गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती
सुदूरपश्चिम । ‘सानी डाली घँगारुकी, मुसुरदानी ।
ठुम्के चरो बास ।।
म बाबाका माइत जान्छु, मुसुरदानी ।
नौगेडी ल्याइआस ।।’
अर्थात् (घँगारुको बोटमा ठुम्के नामको चरो बास बसेको छ । म माइत जान लागेकोले नौगेडी ल्याइदिनुस्)
यस्तै गीत गाउँदै गौरा पर्व मनाउन धनगढीको गौरा घरमा यतिबेला दिनहुँ भेला हुने महिलाले डोटेली भाषामा प्रस्तुत ‘मुसुरदानी’ गीतको बोलमा गाउँदै माहोल तताइरहेको छ ।
महिलाले समूहमा गोलबन्द भई प्रस्तुत गरेको उक्त गीतको बोलमा आज महिलाहरु आपसमा रमाइरहँदा उपस्थित दर्शकले पनि भरपुर आनन्द लिए । रौनक बढ्दा खेल परिसर खचाखच थियो ।
ठाडो भाकाको यो गीतले विवाहिता छोरीले माइतीपक्षप्रति गरिने माया, आशा एवं अपेक्षालाई दर्शाउने गरेको जानकार पद्मादेवी भट्टले बताइन् । महिलामाझ ‘मसुरदानी’ गीत सुदूरपश्चिमका गाउँबस्तीमा सदियौँदेखि लोकप्रिय छ ।
अर्को समूहमा गोलबन्द महिला–पुरुषबिचको समूहमा दोहोरी शैलीमा देउडा गीत खेल्दै सवाल जवाफ भइरहँदा माहोल थप रोमाञ्चक बन्यो ।
वर्षमा एक पटक मौलिक गौरा पर्व मनाउन यतिबेला सुदूरपश्चिमका गाउँबस्ती यस पर्वमा खेलिने गीतको रौनकले छपक्क छोपिएका छन् ।
कतिपय देउडा खेल खेल्दा एकआपसमा घोचपेच र तिखो व्यङ्ग पनि गर्ने गरिन्छ । चैत धमारीजस्ता गीतको बोलमा खेलिने खेलले भने देवी देवताको महिमा दर्शाउने गौरा गीतका गितेरु (गीतकार) सागर बोहराले बताए ।
सामाजिक विकृति विसङ्गति र कुशासनविरुद्ध देउडाका माध्यमले तिखो व्यङ्ग गर्दै समाजलाई सही बाटोमा डोर्याउन यस्ता गीतले मद्दत पु–याउने जानकारहरू बताउँछन् ।
चैत, धमारी, फागलगायत खेलले इष्टदेव कूलदेवको महिमा दर्शाउने र देउडाका गीतले समाजका विकृति विसङ्गतिविरुद्ध तिखो व्यङ्ग गर्ने, आफ्नो गाउँ ठाउँका प्राकृतिक र धार्मिकस्थलको महत्वलाई पनि उजागर गर्ने गौरा खेल्दै आउनुभएका पुष्पराज पाण्डेले बताए ।
गौरा र महेश्वर (शिव)को पूजाआजा सकेपछि गौरा घर अथवा मन्दिर परिसरमा खेल खेल्ने गरिन्छ । सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।
सप्तमीका दिन व्रतालु हिन्दु महिला सामूहिक रूपमा नजिकैको खेतमा गएर बोट बिरुवाबाट तयार पार्ने गौराको प्रतिमालाई माङ्गल गीत र फाग(धार्मिक अनुष्ठान) गाउँदै गौरालाई गौरा घर अथवा मन्दिरमा भित्र्याउने गर्दछन् ।
गौरादेवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुखशान्ति हुन्छ भन्ने विश्वास गरिन्छ ।
यसैपर्वदेखि विवाहिता हिन्दु महिलाले अर्को वर्षको गौरा पर्व नआउँदासम्म धागोबाट बनाइने ‘दुब–धागो’ आ आफ्नो घाँटीमा लगाउने प्रचलन छ । अनुकूल बारका दिन गौरा पर्वको विसर्जन गरिन्छ ।
माहोल बढ्दै जाँदा खेलमा रमाउनेहरुको आग्रहमा कतिपय गाउँमा गौरा खेल १०/१५ दिनसम्म खेल्ने गरिन्छ ।
पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन गरिएको कठोर व्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही विश्वासमा गौरा पर्व मनाउने गरिएको भनाइ छ ।
पौराणिककालमा भृगुवंशी एक ब्राह्मणीले आफ्नो सतित्व रक्षाका लागि निराहार बसी गरेको शिव र पार्वती(गौरा)को पूजाको फलस्वरुप ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेकीले गौरालाई सर्वशक्तिमान भएको विश्वासमा गौरा पर्व मनाउन थालिएको देवी भागवत् पुराणमा उल्लेख गरिएको ज्योतिष मनिराज जोशीले बताए ।
देवी देवताका गाथा एवं महिमा दर्शाउने गीत भने पछिल्ला वर्षमा पुस्तान्तरण हुन नसक्दा लोप हुँदै गएको अवस्थामा यसको विकल्पमा देउडाको वर्चश्व देखिन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण