बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च
सारांश
- महोत्तरीको बर्दिबास नगरपालिकामा १३ महिनामा १४५ जना नयाँ क्षयरोगी फेला परेका छन्।
- वडा नम्बर ८ मा सबैभन्दा बढी २२ जना क्षयरोगी फेला परेका छन्, जहाँ सघन जाँच अभियान सुरु गरिएको छ।
- स्वास्थ्यकर्मीका अनुसार घरेलु मदिराको सेवन, स्वास्थ्य सचेतनाको कमी र पौष्टिक आहारको अभावले रोग बढेको हुनसक्छ।
महोत्तरी । महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला १३ महिना अवधिमा यस नगर क्षेत्रमा एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका छन् । यो २०८१ साउन १ गतेदेखि २०८२ साउन मसान्तसम्मको आँकडा हो ।
नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखाले बस्तीबस्तीमा सञ्चालन गरेको जाँच अभियानमा यसपालि एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका हुन् । नगरपालिकाका १४ वटा वडामध्ये यो रोगले वडा नं ८ लाई बढी प्रभावित गरेको पाइएको स्वास्थ्य शाखाका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेश पासवानले जानकारी दिए । वडा नं ८ को हाथीलेटका टोल बस्तीमा यसपालि २२ जना नयाँ क्षयरोगी पहिचान गरिएका नगर स्वास्थ्य शाखाले जनाएको छ ।
बर्दिबास नगरपालिका-७ र ११ मा गरी केही दिन अघिमात्र तीन जनाको मृत्यु भएपछि यहाँ सघन जाँच (स्क्रिनिङ) अभियान सुरु गरिएको हो । यसपालि सबैभन्दा बढी क्षयरोगी पहिचान गरिएको बर्दिबास–८ मा सञ्चालित शिविरमा अत्याधुनिक प्रविधिबाट नयाँ एक सय २३ जनाको खकार, रगत परीक्षण गरिएको छ । जसमा २८ जनामा क्षयरोगको सङ्क्रमण भएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् । थप जाँचबाट यसको यकिन हुने नगर स्वास्थ्य शाखाले जनाएको छ । शङ्कास्पद २८ जनाको खकार, रगत जाँचका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पठाइएको छ । शिविर बागमती सेवा समाज र नगर स्वास्थ्य शाखा बर्दिबासले संयुक्त रूपमा चलाएका हुन् ।
क्षयरोगी बढी पहिचान भएका हाथीलेटमा मगर, तामाङ जाति समुदायको सघन बसोबासका बस्ती छन् । यहाँ घरेलु मदिराको अत्यधिक सेवन, स्वास्थ्य सचेतनाको कमी र पौष्टिक आहारको अभावले क्षयरोगी बढेका हुनसक्ने स्वास्थ्यकर्मीको आकलन छ ।
सरकारले सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाउने सङ्कल्प लिएको छ । पहिलेका क्षयरोगीको उपचार गर्दै जाँदा रोग निको भए पनि नयाँ थपिने सङ्ख्या डरलाग्दो देखिएपछि सरकारको सङ्कल्प पूरा गर्ने पक्ष झन् चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मी नै बताउँछन् । शिविरको आयोजनाले रोग पहिचान गर्न सहयोग पुगेको हुँदा उपचार समयमै पाउने स्थिति बन्नु भने सकारात्मक भएको यहाँका बुद्धिजीवीको मत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण