१६ वर्षदेखि बिरामी बिदामा रहेकी शिक्षिकालाई रिपोर्ट माग्दा उल्टै रोजगारदातामाथि मुद्दा
सारांश
- जर्मनीकी एक शिक्षिका १६ वर्षदेखि बिरामी बिदामा बसेर पूरा तलब खाँदै आएकी थिइन्।
- स्वास्थ्य परीक्षण गराउनुपर्ने भएपछि उनले रोजगारदाता विरुद्ध मुद्दा दायर गरिन्, तर अदालतले खारेज गर्यो।
- शिक्षिकाले १६ वर्षमा १० लाख युरोभन्दा बढी तलब बुझेकी थिइन् र उनले मेडिकल स्टार्टअप पनि सुरु गरेको आरोप छ।
बर्लिन । जर्मनीमा एक शिक्षिकाले विगत १६ वर्षदेखि बिरामी बिदामा बसेर पूरा तलब खाइरहेकी थिइन् । तर हालै आफ्नो बिरामी अवस्थाको पुष्टि गर्न स्वास्थ्य परीक्षण गराउनुपर्ने भएपछि उनले आफ्नै रोजगारदाताविरुद्ध मुद्दा दायर गरेकी छिन्।
जर्मनीको नर्थ राइन-वेस्टफालियाकी एक शिक्षिका सन् २००९ देखि नै बिरामी बिदामा छिन्। यस दौरान उनले वेसलको एक व्यावसायिक कलेजमा आफ्नो कर्तव्य निर्वाह गरिनन्, तर पनि उनले निरन्तर पूरा तलब पाइरहेकी थिइन्।
जर्मन कानुनअनुसार, शिक्षकहरूलाई 'बीम्टे' (सार्वजनिक कर्मचारी) मानिन्छ र उनीहरूले केही विशेष अधिकार पाउँछन्, जसमा अनिश्चितकालीन बिरामी बिदामा रहँदा पनि पूरा तलब पाउने व्यवस्था समावेश छ।
यस घटनामा भने शिक्षिकाको रोजगारदाताले उनको बिरामी अवस्थाको प्रमाण मागेर स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेपछि यो असामान्य अवस्था सार्वजनिक भएको हो।
जर्मन अखबार डाइ वेल्टका अनुसार, नर्थ राइन-वेस्टफालियामा शिक्षकहरूले मासिक ६ हजार १७४ युरोसम्म कमाउन सक्छन्। यस हिसाबले ती शिक्षिकाले १६ वर्षको अवधिमा लगभग १० लाख युरोभन्दा बढी तलब बुझिसकेकी छन्।
विद्यालयको नेतृत्व परिवर्तनपछि भएको आन्तरिक लेखापरीक्षणबाट यो कुरा बाहिर आएको हो। लेखापरीक्षणका क्रममा ती शिक्षिकाले हरेक महिना मेडिकल प्रमाणपत्र बुझाए पनि उनको अवस्था कुनै विशेषज्ञ डाक्टरबाट परीक्षण नभएको पाइएको थियो।
स्वास्थ्य परीक्षण गराउनुको सट्टा ती शिक्षिकाले आफ्ना रोजगारदाताविरुद्ध मुद्दा हालिन्, तर जर्मन अदालतले उनको मुद्दा खारेज गर्यो। अदालतले उनको अवस्थालाई ‘साँच्चिकै बुझ्न नसकिने’ भन्दै रोजगारदातालाई ढिलै भए पनि बिरामीको प्रमाण माग्ने पूर्ण अधिकार रहेको फैसला गर्यो र उनलाई मुद्दाको खर्चबापत २ हजार ५०० युरो तिर्न आदेश दियो।
जर्मन कानुनअनुसार, बिरामी बिदामा रहेका शिक्षकको ठाउँमा नयाँ शिक्षक राख्न मिल्दैन। तर, यो घटनाले राष्ट्रियस्तरमा आक्रोश निम्त्याएको छ। किनकि, ती महिलाले १६ वर्षसम्म काम नगरी पूरा तलब मात्र खाइनन्, तर सोही अवधिमा उनले एउटा मेडिकल स्टार्टअप कम्पनी पनि सुरु गरेको आरोप छ। यदि यो प्रमाणित भएमा उनले सार्वजनिक कर्मचारीको हैसियतका साथै आफ्नो तलब र पेन्सन पनि गुमाउन सक्छिन्।
कानुनी विशेषज्ञ राल्फ डेल्गम्यानले द म्युनिख आइसँग कुरा गर्दै यस असामान्य घटनाको परिणाम स्वास्थ्य परीक्षणमा निर्भर हुने बताए। तर, उनले ती शिक्षिकाले १६ वर्षको तलब फिर्ता गर्नुपर्ने सम्भावना भने कम रहेको बताइएको छ । किनभने त्यस अवधिका लागि उनी बिरामी थिइनन् भनेर प्रमाणित गर्न असम्भव हुनेछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण