा दुई पार्टीबिच एकता हुन सक्छ, तर अहिले नै कुनै निष्कर्षमा हामी पुगेका छैनौँ’, महासचिव गुरुङले भनेका थिए ।
एकीकृत समाजवादीका उपमहासचिव भट्टराईले पनि समाजवादी मोर्चालाई प्रभावकारी बनाउन तथा वामपन्थी एकता र धु्रवीकरणलाई सुदृढ गर्ने विषयमा छलफल भएको बताएका थिए ।
‘समाजवादी मोर्चाको कामलाई कसरी सहज बनाउने ? पार्टीभित्रको असहजताको दुरी कसरी हटाउने विषयमा छलफल थियो । वामपन्थी एकतालाई दुवै पार्टीले पहल गर्ने कुरामा छलफल भएको थियो । धेरैभन्दा धेरै वामपन्थीसँग एकता गरेर बलियो कम्युनिस्ट पार्टी निर्माण गर्नेमा छलफल केन्द्रित थियो’, उनको भनाइ थियो ।
अहिले पार्टी एकताका लागि दुवै पक्षले प्रदेशस्तरमै छलफललाई तीव्र बनाएका छन् । प्रचण्ड र नेपालबिच लगातार छलफल हुँदै आएको र पार्टीको कुनै पनि समितिलाई थाहा नदिई एकताको तयारी गरिएको आशङ्कामा खनाल समूहले असन्तुष्टि जनाउँदै आएको छ ।
‘देशभरिका नेता तथा कार्यकर्ताहरूबाट माओवादीसँग पार्टी एकता गर्न लागिको हो भनेर प्रश्न उठेका छन् । पार्टीको कुनै समितिमा पनि छलफल भएको छैन’, रातोपाटीसँग खनालले भने, ‘पार्टी एकताजस्तो गम्भीर विषय कुनै एक नेताको लहडमा हुने होइन । पछिल्लो सचिवालय बैठकमा अध्यक्षले माओवादीसँग एकता हुन सक्दैन भनेर प्रस्ताव पेस गर्नुभएको छ । हामीले उहाँले पेस गर्नुभएको प्रस्तावलाई नै विश्वास मानिरहेका छौँ ।’

यसअघि २०७४ सालमा तत्कालीन एमाले र माओवादीबिच भएको ‘सरप्राइजिङ’ एकता जसरी घोषणा गर्न लागिए विद्रोह हुने खनालले स्पष्ट पारे । आफूहरू माओवादीसँग मात्र एकता गर्नभन्दा पनि बृहत् वामपन्थी एकताको पक्षमा रहेको उनले बताए ।
‘विचार, सिद्धान्त, कार्यदिशा, संगठनमा एकरूपता नभई पार्टी एकता हुन सक्दैन । पार्टीभित्र एकताबारे कुनै प्रस्ताव आएको पनि छैन । छलफल भएको पनि छैन । अध्यक्षले मात्र चाहेर एकता हुँदैन । कुनै छलफल र पार्टीको सहमतिविना एकता भएमा मान्य हुँदैन, विद्रोह हुन्छ’, उनले भने ।
भदौ १५ गते नयाँबानेश्वरमा खनाल र महासचिव घनश्याम भुसाल समूहको छुट्टै भेला भएको थियो । भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, पूर्वउपमहासचिव डा. विजय पौडेल, पूर्वसचिव जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री लगायत ५० जनाभन्दा बढी नेता उपस्थित भएको दाबी गरिएको छ । भेलाले यथास्थितिमा माओवादीसँग पार्टी एकता गरिए आत्मघाती हुने निष्कर्ष निकालेको थियो ।
‘अहिले माओवादी केन्द्रसँगमात्र एकता गर्दा हुने फाइदा–घाटाबारे छलफल भयो । एकता गरे अरू साना वामदलसहित गर्नुपर्छ । माओवादीसँग मात्र गर्दा धेरै नेता–कार्यकर्ता एमालेमा फर्कने र त्यो प्रत्युत्पादक हुनसक्ने निष्कर्ष निस्कियो’, सहभागी एक नेताले भनेका थिए ।
खनाल पक्षका अर्का एक नेताले माओवादीसँग पार्टी एकता नभई केही नेता माओवादीमा प्रवेश गर्न लागिएको हुन सक्ने बताए । पार्टी एकताको विषयमा आफूहरूलाई कुनै जानकारी नआएको र पार्टीभित्र पनि छलफल नभएको उनले जिकिर गरे ।
‘पार्टी एकता हुन लागेको हल्ला चलेको छ, तर हामीलाई कुनै जानकारी छैन । माओवादीमा प्रवेश गर्नका लागि एमालेसँग विद्रोह गरेको होइन । माओवादीसँग मात्र एकता गर्ने भए बरु एमाले नै ठिक छ’, ती नेताले भने, ‘माधवजीलाई मुद्दा लागेको हुनाले एकताका लागि हतारिएको हुन सक्छ तर उहाँले गर्न लागेको एकता होइन, पार्टी प्रवेश हो । केही नेता प्रवेश गरे भने पार्टी पुनर्गठन हुन्छ । पार्टी एकता हुँदैन ।’
यता उपाध्यक्ष जगन्नाथ खतिवडाले माओवादीसहित विभिन्न वामपन्थी दलहरूसँग पार्टी एकताको विषय वैचारिक र सैद्धान्तिक चरणमै रहेको जिकिर गरे । अहिले नै पार्टी एकता नहुने उनको भनाइ थियो ।
‘अहिले हाम्रो पार्टी र नेकपा माओवादी केन्द्रको बिचमा आन्तरिक रूपमा बिग्रेका सम्बन्ध सुधार्ने विषयमा मात्रै छलफल भइराखेको छ । बिचमा धेरै कारणले हाम्रो सम्बन्ध विश्वासयोग्य थिएन । सहकार्यमा थियौँ तर आन्तरिक विश्वास कमजोर थियो । किन कमजोर भयो र के गल्ती भयो भन्ने कुराको समीक्षा गर्ने विषयमै हाम्रो धेरै छलफल भइरहेका छन्’, उनले भने ।
खनाल समूहले भदौको अन्तिम हप्ता बस्ने केन्द्रीय समिति बैठकमा नेपालले अध्यक्ष पद छोड्नुपर्ने सहितको प्रस्ताव लैजाने तयारी गरेको संस्थापन पक्षको आशङ्का छ । एकीकृत समाजवादीले भदौ २५ गते सचिवालय, २६ गते स्थायी समिति बैठक बोलाएको छ । भदौ २७ देखि केन्द्रीय समिति बैठक बस्ने जनाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण