शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती

बिहीबार, १९ भदौ २०८२, २० : ३३
बिहीबार, १९ भदौ २०८२

सुदूरपश्चिम । ‘सानी डाली घँगारुकी, मुसुरदानी ।

 ठुम्के चरो बास ।।

म बाबाका माइत जान्छु, मुसुरदानी ।

नौगेडी ल्याइआस ।।’

अर्थात् (घँगारुको बोटमा ठुम्के नामको चरो बास बसेको छ । म माइत जान लागेकोले नौगेडी ल्याइदिनुस्) 

यस्तै गीत गाउँदै गौरा पर्व मनाउन धनगढीको गौरा घरमा यतिबेला दिनहुँ भेला हुने महिलाले डोटेली भाषामा प्रस्तुत ‘मुसुरदानी’ गीतको बोलमा गाउँदै माहोल तताइरहेको छ । 

महिलाले समूहमा गोलबन्द भई प्रस्तुत गरेको उक्त गीतको बोलमा आज महिलाहरु आपसमा रमाइरहँदा उपस्थित दर्शकले पनि भरपुर आनन्द लिए । रौनक बढ्दा खेल परिसर खचाखच थियो ।

ठाडो भाकाको यो गीतले विवाहिता छोरीले माइतीपक्षप्रति गरिने माया, आशा एवं अपेक्षालाई दर्शाउने गरेको जानकार पद्मादेवी भट्टले बताइन् । महिलामाझ ‘मसुरदानी’ गीत सुदूरपश्चिमका गाउँबस्तीमा सदियौँदेखि लोकप्रिय छ । 

अर्को समूहमा गोलबन्द महिला–पुरुषबिचको समूहमा दोहोरी शैलीमा देउडा गीत खेल्दै सवाल जवाफ भइरहँदा माहोल थप रोमाञ्चक बन्यो ।

वर्षमा एक पटक मौलिक गौरा पर्व मनाउन यतिबेला सुदूरपश्चिमका गाउँबस्ती यस पर्वमा खेलिने गीतको रौनकले छपक्क छोपिएका छन् । 

कतिपय देउडा खेल खेल्दा एकआपसमा घोचपेच र तिखो व्यङ्ग पनि गर्ने गरिन्छ । चैत धमारीजस्ता गीतको बोलमा खेलिने खेलले भने देवी देवताको महिमा दर्शाउने गौरा गीतका गितेरु (गीतकार) सागर बोहराले बताए । 

सामाजिक विकृति विसङ्गति र कुशासनविरुद्ध देउडाका माध्यमले तिखो व्यङ्ग गर्दै समाजलाई सही बाटोमा डोर्‍याउन यस्ता गीतले मद्दत पु–याउने जानकारहरू बताउँछन् । 

चैत, धमारी, फागलगायत खेलले इष्टदेव कूलदेवको महिमा दर्शाउने र देउडाका गीतले समाजका विकृति विसङ्गतिविरुद्ध तिखो व्यङ्ग गर्ने, आफ्नो गाउँ ठाउँका प्राकृतिक र धार्मिकस्थलको महत्वलाई पनि उजागर गर्ने गौरा खेल्दै आउनुभएका पुष्पराज पाण्डेले बताए । 

गौरा र महेश्वर (शिव)को पूजाआजा सकेपछि गौरा घर अथवा मन्दिर परिसरमा खेल खेल्ने गरिन्छ । सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

सप्तमीका दिन व्रतालु हिन्दु महिला सामूहिक रूपमा नजिकैको खेतमा गएर बोट बिरुवाबाट तयार पार्ने गौराको प्रतिमालाई माङ्गल गीत र फाग(धार्मिक अनुष्ठान) गाउँदै गौरालाई गौरा घर अथवा मन्दिरमा भित्र्याउने गर्दछन् ।  

गौरादेवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुखशान्ति हुन्छ भन्ने विश्वास गरिन्छ ।

यसैपर्वदेखि विवाहिता हिन्दु महिलाले अर्को वर्षको गौरा पर्व नआउँदासम्म धागोबाट बनाइने ‘दुब–धागो’ आ आफ्नो घाँटीमा लगाउने प्रचलन छ । अनुकूल बारका दिन गौरा पर्वको विसर्जन गरिन्छ । 

माहोल बढ्दै जाँदा खेलमा रमाउनेहरुको आग्रहमा कतिपय गाउँमा गौरा खेल १०/१५ दिनसम्म खेल्ने गरिन्छ । 

पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन गरिएको कठोर व्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही विश्वासमा गौरा पर्व मनाउने गरिएको भनाइ छ ।

पौराणिककालमा भृगुवंशी एक ब्राह्मणीले आफ्नो सतित्व रक्षाका लागि निराहार बसी गरेको शिव र पार्वती(गौरा)को पूजाको फलस्वरुप ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेकीले गौरालाई सर्वशक्तिमान भएको विश्वासमा गौरा पर्व मनाउन थालिएको देवी भागवत् पुराणमा उल्लेख गरिएको ज्योतिष मनिराज जोशीले बताए । 

देवी देवताका गाथा एवं महिमा दर्शाउने गीत भने पछिल्ला वर्षमा पुस्तान्तरण हुन नसक्दा लोप हुँदै गएको अवस्थामा यसको विकल्पमा देउडाको वर्चश्व देखिन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप