पार्टीभित्र केही अनुशासनहिनता, बेलगाम प्रवृत्ति र अराजक क्रियाकलाप देखियो : ओली
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको अनुशासनहीनता र अराजकता स्वीकार्दै पार्टीलाई सुदृढ बनाउनुपर्ने बताए।
- उनले महिला कार्यकर्ताको योगदानको प्रशंसा गर्दै पार्टी विभाजनबाट बचाउन भूमिका खेलेको उल्लेख गरे।
- ओलीले राष्ट्रिय हित र सार्वभौमसत्ताको रक्षाका लागि पार्टीको अडान दोहोर्याए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र केही अनुशासनहीनता, बेलगाम प्रवृत्ति र अराजक क्रियाकलापहरू देखिएको स्वीकार गरेका छन् ।
पार्टीको शुक्रबारदेखि ललितपुरमा सुरु भएको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्ता कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । तर, उनले यी समस्या पार्टी कार्यकर्ताहरूको ठुलो योगदान र समर्पणसँग तुलना गर्दा साना मात्र भएको स्पष्ट पारे ।
ओलीले पार्टीलाई विभाजनबाट बचाउन, सुदृढ गर्न र भविष्यमा अग्रसर बनाउन कार्यकर्ताहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै विशेष गरी महिला कार्यकर्ताहरूको योगदानलाई उल्लेखनीय बताए । उनका अनुसार, महिला दिदी बहिनीहरूको निष्ठा, अटल अडान र समर्पणकै कारण पार्टी अझ सबल बनेको छ ।
प्रधानमन्त्री ओलीले आन्तरिक एकतासँगै वैचारिक स्पष्टता र अनुशासन पार्टीको मूल आधार भएको उल्लेख गर्दै सबै कार्यकर्तालाई नेतृत्वप्रति विश्वास राख्दै अघि बढ्न आह्वान गरे ।
यस अवसरमा उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रति पार्टीको अटल अडान पुनः व्यक्त गरे । लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूभाग रहेको स्मरण गराउँदै उनले कुनै पनि दबाब, धम्की वा प्रलोभनमा नपरी राष्ट्रिय हित सर्वोपरि हुने बताए ।
ओलीले विकास र समृद्धिको यात्रामा शान्ति, स्थिरता र लोकतन्त्रको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सबै नागरिकलाई राष्ट्र निर्माणको साझा अभियानमा सहभागी हुन आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण