बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय केराले नेपाली व्यवसायी मारमा परेपछि मुख्यमन्त्रीलाई ज्ञापनपत्र

शनिबार, २१ भदौ २०८२, २० : ०७
शनिबार, २१ भदौ २०८२

सारांश

  • नेपाली केरा व्यवसायी संघले भारतबाट आयात हुने केराका कारण आफूहरू मारमा परेको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए।
  • उत्पादन लागत नउठ्दा किसान ऋणमा डुबेको र केराखेतीबाट विस्थापित हुनुपर्ने अवस्था आएको संघको भनाइ छ।
  • संघले नेपाली केरालाई प्राथमिकता दिन, बजार सुनिश्चित गर्न र आयात बन्द गर्न माग गरेको छ।

कैलाली । भारतबाट आयात हुने केराका कारण नेपाली व्यवसायी मारमा परेका भन्दै नेपाली केरा व्यवसायी सङ्घले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई आज यहाँ ज्ञापनपत्र बुझाएको छ ।

नेपाली किसानद्वारा लगानी मिहिनेत र गरेर उत्पादित गुणस्तरीय केरा भारतीयबाट आयत हुने सस्तो मूल्यका केराका कारण आफ्नै देशभित्र उचित मूल्य र बजार नपाएको भन्दै कैलाली र कञ्चनपुरका केरा उत्पादक तथा व्यवसायी सङ्घको संयुक्त टोलीले मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाएको हो ।

यहाँ उत्पादित गुणस्तरीय केराले उचित मूल्य र बजार नपाएपछि किसान निराश हुनुको साथै आर्थिक क्षतिसमेत भएको सङ्घले जनाएको छ । उत्पादन लागत उठ्न नसक्दा केरा किसान ऋणमा डुब्ने अवस्था आएको, अधिकांश किसान घाटा भएपछि केराखेतीबाट निरुत्साहित भई विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको केरा व्यवसायीको भनाइ छ ।

नेपाली किसानद्वारा उत्पादित केरालाई प्राथमिकता दिनु, आत्मनिर्भर कृषि प्रणालीको विकास गर्नु, किसानलाई उचित मूल्य दिनु र आपूर्तिमा सन्तुलन कायम गर्नु राज्यको दायित्व रहेको कैलाली केरा उत्पादक तथा व्यवसायी सङ्घका अध्यक्ष दिपेन्द्र थारुले बताए ।

भारतबाट आयात गरिने केरा मङ्सिरसम्म पूर्णरूपले बन्द गर्नुपर्ने, प्लान्ट क्वारेन्टाइनको कानुनी, प्राविधिक र प्रशासनिक प्रक्रियामा कडाइ गर्नुपर्ने, नेपाली केरा प्राथमिकताका साथ उपभोग गर्न आमउपभोक्तालाई राष्ट्रियस्तरमा सरकारले आह्वान गर्नुपर्ने, नेपाली केरा उत्पादक किसानको रक्षा सरकारले गर्नुपर्ने र तत्काल नेपाली केराको उचित मूल्यसहित बजार सुनिश्चित गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको सङ्घका अध्यक्ष थारुले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप